काठमाडौं - नेपालमा हालसम्म कोरोना संक्रमण देखिएका ८० प्रतिशतभन्दा बढीमा कुनै पनि लक्षण देखिएको छैन। स्रंक्रमण देखिएकामध्ये ८० प्रतिशतभन्दा बढी क्वारेन्टाइनमा नै बसेका व्यक्तिहरु हुन्।
क्वारेन्टाइनमा बसेका र लक्षण नभएकाहरु घर पुगेपछि स्रंक्रमण पोजिटिभ देखिने र केहीको त मृत्यु समेत भइसकेको छ।
तर, सरकारले क्वारेन्टाइनमा बसेका र लक्षण नभएका तीनै जोखिम समूहमा रहेका व्यक्तिलाई पिसिआर परीक्षण नगर्ने नीति लिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २० गते ‘नेशनल टेष्टिङ गाइडलाइन फर कोभिड १९’ मापदण्ड निर्धारण गर्यो।
उक्त मापदण्डले क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा लक्षण नदेखिए पिसिआर परीक्षण नगर्नु भनेको छ। तर आरडिटी परीक्षणलाई भने अनिवार्य बनाएको छ। सरकारको यही व्यवस्थाका कारण समयमा नै परीक्षण नहुँदा र उपचार नपाउँदा जेठ २२ गते सुर्खेतमा एक युवाको मृत्यु भयो।
१४ दिनको क्वारेन्टाइन बसाईपछि गरिएको आरडिटी परीक्षण नेगेटिभ आएको भन्दै उनलाई घर पठाइएको थियो। तर उनको मृत्युपछि गरिएको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखियो।
विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको आरडिटी परीक्षणलाई सरकारले भने दायरा बढाउँदै लगेको छ। सोमबार मात्र देशभर ११ हजार ९ सय ४३ जनाको आरटिडी परीक्षण गरिएको थियो। जबकी पिसिआर ४ हजार ७ सय ६६ जनाको मात्र गरियो।
मंगलबार पनि ९ हजार १ सय ६७ जनाको आरडिटी गर्दा ५ हजार ३ सय ५३ को मात्र पिसिआरबाट कोरोना परीक्षण भएको छ।
सरकारको यो नीतिले क्वारेन्टाइनमा बसेका व्यक्तिलाई भने चिन्तित बनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकभर हाल १ लाख ६५ हजार ७ सय ७५ जना क्वारेन्टाइनमा छन्। तीनै मध्येका एक हुन्, कावासोती नगरपालिका वडा नं २ मा रहेका २१ वर्षीय सबिन बुढा। उनको घर बाँकेको कोहलपुरमा हो। उनी हाल कावासोती वडा नं २ को क्वारेन्टाइनमा छन्। क्वारेन्टाइनको उनको बसाई मंगलबार ६ दिन पुग्यो।
सरकारले क्वारेन्टाइनमा रहने सबैको पिसिआर परीक्षण गर्नुपर्ने उनको भनाई छ। आफु जोखिमयुक्त जिल्लाबाट आएको बताउँदै उनी भन्छन्, ‘सरकारले क्वारेन्टाइनमा रहेका व्यक्तिलाई आरडिटी मात्र गर्ने भनेको छ। सरकारले पिसिआर नगर्दा नै एक युवाको मृत्यु भयो। अवस्था भोलि जे पनि हुन सक्छ। हामी कसरी सुरक्षित भयौँ त?’
क्वारेन्टाइनमा गरिएको व्यवस्थापन राम्रो रहेको उनले बताए। व्यवस्थापन राम्रो भएपनि १४ दिनपछि पिसिआर परीक्षण हुँदैन भन्ने कुराले उनलाई चिन्तित बनाएको छ। किनभने उनको शरीरमा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन। तर पिसिआर परीक्षण नभएसम्म ढुक्क हुन नसक्ने उनले बताए।
क्वाइरेन्टाइनको बसाई अनि उनको अनुभव उनकै शब्दमा :
म कावासोती नगरपालिका वडा नं २ को क्वारेन्टाइनमा छु। यहाँ बसेको मंगलबार ६ दिन भयो। जोखिमयुक्त जिल्लाबाट आएको कारण म क्वारेन्टाइनमा छु। मेरो शरीरमा अहिलेसम्म कुनै पनि किसिमको लक्षण छैन।
क्वारेन्टाइनमा गरिएको व्यवस्थापन निकै राम्रो छ। देशका धेरै ठाउँमा क्वारेन्टाइन मापदण्ड अनुसार छैन भन्ने खबरहरु आएका छन्। जुन धेरै दुखको कुरा हो। तर यो क्वारेन्टाइनमा सबै कुराहरु व्यवस्थित छन्। खाना खाजाको राम्रो व्यवस्था छ।
बिहान खाजा, खाना, दिउँसो खाना र खाजा गरी दिनमा चार पटक हामीले खान पाएका छौं। खाजामा चिया र बिस्कुट हुन्छ। खानामा दाल भात र तरकारी हुन्छ। सबैभन्दा मलाई राम्रो लागेको कुरा यहाँ योग परामर्श हुन्छ। हामी बिहान ५ बजे उठ्छौ र करीब ७ बजेसम्म योग अभ्यास गर्छौ। योग गर्दा शरीरमा धेरै ताजापन हुँदो रहेछ।
यहाँ खानेपानीको पनि राम्रो व्यवस्था छ। एउटा कोठामा दुई वटा मात्र बेड छन्। कुनै व्यक्ति १४ दिनपछि क्वारेन्टाइनबाट जाँदा उसले प्रयोग गरेको तन्ना लगायत अन्य कपडा सबै सफा गरेर मात्र प्रयोग हुँदो रहेछ। शौचालय पनि सफा नै छ।
स्वास्थ्यकर्मीहरुले पनि राम्रो व्यवहार गर्नु हुन्छ। तपाईलाई कस्तो छ? अहिले केही समस्या छ? केही भयो भने खबर गर्नु है भनेर समय समयमा आउनु हुन्छ। यसले पनि हामीलाई धेरै हौसला मिल्ने रहेछ।
मलाई सबै कुरा ठिक लाग्यो। तर १४ दिनपछि आरडिटी नभई पिसिआर परीक्षण नै गर्नुपर्छ भन्ने मलाई लाग्छ। क्वारेन्टाइनमा बसेको १४ दिनपछि लक्षण देखिए मात्र पिसिआर गर्ने नभएर आरडिटी गर्ने सरकारको नीति रहेछ। यसले मनमा डर पैदा गरेको छ।
सबैको पिसिआर परीक्षण नै गर्नुपर्छ भन्ने मेरो बुझाई हो। किनभने अहिले मृत्यु भएका अधिकांश व्यक्तिमा कुनै पनि लक्षण देखिएको छैन। आरडिटीमा नेगेटिभ हुनेहरु पनि पछि पिसिआरमा पोजेटिभ भएको पाईएको छ।
क्वारेन्टाइनमा बसिरहँदा मलाई त्यस्तो डर लागेको छैन। तर सावधानी अपनाउनुपर्छ भन्ने चाँहि छ। यहाँ क्वारेन्टाइनमा गरिएको व्यवस्थापनको कारणले पनि होला मलाई त्यति डर र गुनासो केही छैन। मात्र पिसिआर नगर्ने कुराले कता कता डर भने हुँदो रहेछ।