असार २१ गते आइतबार साँझसम्म नेपालमा कोरोना भाइरस संक्रमितमध्ये ३४ जनाको मृत्यु भएको छ। संक्रमितको मृत्युपछि शवको व्यवस्थापनका क्रममा भने विवाद आइरहेको छ।
संक्रमितको मृत शरीरबाट कोरोना सर्छ भन्ने डरका कारण, कतै आफ्नो धार्मिक परम्परा अनुसार दाहसंस्कार गर्न नपाएको गुनासो, केही स्थानमा घाट प्रयोग गर्ने विषयमा अवरोध त कतै शव व्यवस्थापन नै कसरी गर्ने भन्ने अलमलले समस्या सिर्जना गरेको छ।
शव व्यवस्थापनका क्रममा स्थानीयले अवरोध गरेपछि गोरखामा असार २० गते शनिबार प्रहरीले अश्रुग्याँस नै प्रहार गर्नुपरेको थियो। यस्तै असार ११ गते पोखरामा स्थानीयले विरोध गर्दै प्रहरीमाथि ढुंगामुडा गर्नुका साथै सडकमा आगो बालेका थिए। सो क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ८ राउन्ड हवाई फायर गर्नु परेको थियो।
एकपछि अर्को स्थानमा संक्रमितको शव व्यवस्थापनका क्रममा किन किन समस्या आइरहेको छ त?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी मरेको शरीरबाट पनि कोरोना सर्छ भन्ने डरका कारण समस्या उत्पन्न भएको बताउँछन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डे सर्वसाधारणलाई बुझाउन नसकेका कारण व्यवस्थापनमा समस्या उत्पन्न भएको बताउँछन्।
नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा जोस भ्यान्देलियर निकै कम रोगहरु मात्र मृत्यु भएको मानिसबाट अन्यमा सर्ने बताउँछन्। उनले इबोला, कलेरा जस्ता रोग लागेको व्यक्तिको मृत्यु भएमा अन्यलाई सर्ने खतरा रहने जानकारी दिए।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला पनि मृत्यु भइसकेको संक्रमितबाट भाइरस अन्यलाई नसर्ने बताउँछन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको मृत्यु भएमा कसरी शव व्यवस्थापन गर्ने भन्ने विषयमा “कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि- २०७६” नै बनाएको छ।
कोभिड-१९ को कारण मृत्यु भएकाको शवको परम्परागत चलिआएका अन्तेष्टि गर्ने स्थानमा नै विशेष सावधानी अपनाई अन्त्येष्टि गर्ने उल्लेख छ। सोही अनुसार दाहसंस्कार गर्न कुनै समस्या नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अधिकारी बताउँछन्।
अन्त्येष्टि गर्ने स्थानमा मृतकका परिवारले शव हेर्न चाहेमा अनुहार मात्र खोली १ मिटरको दूरीमा बसेर अनुहार मात्र हेर्न सकिने, मृत शरीरसँग सिधै सम्पर्कमा नआउने धार्मिक विधिहरु जस्तै: पूजापाठ गर्ने, पानी छर्कने जस्ता क्रियाकलापमा समस्या नहुने तर मृतकलाई छुने, ढोग्ने, अंकमाल गर्ने जस्ता काम गर्न नहुने कार्यविधिमा उल्लेख छ।
यसका साथै शवको खरानीले कुनै जोखिम पैदा नगर्ने कुरा पनि कार्यविधिमा उल्लेख गरिएको छ। तर अन्त्येष्टि गर्ने स्थानमा ठूलो जमघट भने गर्नु हुँदैन। एकआपसमा न्यूनतम १ मिटरको भौतिक दूरी कायम राख्नुपर्ने बुँदा पनि कार्यविधिमा उल्लेख छ।
उक्त कार्यविधि अनुसार हाल स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाले कोरोना संक्रमित मृतकको शवको व्यवस्थापन गर्दै आइरहेको छ।