काठमाडाैं- नेपालमा केही समययता कोरोना भाइरसको खोप बनिरहेको भन्ने समाचार निकै चर्चामा रह्यो। हेटौंडामा प्राध्यापक डाक्टर ललितकुमार दासले कोरोना विरुद्धको खोप बनाएको भन्ने खबर छोटो समयमा निकै फैलियो।
विश्वमा नै अनेकौं प्रयासका हुँदाहुँदै पनि कोरोना भाइरसको खोप बन्न सकिरहेको छैन। थुप्रै वैज्ञानिकहरु खोप बनाउने काममा जुटिरहेका छन्।
डा दासले विकास गरेको विश्व स्वास्थ्य संगठनले समेत स्वीकृति दिएको भन्ने आशयसहितका खबर आएपछि धेरै पाठक विश्वासमा पर्नु स्वभाविक थियो।
हेटौंडामा कोरोनाविरुद्धको खोप बनेको भनिएको उक्त विषयको वास्तविकता भने फरक छ। यो विषयमा हामीले विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद, नेपाली औषधि उत्पादकहरुको छाता संगठनका प्रतिनिधी र खोप बनाएको दाबी गरेका डा ललितकुमार दाससँग कुराकानी गरेका छौं।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म कोरोना भाइरस विरुद्ध कुनै पनि खोप र औषधि नबनेको जानकारी दिए। उनले खोप बनेको भन्ने कुरा गलत रहेको बताए।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत मेघनाथ धिमाल कोभिड–१९ को खोप निर्माणका लागि हालसम्म कसैले पनि स्वीकृति नलिएको बताउँछन्।
धिमालका अनुसार नेपालमा कुनै पनि खोप बनाएर ट्रायलमा जानका लागि परिषद्बाट स्वीकृत लिनुपर्ने हुन्छ। खोपको प्रयोग पहिला जनावरमा र त्यसपछि मात्र मानिसमा गरिन्छ।
‘डा दासले खोपका विषयमा परिषदसँग कुनै स्वीकृति लिनु भएको छैन। अहिले उहाँले गर्नुभएको काम ल्याबमा गरेको सुरुवाती काम मात्र हो। उक्त खोप बन्यो भन्ने बारेमा उहाँले बोलेको भन्दा बढाएर मिडियामा आएको जस्तो लागेको छ,’ धिमालले स्वास्थ्यखबरसँग भने।
नेपालस्थित विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा जोस भ्यान्देलियरले हालसम्म खोप उत्पादनका विषयमा नेपालका कुनै पनि अनुसन्धानकर्ताहरुले सम्पर्क नगरेको बताए।
‘नेपालमा खोप विकासको विषयमा हामी अनविज्ञ छौं। विश्व स्वास्थ्य संगठन मुख्यालयले कोभिड– १९ विरुद्धको प्रभावकारी खोपको विकासलाई सहयोग पु¥याउन विश्वका धेरै देशका अनुसन्धानकर्ताहरुसँग छलफल गर्दै आएको छ,’ डा भ्यान्देलियरले स्वास्थ्यखबरसँग भने।
नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारी नेपालमा हालसम्म कुनै पनि खोप उत्पादन नभएको बताउँछन्।
अधिकारीका अनुसार नेपालमा हाल पशुजन्य खोप मात्र उत्पादन भइरहेको छ। मानिसका लागि कुनै पनि खोप उत्पादन भएको छैन। अहिले केही नेपाली कम्पनीले खोप उत्पादनका लागि तयारी सुरु गरेका छन्।
खोपका विषयमा जिज्ञासा राख्दा डा ललितकुमार दासले पनि विश्व स्वास्थ्य संगठनसँग खोप तथा औषधिका बिषयमा कुनै छलफल नभएको बताए। तर विश्व स्वास्थ्य संगठनले कोरोना सम्बन्धी गाइडलाइन बारेमा आयोजना गरेको कार्यक्रममा सहभागि भएको जानकारी दिए।