काठमाडौं - नर्भिक अस्पतालमा १ सय ६८ किलोग्राम तौल भएकी महिलाले स्वस्थ शिशुलाई जन्म दिएकी छन्। उनले शल्यक्रिया मार्फत् शिशुलाई जन्म दिएकी हुन्।
कलंकीकी ३१ वर्षीय मेरिना हमालले जन्म दिएको शिशुको तौल २ दशमलव ९ किलोग्राम छ। असार १० गते स्वस्थ शिशुलाई जन्म दिएकी मेरिना र उनले जन्माएको शिशुको स्वास्थ्य अवस्था सामान्य छ।
नेपालमा यति धेरै तौल भएकी महिलाले स्वस्थ शिशुलाई जन्म दिएको यो पहिलोपटक भएको अस्पतालको दाबी छ। स्त्रीरोग तथा बाँझोपन विशेषज्ञ एवम् ल्योप्रोस्कोपिक सर्जन डा नुतन शर्मासहितको टोलीले उनको शल्यक्रिया गरेको थियो।
बढी तौल भएका गर्भवतीको शल्यक्रिया आफैमा जटिल भएको शर्माको भनाइ छ। मोटोपना समस्या भएपनि मातृत्वका लागि बाधक भने नभएको उनको भनाई छ।
मेरिनाले सुरुमा आफूलाई डर लागेपनि अहिले भने खुसी लागेको प्रतिक्रिया दिइन्। मोटापना भएका महिलाले शिशु जन्माउन सक्दैनन् भन्ने कुरा सत्य नभएको उनको भनाइ छ।
उनको यो दोस्रो सन्तान हो । उनले पहिलो सन्तान पनि शल्यक्रियामार्फत् नै जन्माएकी थिइन्।