काठमाडौं– कोरोना संक्रमण रोक्ने प्रभावकारी उपाय हो, क्वारेन्टाइन। जसमा शंकास्पद व्यक्तिलाई १४ दिनसम्म निगरानीमा राखिन्छ।
कुनै पनि शंकास्पद व्यक्तिलाई संक्रमण फैलिन सक्ने समयसम्म निगरानीमा राखिनुलाई क्वारेन्टाइन भनिन्छ। तर नेपालमा भने क्वारेन्टाइन रोग सर्ने थलो बन्दै गएको छ।
नेपालमा हालसम्म कोरोना संक्रमण देखिएका ८० प्रतिशतभन्दा बढीमा कुनै पनि लक्षण देखिएको छैन। संक्रमण देखिएकामध्ये पनि ८० प्रतिशतभन्दा बढी क्वारेन्टिमा नै बसेका व्यक्तिहरु हुन्।
क्वारेन्टाइन सञ्चालनका लागि सरकारले निश्चित मापदण्ड बनाएको छ। तर त्यो मापदण्ड कागजी पत्रमा मात्र सीमित छ। अधिकांश क्वारेन्टाइन मापदण्ड विपरीत सञ्चालित छन्। त्यसैले त क्वारेन्टाइनबाट नै उल्टै संक्रमणको जोखिम बढी छ।
यही बीचमा सरकारले एउटा यस्तो मापदण्ड ल्यायो, जसले पिसिआर परीक्षणको दायरालाई खुम्चाइदिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २० गते नेसनल टेस्टिङ गाइलाइन फर कोभिड–१९ मापदण्ड निर्धारण ग¥यो।
उक्त मापदण्डले क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा लक्षण नदेखिए पिसिआर परीक्षण नगर्नु भनेको छ। तर विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको आरडिटी परीक्षणलाई भने अनिवार्य बनाएको छ।
घट्दै क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या
मुलुकभर हाल ९४ हजार ९ सय २८ जना क्वारेन्टाइनमा छन्। १३ दिनअघि र अहिलेको तथ्यांक तुलना गर्ने हो भने यो अवधिमा ७७ हजार ३ सय ३८ जना व्यक्ति क्वारेन्टाइनबाट निस्किएका छन्। दैनिक करिब ७ हजारका दरले मानिसहरु क्वारेन्टाइनबाट निस्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ।
आजभन्दा १३ दिनअघि अर्थात् जेठ २८ गते क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या थियो, १ लाख ७२ हजार २ सय ६६ जना। क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या घट्ने सिलसिला यही दिनदेखि सुरु भएको देखिन्छ।
जेठ २९ सम्म आइपुग्दा क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या १ लाख ६२ हजार १३ जना पुग्यो। यो हिसाबले २४ घन्टामा १० हजार २ सय ५३ जना क्वारेन्टाइनबाट निस्किएको देखिन्छ।
यो संख्या घट्दै जेठ ३० गते १ लाख ५८ हजार ५० जना, ३१ गते १ लाख ५० हजार ५ सय ४९ जना र ३२ गते १ लाख ४३ हजार ६ सय ४१ पुगेको थियो।
यस्तै असार १ तथ्यांकले १ लाख ३३ हजार ८ सय २९ जना क्वारेन्टाइनमा रहेको देखाउँछ। असार २ मा १ लाख ३३ हजार ९, असार ३ मा १ लाख २५ हजार ७ सय ९८, असार ४ मा १ लाख १६ हजार २ सय १५ जना, असार ५ मा १ लाख ९ हजार ४ सय ६४, असार ६ मा १ लाख २ हजार २ सय ४५ जना, असार ७ गते ९४ हजार ९ सय २८ र असार ८ गते ९० हजार ७ सय ३० पुगेको छ।
वैशाखको पहिलो सातादेखि भारत सहित विदेशबाट नेपाल प्रवेश गर्नेको संख्या बढे पनि अहिले घट्दै गएको स्वास्थ्य मन्त्रालय बताउँछ। क्वारेन्टाइनको समयावधि पुगेकाहरुलाई घर पठाउँदा क्वारेन्टाइन खाली हुँदै गएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए।
उनले भने, ‘अहिले भारत सहित अन्य देशबाट आउने व्यक्तिको संख्या घट्दो छ। अनि क्वारेन्टाइनमा बस्ने समय सकेकाहरु निस्किँदै गएपछि खाली हुँदै गएको हो।’ उनका अनुसार हाल भारतबाट दैनिक ३ हजारको हाराहारीमा मानिस भित्रिने गरेका छन्।
कुन प्रदेशमा कति ?
क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या सबैभन्दा धेरै कर्णाली प्रदेश र सबैभन्दा थोरै बागमति प्रदेशमा छ । कर्णाली प्रदेशमा ३३ हजार ७ सय ५० र बागमतिमा २ हजार २ सय ७५ जना हाल क्वारेन्टाइनमा छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ३ हजार १ सय ६१, प्रदेश २ मा ८ हजार ५ सय ४९, बागमतिमा २ हजार २ सय ७५, गण्डकीमा ६ हजार २ सय २९, प्रदेश ५ मा २६ हजार ५ सय ५९, सुदूरपश्चिममा १० हजार १ सय ७ र कर्णाली प्रदेशमा ३३ हजार ७ सय ५० जना क्वारेन्टाइनमा छन् ।
विज्ञ भन्छन्, पिसिआर नेगेटिभपछि मात्र पठाउनुपर्छ
जनस्वास्थ्य विज्ञ डा समीरमणि दीक्षित पिसिआरमा नेगेटिभ आएपछि मात्र घर जान दिनुपर्ने बताउँछन्। क्वारेन्टाइनमा रहने सबैको पिसिआर परीक्षण हुनुपर्नेमा उनको जोड छ।
‘क्वारेन्टाइनमा गएको पहिलो दिनमै स्वाब संकलन गर्नुपर्छ र तीन दिनभित्र रिपोर्ट आउनुपर्छ,’ उनले भने, ‘पिसिआर नेगेटिभ आएपछि मात्र घर पठाउनुपर्छ।’
भारतबाट नेपाल भित्रने व्यक्तिको संख्या घटेसँगै क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या पनि घट्दै गएको उनले बताए।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनीले साउन महिनादेखि क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या झनै घटेर जाने बताए।
उनले भने, ‘भारतबाट आउने व्यक्तिको संख्या अहिले कम छ। साउनतिर झन् क्वारेन्टाइनमा बस्ने व्यक्तिको संख्या घट्छ।’ सरकारले क्वारेन्टाइनलाई व्यवस्थित बनाए मात्र संक्रमणको दरलाई कम गर्न सकिने उनले बताए।
सरकारले पहिलो पटक चीनको वुहानबाट ल्याएका १ सय ७५ जनालाई राख्दा गरेको व्यवस्थापन सबै क्वारेन्टाइनमा हुनुपर्ने टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोला बताउँछन्।
उनी भन्छन्, ‘सरकारले चीनबाट ल्याएको १ सय ५७ नेपालीलाई राखेको क्वारेन्टाइनको व्यवस्थापन कस्तो थियो, त्यस्तै किसिमको व्यवस्थापन हुनुपर्छ। तब मात्र क्वारेन्टाइनमा रहने व्यक्ति सुरक्षित हुन सक्छन्।’
क्वारेन्टाइन व्यवस्थित नभए कोरोनासँगै डेंगु, मलेरिया, पानीजन्य रोग, सर्पदंशको जोखिम बढ्ने उनले बताए।
‘क्वारेन्टाइन व्यवस्थित नहुँदा संक्रमणको जोखिम त छँदैछ, अब डेंगु, मलेरिया सहित सर्पदंशको जोखिम पनि छ। त्यसैले सरकारले क्वारेन्टाइन व्यवस्थित त बनाउनै पर्छ,’ उनले भने।