काठमाडौं- कोरोना भाइरसको संक्रमण भए नभएको पत्ता लगाउने प्रभावकारी परीक्षण विधि हो पिसिआर। यसका साथै सरकारले भाइरस विरुद्ध शरीरमा बनेको एन्टीबडी पत्ता लगाउन आरडिटी विधिको प्रयोग पनि गरिरहेको छ।
तर, आरडिटीका विषयमा विश्वभर प्रश्न उठिरहेको छ। नेपालमा पनि आरडिटीका विषयमा प्रश्न उठिरहेको छ।
विज्ञहरुले शरीरमा कोरोनाको भाइरस भए÷नभएको पत्ता लगाउन पोलिमरिज चेन रियाक्सन अर्थात् पिसिआर परीक्षणको दायरा बढाउन सुझाव दिइरहेका छन्।
शंकास्पद बिरामीको कोरोना परीक्षण गर्न एक व्यक्तिलाई एक किटको आवश्यक पर्छ। यदी संक्रमितको संख्या यही हिसाबले बढ्दै जाने हो भने पिसिआर किटको खपत पनि धेरै हुने देखिन्छ। विश्वमै किटको अभाव भएपछि नेपालमा पनि पिसिआर किटको अभाव हुन थालेको छ।
पिसिआर किटको अभाव भइरहेको समयमा परीक्षको दायरा बढाउने विकल्प छैन त?
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका कन्सल्टेण्ट माइक्रोबायोलोजिस्ट एवं सरुवा रोग विशेषज्ञ डा. रञ्जित शाह भन्छन्, ‘अवश्य छ।’
उनका अनुसार पिसिआर परीक्षणको दायरा बढाउने त्यो विकल्प हो – ‘पुलिङ टेष्ट।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुलिङ टेष्टलाई औपचारिक स्वीकृति दिएको छ। मन्त्रालयले बिहीबार स्वीकृति दिएका कारण अब पुलिङ टेस्टको काम हुने प्रयोगशालाले जनाएको छ। मन्त्रालयले पाँच जनासम्मको नमूना मिसाएर परीक्षण गर्न सक्ने गरी स्वीकृति दिएको हो।
पुलिङ टेष्टको माध्यमबाट एकै पटक थोरै किटले धेरैको कोरोना परीक्षण गर्न सकिन्छ। यही विकल्प माथि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली काम गर्दैछ। एउटै किटबाट पनि ५ देखि १० जनाको एकै पटक कोरोना परीक्षण गर्न सकिने डा शाह बताउँछन्।
पुलिङ टेष्टमा कुनै शंकास्पद पाँच जना व्यक्तिको नमूना संकलन गरिन्छ। संकलन गरिएका पाँचै जनाको नमूना एउटै ट्युबमा राखेर मिसाइन्छ। जसमध्ये एक जनाबाट १४० माइक्रो लिटर नमूना निकालेर त्यसलाई एउटै नमूनाको रुपमा कोरोना परीक्षण गरिन्छ। एक जनाबाट १४० माइक्रो लिटरका आधारमा पाँच जनाको ७ सय माइक्रो लिटर हुन्छ र त्यसलाई परीक्षण गरिन्छ।
उक्त नमूनाको रिपोर्ट नेगेटिभ आए पाँचै जनाको नमूना पुनः परीक्षण गर्नु पर्दैन। यो हिसाबले बाँकी चार वटा किट बचत गर्न सकिन्छ। तर नमूना पोजेटिभ आए पाँच जना सबैको छुट्टा छुट्टै पुनः परीक्षण गर्नुपर्ने हुन्छ।
डा शाहले भने, ‘हाम्रो जस्तो सीमित स्रोत साधन भएको देशको लागि पुलिङ टेष्ट सबैभन्दा राम्रा विकल्प हो। हामी अब यही अनुसार काम गर्दैछौं।’
स्वाब संकलन गर्दा शंकास्द बिरामीबाट प्रयोगशालाले ३ एमएल स्वाब संकलन गर्ने गर्छ। जसमध्ये सबैको १ सय ४० एमएल स्वाब निकालेर मिसाईन्छ। त्यसैले उनीहरुको पुनः कोरोना परीक्षणका लागि नमूना संकलन गर्न जानु भने पर्दैन। पहिले संकलन गरिएका नमूनाबाटै परीक्षण गर्न सकिन्छ।
पोजेटिभ नमूनामा नेगेटिभ नमूना मिसाउँदा नतिजामा के फरक पर्छ? भनेर पत्ता लगाउन डा शाहले एक प्रयोग गरे। उनले एउटा पोजेटिभ नमूनालाई ९ नेगेटिभ नूमनासँग मिसाए र मिश्रित नमूना परीक्षण गरे। त्यसो गर्दा पोजेटिभ भ्यालुमा खासै फरक परेन अर्थात् नतिजा पोजेटिभ नै आयो।
संक्रमित दर कम भएको देश र ठाउँमा पुलिङ टेष्ट उपयोगी हुने उनले बताए। उनका अनुसार पुलिङ टेष्ट जर्मनी जस्ता विकसित राष्ट्रमा पनि प्रयोग गरिएको छ।
कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नेपालमा परीक्षणको दायरा बढाउन विज्ञहरुले लामो समयदेखि सुझाव दिँदै आएका छन्। परीक्षणको दायरा बढाउन भन्दै सरकारले १८ स्थानमा पिसिआरबाट कोरोनाको परीक्षण सुरु गरेको छ। तर किटको अभाव हुँदै गएपछि देशका केही स्थानमा पिसिआर परीक्षण रोकिएको छ।
सरकारले बिहीबार मात्र थप ३० हजार पिसिआर किट सिंगापुरबाट ल्याउँदैछ। यदी संक्रमितको संख्या बढ्दै जाने हो भने अझै पिसिआर किटको आवश्यक पर्ने देखिन्छ।