‘कुनै पनि किसिमका स्वास्थ्य शिविर तथा सेवा सञ्चालन गर्दा शाखाबाट अनिवार्य अनुमति लिनुपर्ने’ स्वास्थ्य सेवा ऐनमा उल्लेख छ। तर, धनगढीमा अहिले कोभिड–१९ का नाममा केही संस्थाले बिनाअनुमति औषधि वितरण गरिरहेको पाइएको छ।
नेपाल राष्ट्रिय मारवाडी परिषद र मारवाडी सेवा समिति नेपालले सुदूरपश्चिमका विभिन्न जिल्लामा कोरोनाविरुद्धको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने होमोप्येथिक औषधि आर्सेनिक अल्वम ३० सी वितरण गरिरहेको जनाइएको छ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले अहिले कैलालीमा स्वास्थ्य शिविर तथा सेवा सञ्चालनका लागि कसैले पनि अनुमति नलिएको जानकारी दिए। उनले भने‚ ‘हामीबाट कसैले पनि अनुमति लिएको छैन सम्बन्धित स्थानीय तहको अनुमतिमा सेवा सञ्चालन गरिरहेको भए हामीलाई थाहा भएन।’
धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखाका कुम्भराज शर्माले पनि धनगढी उपमहागनरपालिकाभित्र औषधि वितरण गर्न कसैले अनुमति नलिएको बताए। उनले भने‚ ‘होमोप्याथिक औषधि भएकाले आयुर्वेदिक औषधालयबाट अनुमति लिएको भए हामीलाई थाहा भएन।’
आयुर्वेदिक औषधालय सेती अञ्चल कार्यालयका प्रमुख डाक्टर खगेन्द्र बमले औषधि वितरणका लागि कसैले पनि अनुमति नलिएको बताए।
‘यो औषधी रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि हो। यसलाई अहिले भारतमा पनि परीक्षा (ट्रायल)का लागि प्रयोग गरिएको छ’ सामाजिक विकास मन्त्रालयका आयुर्वेदिक शाखा प्रमुख डाक्टर चेतराज जोशीले भने‚ ‘यो औषधि त्यसै चिकित्सकको सल्लाहबिना कसैलाई पनि वितरण गर्न पाइँदैन।’ उनले आयुर्वेदिक औषधालयबाट यसरी वितरण भइरहेको पाए रोक्न लगाइने बताए।
कैलालीको धनगढीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा नेपाल राष्ट्रिय मारवाडी परिषद र मारवाडी सेवा समिति नेपालले सात हजार परिवारलाई कोरोनाविरुद्धको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने होमोप्येथिक औषधी वितरण गरेको जनाएको छ।
नेपाल राष्ट्रिय मारवाडी परिषद् सुदूरपश्चिमका उपाध्यक्ष श्याम तायलका अनुसार हालसम्म सुदूरपश्चिमका विभिन्न जिल्लामा ७ हजारभन्दा बढी परिवारलाई औषधी वितरण गरिएको बताए। उनले आवश्यकता र मागका आधारमा सुदूरपश्चिमका नौवटै जिल्लामा औषधी वितरण गर्ने बताए।
नेपाल राष्ट्रिय मारवाडी परिषदले आफ्ना ३८ शाखा मार्फत देशैभरी कोरोनाविरुद्धको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने होमोप्येथिक औषधी वितरण अभियान जारी राखेको छ।
मारवाडी सेवा समिति धनगढीले धनगढीको क्याम्पस चोक, शिवपुरी धाम, हसनपुर पिपलचौतारा, भन्सार रोड र सब्जीमण्डीमा ७ सय परिवारलाई औषधी वितरण गरेको थियो।
त्यस्तै समितिले बिहीबार धनगढी गाउँस्थित राधा मन्दिरको पिपलचौतारा, र नैनादेवी चौकमा एक हजार दुई सय परिवारलाई वितरण गरेको थियो।
समितिले शनिबार सन्तोषी टोल र चटकपुरमा औषधी वितरण गरेको जनाएको छ। धनगढीमा मारवाडी सेवा समितिका अध्यक्ष राजेन्द्र अग्रवालको अगुवाईमा औषधी वितरण भइरहेको छ।
नेपाल राष्ट्रिय मारवाडी परिषद पश्चिम उपाध्यक्ष तायलका अनुसार हालसम्म कोरोना रोकथामका लागि अग्रभागमा खटिएका ६ सय प्रहरी र ८ सय ५० सशस्त्र प्रहरीलाई समेत औषधी वितरण गरिएको छ।
त्यसैगरी डडेल्धुराको गन्यापधुरा गाउँपालिकालाई १ हजार ४ सय, गन्यापधुरा क्वारेन्टाइनका लागि १ हजार २ सय र डडेल्धुराको अमरगढी नगरपालिकामा क्वारेन्टाईमा रहेका १ हजार २ सय जनालाई औषधी वितरण गरिएको ह्युमानिटी फाउण्डेसनका अध्यक्ष समेत रहेका तायलले बताए।