काठमाडौं- नागढुंगामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने व्यक्तिका साथै सो घटनामा मूकदर्शक भएको भन्दै प्रहरीमाथि पनि छानबिन हुने भएको छ। महानगरीय प्रहरी कार्यालयले घटनाको छानबिन गर्न दुई सदस्यीय टोली गठन गरेको छ।
प्रहरी उपरीक्षक सन्तोष राठौर र निरीक्षक विष्णुप्रदीप बस्याल रहेको टोली गठन गरिएको प्रहरीले जानकारी दिएको छ। समितिले प्रतिवेदन दिएपछि गल्ती अनुसार प्रहरिलाइ कारबाही गरिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले बताए।
स्वास्थ्यकर्मी नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने व्यक्ति उत्तम कार्की भने पक्राउ परिसकेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले स्वयंसेवाका नाममा बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुव्यर्वहार गरेकाले ती व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्न लागिएको बताए।
गत शुक्रबार अत्यावश्यक कामले काठमाडौं आएका कार्कीको गाडी रोकेर नागढुंगामा एक युवाले खानतलासी गर्नुका साथैं दुव्यर्वहार समेत गरेका थिए। उक्त भिडियो फेसबुकमा समेत पोस्ट भएपछि त्यसको चौतर्फी विरोध भएको थियो।
यसरी स्वयंसेवाको नाममा कसैलाई पनि खानतलासीको अधिकार र दुर्व्यवहार गर्ने अधिकार नभएको र आवश्यक कारबाही गरिने गृहमन्त्रालयले जनाएको थियो। गृहकै निर्देशनमा ती युवालाई पक्राउ गरेर कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ।