काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको औषधि व्यवस्था विभाग खारेज गरी स्वायत्त खाद्य तथा औषधि प्राधिकरण स्थापना गर्ने प्रस्ताव गरेको छ।
स्वास्थ्य मन्त्रलायले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विभागको अहिलेको संरचना खारेज गर्दै नयाँ बलियो र फराकिलो दायरा भएको संरचना बनाउने प्रस्ताव तयार पारेको छ।
औषधि, औजार, उपकरण लगायत चिकित्सकीय प्रयोगमा आउने इलेक्ट्रिक डिभाइस, सौन्दर्य संसाधन, खाद्यन्नको गुणस्तर, फुड सप्लिमेन्ट तथा न्युट्रासिकल्स समेतको गुणस्तर जाँच तथा नियमन गर्न स्वायत्त नियमनकारी संस्था खाद्य तथा औषधि प्राधिकरण (एफडिए) स्थापना गर्ने प्रस्ताव गरेको हो।
नेपालमा हाल औषधि र खाद्य सामग्री हेर्न निकाय फरकफरक छ। चिकित्सकिय प्रयोगमा आउने उपकरण, इलेक्ट्रिक डिभाइस लगायतका सामग्रीको गुणस्तर जाँच गर्ने र नियमन गर्ने काम त अहिलेसम्म हुन सकेको छैन। गगन थापा स्वास्थ्य मन्त्री हुँदा यस्ता उपकरणको नियमन गर्ने निर्देशिका बनेको थियो। तर, मन्त्रीबाट उनी हटेसँगै निर्देशिका कार्यान्वयनमा आउन सकेको छैन।
पछिल्लो समय अत्याधिक आयात र प्रयोगमा आइरहेको सौन्र्दय संसाधनको नियमन हुन सकेको छैन। लामो समयदेखि स्वायत्त खाद्य तथा औषधि प्राधिकरण स्थापनाको चर्चा हुँदै आएको थियो। तर, बन्न भनेको सकेको छैन।
संघीयता अनुसार स्वास्थ्यल मन्त्रालयको सांगठनिक संरचना तयार गर्दा समेत एफडिएको विषयमा चर्चा भएको थियो। तर, केही कर्मचारीको स्वार्थका कारण उक्त काम अगाडि बढ्न सकेको थिएन।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभाग पनि खारेज गरेर राष्ट्रिय रोग नियन्त्रण केन्द्र पनि स्थापना गर्ने तयारी गरेको छ।
यो पनि :