नेपालमा कोरोना भाइरसका संक्रमित बढेसँगै धेरै पाठक तथा दर्शकले धूमपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्ने व्यक्तिहरू कोरोना भाइरस संक्रमणको किन बढी जोखिममा हुन्छन्? भनेर स्वास्थ्यखबरसँग जिज्ञासा राख्दै आउनुभएको छ। उहाँहरुका यिनै जिज्ञासा हामीले विशेषज्ञ चिकित्सक र नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसमक्ष राखेका छौँ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ छातीरोग विशेषज्ञ डा निरज बम धूमपानले फोक्सो र श्वासप्रश्वासमा असर गर्ने हुनाले बढी जोखिममा हुने बताउँछन्।
त्यसबाहेक एउटै चुरोट धेरै व्यक्तिले पालैपालो सेवन गर्ने भएकाले पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस सर्ने सम्भावना बढी हुने उनको भनाइ छ।
नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा जोस भ्यान्देलियर धूमपान गर्ने व्यक्तिलाई कोरोना संक्रमण भए गम्भीर लक्षण देखापर्ने सम्भावना बढी हुने बताउँछन्।
चुरोट सेवनका कारण पहिले नै फोक्सो कमजोर हुने भएकाले धूमपान गर्ने व्यक्तिमा कोरोना संक्रमण भए मृत्यु हुने सम्भावना पनि बढी हुने उनको भनाइ छ।
वीर अस्पतालका छातीरोग विशेषज्ञ डा अशेष ढुंगानाले धूमपान गर्ने मानिसलाई दीर्घ श्वासप्रश्वासको समस्या बढी हुने र यस्ता मानिसलाई कोरोना भाइरस संक्रमण पनि चाँडै हुने सम्भावना रहेको बताए।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले विश्व स्वास्थ्य संगठनको सहयोगमा गरेको नसर्ने रोगसम्बन्धी जोखिम तत्वको सर्वेक्षण (स्टेप्स सर्भे)ले नेपालका २८ दशमलव ९ प्रतिशत मानिसले चुरोट तथा सूर्तिजन्य पदार्थ सेवन गर्ने देखाएको छ।
सर्वेक्षणले महिलाका तुलनामा पुरुषहरु ५ गुणाभन्दा बढी अम्मली रहेको उल्लेख गरेको छ। नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था हेर्न हो भने पनि महिलाभन्दा पुरुष बढी छन्। तर संक्रमितमध्ये कतिले धूमपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्छन् भन्ने चाँहि हालसम्म खुलेको छैन।
चुरोट तथा सूर्तिजन्य पदार्थ सेवनले कोरोना भाइरस संक्रमणको जोखिम बढी हुने मात्र नभई मुटुरोग, फोक्सोका रोग, मधुमेह, रक्तचाप, क्यान्सर जस्ता नसर्ने रोगको जोखिम पनि बढाउँछ। त्यसैले कोरोना भाइरस संक्रमणबाट मात्र नभई नसर्ने रोगको जोखिमबाट बच्न पनि धूमपान सेवन नगर्न विज्ञहरुको सुझाव छ।