नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै फेरि लकडाउन हुने वा रेड जोन घोषणा गर्ने चर्चा चलिरहेको छ।
केही समयअघि विश्व स्वास्थ्य संगठनकै नाम जोडेर काठमाडौं उपत्यकालाई रेड जोन घोषणा गर्न लागिएको हल्ला पनि आयो। त्यसले जनतामा त्रास फैलायो।
विश्व स्वास्थ्य संगठनले काठमाडौं उपत्यकालाई रेड जोन घोषणा गरेको भन्ने हल्ला फैलिएपछि हामीले यसबारे सोधखोज गरेका छौं।
रेड जोन भनेको के हो? कस्तो अवस्थामा सरकारले रेड जोन घोषणा गर्न सक्छ? के काठमाडौंलाई रेड जोन घोषणा गरिएको हो? वा नेपालका कुनै स्थान रेड जोन घोषणा गर्ने अवस्थामा पुगेका छन्? यी लगायतका विषयमा हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसँग कुराकानी गरेका छौँ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले काठमाडौं वा कुनै पनि जिल्लालाई हालसम्म रेड जोन घोषणा नगरेको जानकारी दिए।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पनि काठमाडौं वा अन्य कुनै पनि स्थानलाई उच्च जोखिमयुक्त क्षेत्र वा रेड जोन घोषणा नगरिएको बताए।
नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा जोस भ्यान्देलियरले विश्व स्वास्थ्य संगठनले कुनै देश वा सहरका लागि कोभिड–१९ को जोखिमका आधारमा वर्गीकरण नगरिएको स्पष्ट पारे।
‘विश्व स्वास्थ्य संगठनले कोभिड–१९ का लागि जोखिम क्षेत्र वर्गीकरण गरेको छैन। न त कुनै देश तथा सहरलाई जोखिमका आधारमा विभाजन नै गरिएको छ। यद्यपि, कोभिड–१९को संक्रमण बढ्दै गएमा प्रत्येक देशले प्रतिकार्यका लागि आवश्यक हुने विषय पहिचान गर्न सम्बन्धित देशमा जोखिमको अवस्था र क्षमताको मूल्यांकन गरी नियमित रुपमा वर्गीकरण र अद्यावधिक गरिन्छ,’ डा जोस भ्यान्देलियरले स्वास्थ्यखबरसँग भने।
हालसम्म नेपालमा रेड जोन घोषणा नभए पनि कोरोना संक्रमण देखिएको संख्या, स्थान र मानिसहरुको आवातजावतको आधारमा स्वास्थ्य मन्त्रालयले रेड, यल्लो र ग्रिन जोन घोषणा गर्ने विषयमा छलफल भने अगाडि बढाएको छ।
मन्त्रालयले धेरै कोरोना संक्रमित देखिएको र धेरै मानिसको आवतजावत हुने स्थानलाई उच्च जोखिमयुक्त क्षेत्र वा रेड जोन, कम संक्रमित देखिएका तर समुदायमा संक्रमण फैलने खतरा कम भएका क्षेत्रलाई कम जोखिमयुक्त क्षेत्र वा यल्लो जोन र संक्रमित नदेखिएका र आवतजावत सामान्य रुपमा गर्न सकिने क्षेत्रलाई जोखिम रहित क्षेत्र वा ग्रिन जोनका रुपमा घोषणा गर्न सकिने व्यवस्थाबारे छलफल गरिरहेको मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार ७ गते आइतबार साँझसम्मको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ। संक्रमितमध्ये २३ जनाको मृत्यु भएको छ भने १ हजार ७ सय ७२ जना संक्रमण मुक्त भएका छन्।
तथ्यांक अनुसार नेपालमा हालसम्म १२ जिल्लामा २ सय भन्दा बढी संक्रमित भेटिएका छन्। सबैभन्दा बढी संक्रमित देखिएका जिल्लाहरुमा क्रमशः रौतहट, दैलेख, कपिलवस्तु, सर्लाही, महोत्तरी, सुर्खेत, दाङ, धनुषा, रुपन्देही, बाँके, अर्घाखाँची र कैलाली हुन्।