नेपालमा मनसुनको सुरुवात भइसकेको छ। मनसुनको सुरुवातसँगै इन्फ्लुएन्जा भाइरसले गराउने फ्लूले धेरैलाई सताउँछ। चिकित्सकका अनुसार फागुन/चैतदेखि भदौसम्म इन्फ्लुएन्जा भाइरस बढी सक्रिय हुन्छ।
विश्व नै अहिले कोरोना भाइरससँग जुधिरहेको छ। यही समयमा इन्फ्लुएन्जा भाइरस पनि सक्रिय भइरहेको छ। दुवै भाइरसबीच केही समानता भएकाले कतिपय अवस्था कोरोना भाइरस संक्रमण भए/नभएको बारे अलमल हुन सक्छ।
त्यसैले कोरोना भाइरस वा इन्फ्लुएन्जा भाइरसमध्ये के भएको हो भनेर कसरी थाहा पाउने? यी दुईमध्ये कुन भाइरसको संक्रमण भएको हो भनेर कसरी थाहा पाउने? के-के फरक छन् त यी दुई भाइरसमा? हामीले सरुवा रोग विशेषज्ञहरू र नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसँग यही जिज्ञासा राखेका छौं।
नेपालस्थित विश्व स्वास्थ्य संगठनका डा जोस भ्यान्देलियरले कोरोना भाइरसभन्दा इन्फ्लुएन्जा भाइरस छिटो सर्ने बताउँछन्। रोगको गम्भीरताका आधारमा पनि यी दुई रोग फरक भएको उनले बताए। उनका अनुसार कोरोना भाइरसले संक्रमितलाई धेरै नै गम्भीर बनाउन सक्छ। यसका तुलनामा फ्लू संक्रमण भएर गम्भीर बिरामी पर्नेको अनुपात निकै कम छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार सुँघ्ने शक्ति र गन्ध थाहा पाउने शक्ति गुमाए वा कम हुँदै गए कोरोना संक्रमण भएको हुनसक्ने बताउँछन्।
नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा भ्यान्देलियरले कोरोना भाइरस र इन्फ्लुएन्जा भाइरस मानिसको उमेरका आधारमा फरक रहेको जानकारी दिए।
उनका अनुसार कोरोना भाइरस संक्रमणले सबै उमेर समूहका बिरामी गम्भीर भएका देखिन्छन् र यस्तो अवस्था फ्लूमा पनि देखिन्छ। तर गर्भवती र बालबालिकामा फ्लूको जोखिम बढी हुन्छ भने यस्ता व्यक्ति कोरोना भाइरस संक्रमणको कम जोखिममा देखिएका छन्।
संक्रमित व्यक्तिमा ज्वरो आउने तथा शरीर दुख्नेजस्ता लक्षणका कुरा गर्ने हो भने यी दुई रोग समान प्रकृतिका जस्ता देखिन पनि सक्छन्। तर अन्य धेरै आधारमा यी दुवै रोग फरक रहेको बताउँछन् डा जोस भ्यान्देलियर।
वर्षा र मौसममा आइरहेको परिवर्तनसँगै इन्फ्लुएन्जा भाइरसको संक्रमणले धेरैलाई सताउन थालिसकेको छ। यस्तै कोरोना भाइरसको जोखिम पनि यथावत नै छ। दुवै भाइरस एकबाट अर्को व्यक्तिमा सर्ने भएकाले सामाजिक दूरी कायम राख्ने, मास्क प्रयोग गर्ने र साबुन पानीले मिचिमिची हात धुने तथा व्यक्तिगत सरसफाइमा ध्यान दिने हो भने इन्फ्लुएन्जा र कोरोना दुवै भाइरसको जोखिमबाट बच्न सकिन्छ।