काठमाडौं– सारा विश्व नै यतिखेर कोरोना विरुद्धको लडाईंमा छ। दिनरात नभनी विश्वका शक्तिशाली राष्ट्रहरु कोरोना विरुद्धको औषधि बनाउन जुटिरहेका छन्।
कोरोनालाई हराउने औषधिको खोजी गरिरहेका विश्वका धेरै व्यक्तिमध्ये एक नेपाली हुन्, प्राडा ललितकुमार दास। उनी हेटौंडास्थित त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका सहप्राध्यापक हुन्।
डा दास भन्छन्, ‘कोरोनाबाट मरेका मानिसको बारेमा पढ्दा, सुन्दा म निकै विक्षिप्त भएँ। अब चाहिँ केही गर्नुपर्छ भन्ने लाग्यो। त्यसपछि अध्ययन–अनुसन्धान गरी औषधि बनाउन थालें।’
नेपालमा माघ १० गते पहिलो संक्रमित भेटियो। त्यसपछि संक्रमितको दर बढ्दै गयो। तर कोरोनालाई हराउने औषधि बन्न सकेन र यो प्रयास अहिले पनि जारी छ। उनी कोरोना भाइरसबारे अध्ययन–अनुसन्धान गर्न थाले।
डा दास चैत १३ गतेदेखि कोरोना विरुद्धको औषधि बनाउन सुरु गरे। बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म उनी यसैका लागि खटिन्थे। यसरी खटिएको ७० दिनभित्र उनले औषधि बनाए।
डा दासले तयार पारेको औषधि दुई समूहका छन्। एउटा रोग प्रतिरोधात्मक क्षमता बढाउने र अर्को उपचारमा प्रयोग गरिने। यी दुई किसिमका औषधि उनले तयार पारे।
कोरोना भाइरसको बनावट, यसको प्रकृति र गुणबारे अध्ययन गरेको बताउँदै उनले भने, ‘कोरोनाले अहिले नयाँ र नयाँ खालका लक्षणहरु देखाउन थालेको छ। यसको बनावट र प्रकृति अध्ययन गरेर मैले औषधि बनाएको हुँ।’
डा दासका अनुसार औषधिले भाइरसको पहिलो पत्रमा हुने बोसो तथा प्रोटिनलाई टुक्र्याउने र भाइरसलाई निष्क्रिय बनाउँछ। उनले बोटबिरुवा र वनस्पतिमा आधारित औषधि बनाएको बताएका छन्।
औषधि बनाएपछि उनले प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाललाई परीक्षणको प्रक्रियाका लागि सहयोग गर्न आग्रह गरे। उनको आग्रह अनुसार नै मन्त्री दुलालले परीक्षणको प्रक्रियाका लागि सहयोग गरेका छन् र परीक्षणको प्रक्रिया सुरु समेत भएको छ।
अब नेपाल स्वास्थ्य अनुसन्धान परिषदमार्फत औषधिको परीक्षण हुने सामाजिक विकास मन्त्रालयले जनाएको छ।
औषधिको परीक्षणपश्चात त्यसले दिने नतिजाका आधारमा मात्र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रयोगका लागि स्वीकृति दिन्छ।
‘औषधि बनाएपछि परीक्षणका लागि सामाजिक विकास मन्त्रालयलाई आग्रह गरेको थिएँ। उहाँको सहयोगमा परीक्षणको प्रक्रिया सुरु भएको छ,’ उनले भने, ‘परीक्षणका क्रममा औषधिले कत्तिको सकारात्मक नतिजा दिन्छ। त्यसैको आधारमा यसले प्रयोगका लागि स्वीकृति पाउँछ। त्यो सरकारमार्फत डब्लुएचओले स्वीकृति दिने हो।’
डब्लुएचओसँग औषधिबारे हालसम्म कुनै छलफल नभएको डा दासले बताएका छन्। डब्लुएचओले आयोजना गरेको कोरोनासम्बन्धी गाइडलाइनबारे एक कार्यक्रममा मात्र आफू सहभागी भएको उनले बताए।
मानिसले वर्षौंदेखि प्रयोग गर्दै आएको वनस्पतिमा आधारित रहेर औषधि बनाएकाले यसको साइड इफेक्ट नभएको उनी बताउँछन्।
भारतको बनारस विश्वविद्यालयबाट रसायन शास्त्रमा विद्यावारिधि गरेका डा दासले यो क्षेत्रमा २६ वर्ष बिताइसकेका छन्।