काठमाडौं- कोरोना भाइरसमुक्त भएर घर गएका तीन जनामा पुनः संक्रमण पोजेटिभ देखिएको छ। डिस्चार्ज हुनुभन्दा अघिका दुई पटकको कोरोना संक्रमण परीक्षण नेगेटिभ आएपछि काठमाडौंस्थित सनसिटी अपार्टमेन्टका ५८ वर्षीय पुरुष र नारायणी अस्पतालबाट डिस्चार्ज भएका २ जना पुरुषमा पुनः कोरोना पोजेटिभ देखिएको हो।
डिस्चार्ज भएपछि फलोअप चेकअपका लागि आउने क्रममा जाँच गर्दा पुनः कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। उनीहरु दुई जनालाई पुनः अस्पताल भर्ना गरिएको छ भने एक जना अस्पतालको निगरानीमा रहेकोसमेत मन्त्रालयले जनाएको छ।
'दुई पटकसम्म परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएर डिस्चार्ज भइसकेका तीन व्यक्तिमा पुनः कोरोना संक्रमण देखिएको छ,' मन्त्रालयका एक अधिकारीले भने, 'रौतहटका २१ वर्षीय पुरुष र अर्का भारतीय नागरिकलाई नारायणी अस्पतालमा भर्ना गरिएको छ भने सनसिटीका संक्रमितलाई पाटन अस्पतालको निगरानीमा राखिएको छ।'
जनस्वास्थ्य विज्ञहरूका अनुसार एकपटक कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका व्यक्तिमा पुनः कोरोना पोजेटिभ देखिनु थप जोखिमपूर्ण हुन्छ। ‘डिस्चार्ज भएको व्यक्तिमा ३ कारणले पुनः पोजेटिभ देखिन सक्छ,' एक जनस्वास्थ्य विज्ञ भन्छन्, 'उसको शरीरमा भाइरस कम भएको तर पुनः जाँच गर्दा भाइरसको लोड वृद्धि हुनु एक कारण मान्न सकिन्छ।'
यसैगरी, कोरोना पोजेटिभ भएका व्यक्तिमा पनि ल्याब परीक्षणका क्रममा त्रुटि हुँदा पनि डिस्चार्ज भएका व्यक्तिमा पुन कोरोना देखिन सक्ने ती जनस्वास्थ्य विज्ञको भनाइ छ।
डिस्चार्ज भएर घर गएको व्यक्तिमा अन्य व्यक्तिबाट पुनः संक्रमण सरेको हुन सक्ने संभावना भएका कारण पनि एक पटक कोरोना मुक्त भएका भनिएका व्यक्तिमा पुन कोरोना संक्रमण देखिन सक्छ।
'यो निकै जोखिमपूर्ण हुन्छ, कोरोना संक्रमणमुक्त भनेर डिस्चार्ज गरेर घर पठाएको व्यक्ति पुनः संक्रमित हुनु भनेको उसले फेरि कति व्यक्तिलाई संक्रमण सारिसकेको हुनसक्छ,' उनले भने, 'यसले समुदायमा महामारी फैलाउने खतरा अझ बढ्छ।’
तर, एकैपटक तीनजना व्यक्तिमा पुनः संक्रमण देखिनुले कोरोना भाइरस संक्रमण परीक्षण गर्ने ल्याबको गुणस्तर र प्रभावकारितामा आंशका गर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।
सरकारले पुनः संक्रमण देखिए के गर्ने भन्ने कुनै रणनीति बनाएको छैन। पहिलो पटक कोरोना संक्रमण भएकै कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य नै प्रभावकारी रुपमा नसकिरहेको अवस्था डिस्चार्ज भएका व्यक्तिमा पुनः संक्रमण भए के गर्ने भन्नेबारे छलफल भएको छैन।