काठमाडौं - शुक्रबार नेपालमा एकै दिन १ सय ७० जना संक्रमित भेटिए। एकै दिन यति धेरै संख्यामा संक्रमित भेटिएको यो पहिलो पटक हो।
बिहिबार एकै दिन १ सय ५६ र मंगलबार १ सय १४ जना संक्रमित भेटिए। संक्रमितको संख्या र कोरोनाको जोखिम दिनप्रति दिन बढ्दै गइरहेको यस तथ्यांकले पुष्टि गर्छ।
नेपालमा पहिलो संक्रमित माघ १० गते भेटिएको थियो। त्यसको दुई महिनापछि चैत १० गते दोस्रो संक्रमित भेटिए। यी दुवै संक्रमित बाहिरी मुलुकबाट आएका नेपाली थिए। त्यस यता दैनिकजसो संक्रमित भेटिन थालेका छन्।
एकै दिन धेरै संक्रमित भेटिन थालेको वैशाखबाट हो। कोरोनाको संक्रमणबाट हालसम्म ६ जनाको मृत्यु पनि भएको छ। केही जिल्लाबाट सुरु भएको संक्रमण करीब पाँच महिनामा ५२ जिल्लामा पुगेको छ।
सरकारले परीक्षणको दायरा बढाएको, बीचमा लकडाउन केही खुकुलो भएको र खुला सीमा नाकाका कारण संक्रमितको दर बढ्दै गएको विज्ञहरु बताउँछन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन भन्छन्, ‘परीक्षणको दायरा अहिले बढेको छ। बीचमा लकडाउन केही खुकुलो भएको थियो र खुला सीमाका कारण पनि कोरोना संक्रमितको दर बढ्दै गएको छ।’
यद्यपि अहिलेको अवस्थामा सरकारले गरेको परीक्षण पर्याप्त नभएको उनको भनाई छ। सरकारले सीमा नाकामा कडाई नगरेसम्म कोरोना संक्रमणको जोखिम घट्न नसक्ने र भएका कामहरु पनि प्रभावकारी नहुने उनले बताए।
मुलुकमा हाल सञ्चालन भएका अधिकांश क्वारेन्टाइन सरकारको मापदण्ड अनुसार छैनन्। यसले पनि कोरोना संक्रमणको जोखिम बढाउने विज्ञहरुले बताउँदै आएका छन्।
‘सरकारले क्वारेन्टाइनको महत्व बुझाउन नसक्दा नै मानिसहरु बस्न नमान्ने, तर्सिने, डराउने गरेका छन्। त्यसैले क्वारेन्टाइनको महत्व बुझाएर व्यवस्थित गर्नुपर्छ’ उनले भने।
कोरोना लाग्ने बित्तिकै मरिन्छ भन्ने धेरैको बुझाई छ। तर समयमै उपचार गरे निको हुने डा. पुन बताउँछन्। बाहिरी मुलुकमा लक्षण देखिएका संक्रमितलाई मात्र उपचार गर्ने गरिएको र लक्षण नदेखिएका संक्रमितहरु घरमै आराम गरेर बस्दा पनि निको हुने गरेको उनले बताए।
नेपालमा देखिएका अधिकांश संक्रमित लक्षण विहीन छन्। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्याय अनुसार अस्पतालमा उपचाररत संक्रमितहरु लक्षण विहीन छन्। उनीहरुलाई आवश्यकता अनुसार मात्र उपचार गरिएको उनले जानकारी दिए।
पछिल्लो समय केही विज्ञहरुले कोरोना संक्रमण तेस्रो चरण अर्थात् समुदायस्तरमा फैलिसकेको बताएका छन्। डा. पुनले कोरोना तेस्रो चरणमा प्रवेश गरेको अहिले नै भन्न नसकिने बताएपनि मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल भने कोरोना तेस्रो चरणमा प्रवेश गरेको बताउँछन्।
डा. मूर्तिले भने, ‘कोरोनाका कारण नेपालमा पहिलो पटक मृत्यु भयो। हामीसँग प्रमाण भएपनि नभएपनि अवस्थाले त्यस्तै देखाएको छ।’
डा. पुनका अनुसार कोरोना तेस्रो चरणमा प्रवेश गरेको भन्ने आधारहरु मुख्य गरी दुई वटा छन्। पहिलो संक्रमितको संख्या ह्वात्तै बढ्नु र दोस्रो संक्रमण फैलिनुको स्रोत थाहा नहुनु हो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बाँस्तोलाले समुदायका विभिन्न पकेट क्षेत्रहरुमा कोरोना संक्रमण देखिने गरेको बताए। अहिले नै भन्न नसकिएपनि केही समयपछि नेपाल कोरोनाको तेस्रो चरणमा प्रवेश गर्ने संभावना बढेको उनले बताए।
उनले भने, ‘अहिले ठाउँ/ठाउँमा पकेट जस्तो देखिएको छ। एक दुई वटा क्लस्टरहरु पनि भेटेका छौं। स्रोत नै थाहा नभएका संक्रमित पनि भेटिन सुरु गरेको छ। यी सबले पनि हामी केही समयपछि तेस्रो चरणमा प्रवेश गर्ने देखिन्छ।’ यद्यपि सरकारले घोषणा नगरेसम्म तेस्रो चरणमा प्रवेश गरेको भन्न नमिल्ने उनको भनाई छ।
उनका अनुसार भारतबाट फर्किएका व्यक्तिहरुले नै संक्रमण सारिरहेको छ। सरकारले बीचमा लकडाउन केही खुकुलो बनाएका कारण पनि संक्रमितको संख्या बढेको उनले बताए।
विशेषगरी काठमाडौंमा संक्रमित भेटिनुको मुख्य कारण पनि यही हो। लकडाउन खुकुलो भएकै कारण कोरोना प्रभावित विभिन्न जिल्लाबाट पनि मानिसहरु सहजै काठमाडौं उपत्यका भित्र छिर्न पाए।
विश्वमा कोरोनाको प्रभाव ५० वर्षभन्दा माथिको उमेर समूहमा बढी देखिएको छ। तर नेपालमा भने कोरोना संक्रमणको प्रभाव युवामा बढी देखिएको छ। पछिल्लो समय देखिएका संक्रमितको उमेर केलाउने हो भने सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहलाई कोरोनाले बढी सताएको छ।
डा. बाँस्तोला भन्छन्, ‘नेपालबाट विदेश अनि भारत जाने भनेको अधिकांश युवाहरु छन्। उनीहरु पढ्न र कामका लागि गएका हुन्। अहिले फर्कनेहरु पनि उनीहरु नै छन्। लकडाउन भएपछि वृद्धवृद्धा र दीर्घ रोगीहरु घरमै बसेका छन्। त्यसैले युवामा बढी संक्रमण देखिएको हो।’
यही युवाहरुले आगामी दिनमा वृद्धवृद्धा र दीर्घ रोगीहरुलाई पनि कोरोना सार्ने संभावना बढेको उनले बताए। कोरोना संक्रमण समुदाय स्तरमा फैलिए भोलिका दिनमा वृद्धवृद्धा र दीर्घ रोगीहरुको संख्या पनि बढेर जाने उनले बताए।
सरकारले लकडाउनलाई कडाईका साथ लागू गर्ने, संक्रमण देखिएका ठाउँमा परीक्षणको दायरा बढाए मात्र कोरोना रोकथाम तथा नियन्त्रण गर्न सकिने उनले बताए।
‘लकडाउनलाई कडाईका साथ लागू गर्नु नै पर्छ। परीक्षणको दायरा बढाउनुपर्छ। विशेषगरी संक्रमण देखिएका ठाउँमा परीक्षण दायरा बढाउनुपर्छ।’ उनले भने। सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि नयाँ रणनीति बनाउनुपर्ने उनले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले भारतबाट आउने क्रम नरोकिदा र परीक्षणको दायरा बढेका कारण संक्रमितको संख्या पनि बढ्दै गएको बताउँछन्। मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोभिड रेस्पोन्स इमरजेन्सी प्लान बनाएको उनले बताए।
कति संक्रमितलाई अस्पताल लैजानुपर्ने हुन्छ, कति जनशक्ति र स्वास्थ्य संस्था चाहिन्छ, लगायत विषयहहरुमा यही योजना अनुसार अघि बढेको उनले बताए।
उनका अनुसार लक्षण देखिएका र समस्या भएका संक्रमितलाई मात्र अस्पताल भर्ना गर्ने विषयमा पनि छलफल भइरहेको छ। उनले भने, ‘अहिले हामीले संक्रमित सबैलाई अस्पताल भर्ना गर्ने गरेका छौं। तर अब लक्षण देखिएका, जटिल समस्या भएकालाई मात्र अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउन सक्छ।’
लक्षण विहीन संक्रमितलाई अस्पताल भर्ना नगरिएपनि उनीहरुलाई मन्त्रालयले अनुगमन गर्ने पनि तयारी छ। मुलुकभर सञ्चालिन क्वारेन्टाइनलाई व्यवस्थित गर्न स्थानीय तथा प्रादेशिक तहमा निर्देशन दिइसकेको उनले बताए।
उनले भने, ‘क्वारेन्टाइनको अर्थ अझै पनि बुझाउन सकिएको छैन। केही कमी कमजोरी भए होलान्। किनभने हामी नयाँ समस्यासँग जुध्दै छौं। तर म होइन हामी भयौ भने मात्र विपत्तिको सामना गर्न सकिन्छ।’