काठमाडौं- ‘म भाग्यले बाँचेर आएको हुँ। मृत्युको मुखबाट बाँचेर आउँदा कस्तो हुँदो रहेछ भन्न आज थाहा पाएको छु।’
सिभिल अस्पतालको आकस्मिक कक्षबाट सुरज लामाले भनेका शब्द हुन् यी। यति भनिरहँदा उनको आँखाबाट आँसु थामिएको थिएन। अनुहार सुन्निएको थियो। आँखा राता थिए। ओठ र गाला फुटेर घाउ पनि देख्न सकिन्थ्यो अनुहारमा।
सुरज लामा उनै व्यक्ति हुन्, जो ११ दिनसम्म हिउँमै फसे। हिउँमा फरेको चौधौं दिनमा उनी अस्पताल सम्म आइपुगे।
घटना वैशाख ६ गतेको हो। सुरज लकडाउन खुल्ने दिनको प्रतीक्षामा थिए। कारण- उनलाई घर जानु थियो र गर्भवती श्रीमतीलाई भेट्नु थियो।
वैशाख २० गते श्रीमतीको सुत्केरी हुने समय तोकिएको थियो। त्यसैले उनलाई जसरी भएपनि घर जानु थियो। उनको घर सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ४ मा हो। उनी रसुवागढी हाइड्रोपावरमा मजदुरी गर्न गएका थिए।
लकडाउन खुल्ने छाँटकाँट नदेखेपछि उनी कम्पनीबाट बिदा नै नलिई रसुवाबाटै वैशाख ६ गते पैदल हिँडेर सिन्धुपाल्चोक पुग्ने निधो गरे। साथी भाइले हिँडेर घर नजान पनि नभनेका होइनन्। तर उनलाई जसरी पनि घर पुग्नै पर्ने थियो। श्रीमती सुत्केरी हुन लागेकाले उनको मन मान्दै मानेन।
‘श्रीमती डेलिभरी हुँदैछिन् भन्ने लागेर म एक्लै हिँडेको हो। लकडाउन खुलेपछि घर जान्छु भनेर कुरेर बसेको थिएँ। तर नखुलेपछि जे होला होला भनेर हिडेँ।’
त्यो दिन उनले घरमा आफू फर्कँदै गरेको खबर बुवा फुले लामालाई दिएका थिए। रसुवाबाट सिन्धुपाल्चोक पैदल हिँडेर आउने कुरा सामान्य थिएन। त्यसैले पनि बुवा फुले लामा खुशी कम र चिन्तित बढी भए।
‘बैसाख ६ गते छोराले फोन गरेर म हिँडेर घर आउँदैछु भनेर खबर गरेको थियो,’ बुवा फुले लामाले भने, ‘छोरा आउने कुराले खुशी त भएँ। तर त्यति टाढाबाट कसरी आउँछ भन्ने कुराले साह्रै चिन्ता लागेको थियो।’
त्यस दिनपछि बुवा फुलेको एउटै प्रार्थना थियो- जसरी हुन्छ छोरा सकुशल घर फर्कियोस्। त्यसैले उनी छिनछिनमा छोरालाई फोन गरिरहन्थे।
सुरज रसुवाबाट हिँडेको भोलिपल्टै उनको बाटो पर्ने क्षेत्रमा हिमपात सुरु भयो। हिउँले बाटो पुरिएपछि सुरज अलमलमा परे र अनुमानको भरमा हिँड्दै गए।
हिड्दै जाँदा उनी रसुवाको गोसाइँकुण्ड नजिकैको तारेभीरमा पुग्नै लाग्दा हिउँमा फसे। उनी केही कपडा, म्याट र सातु साथमा लिएर निस्किएका थिए। पहिलो दिनसम्म उनी सम्पर्कमा थिए। तर दोस्रो दिन अर्थात् बैसाख ७ गते बिहान साढे ११ बजेपछि उनी एकाएक सम्पर्कविहीन भए।
अनुमानको भरमा हिँड्दै जाँदा कहाँ पुगियो भनेर सुरजले पत्तो नै पाएनन्। ‘जता हेर्यो बाटो छैन। सबै हिउँ मात्र छ। भालु पो आउँछ कि कतै जंगली जनावरले पो खान्छ कि भन्ने डर मात्र थियो,’ दुखद् अनुभुति उनले सुनाए।
११ दिनसम्म उनी सातुकै भरमा बाँचे। सातुलाई हिउँमा मुसेर बिहान र बेलुकी दुई/दुई डल्लो बनाएर खाने गर्थे। पानीको प्यास मेटाउन उनी हिउँ नै खान्थे।
'सास रहेसम्म आश रहन्छ भन्थे। हो रहेछ,' सुरजले सुनाए। उनी हरेक दिन त्यो ठाउँबाट निस्कन प्रयास गर्थे। हिउँमा पुरिँदै, लड्दै अनि आँफै उठ्दै दिनरात बाटो पत्ता लगाउने आशामा हिँडिरहे।
‘म कसरी हिडेँ। कहाँ पुगेँ मलाई केही थाहा पाइनँ। कहाँ गएर मरिन्छ। कहाँ डुबिन्छ केही थाहा थिएन। तैपनि बाँच्ने आशामा म हिँडिरहेँ,’ उनले भने।
हिँड्दै जाँदा उनी धेरै ठाउँमा हिउँमा पुरिए। त्यो बेला उनी आफै पुरिएको ठाउँबाट निस्कन हात र खुट्टाले हिउँ खन्दै बाहिर निस्कन्थे।
कोही आएर उद्धार गर्ने आशामा उनले एउटा लौरोमा कपडाले झण्डा बनाएर पनि राखे। तर दिन बित्दै गएपछि उनले हिम्मत पनि हार्दै गए। 'हिउँमा फसेको ९/१० दिनपछि बाँच्ने आशा पनि छाडिसकेको थिएँ,' उनले भने।
घरपरिवारको बेचैनी कति बढ्यो बढ्यो यो बीचमा। तर आशा भने जीवितै थियो। बुवा फुले लामा भन्छन्, ‘छोरा आउँछ कि भनेर बाटो हेरेर बस्यौं तर आएन। त्यसपछि मैले खोजी गरिदिन वडा कार्यालयमा निवेदन दिएँ।’
त्यही दिन बलेफी गाउँपालिका-४ का वडाध्यक्ष कालीप्रसाद लामाले उनको खोजी गरिदिन रसुवाका विभिन्न निकायलाई आग्रह गरेका थिए। उनको आग्रहसँगै सो क्षेत्रमा खटिएका नेपाली सेना, प्रहरी लगायतका निकायमा खबर गरिएको थियो।
सुरजको हिँड्ने क्रम रोकिने कुरै थिएन। उनी कहाँ जाँदैछु भन्ने पत्तो नपाए पनि हिँड्न छोडेका थिएनन्। सातुले साथ दिएकै थियो। हिँड्दै जाँदा खोलाको किनार भेटाए। किनारै किनार हिँडे। हिँडिरहे।
संयोग नै मान्नुपर्छ बैसाख १६ गते नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको सूर्यकुण्ड फेदी भन्ने ठाउँमा स्थानीयले उनलाई भेटे। प्रहरीलाई खबर गरे। दुई दिनपछि वैशाख १९ गते बिहान उनको उद्धार गरी काठमाडौं ल्याइएको छ।
‘हिड्दै गर्दा एउटा खोला भेटेँ। अब त मरे पनि मर्छु। जे होला होला भनेर खोलैखोला हिडेँ। यदि खोलाको बाटो नआएको भए…..। बाटो भेट्दिनँ थिएँ। म मर्थेँ होला। खोलैखोला गएकाले आज यहाँसम्म जीवितै आएँ। तपाईंलाई कथाव्यथा सुनाउन सकेँ,’ उनले भने।
उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ। उनको उपचारमा संलग्न चिकित्सकका अनुसार उनी अहिले खतरामुक्त छन्। बोल्न सक्ने अवस्था छ। उनको उपचारको सबै जिम्मेवारी गाउँपालिकाले लिएको बुवा फुले लामाले बताए। सुरजले अन्तिममा भने, ‘सोचविचार गरेर मात्र हिँड्नु पर्ने रहेछ। नत्र धेरै ठक्कर खानुपर्दो रहेछ। तर हरेस नखाई हिँडेकाले म बाँचेर फर्कन सफल भएँ।’
भिडियो
यसरी भयो उद्धार
बलेफि गाउँपालिका–४, सिन्धुपाल्चोकका वडाध्यक्ष कालीप्रसाद लामाले उनको उद्धारबारे बताएका छन्। उनको भनाइ जस्ताको तस्तैः
वडा कार्यालयमा १२ गते पारिवारले सुरज हराएको भन्दै निवेदन दिन आएका थिए। मैले सिडिओसाबलाई जानकारी गराएँ। खोजीको क्रममा रसुवाको सिडिओ, पत्रकार, हाइड्रोपावरका मेनेजर, लाङटाङ राष्ट्रिय निकुञ्जको आर्मीलाई जानकारी गराइयो।
१६ गते साँझ आर्मी ब्यारेकबाट फोन आयो। सुरज होटलमा रहेको र होटलको नम्बर दिए। मैले होटलवालालाई फोन गरेँ। उनीबारे जानकारी लिएँ। त्यो दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीको सूर्यकुण्ड भन्ने ठाउँ रहेछ। त्यो समुन्द्रबाट ४ हजार ७ सय मिटरमाथि पर्दो रहेछ।
त्यहाँ एम्बुलेन्स, गाडी केही नचल्ने थाहा पाएपछि के गर्ने भनेर मैले नेकपाका नेता माधव सापकोटालाई फोन गरेँ। सभामुख अग्निप्रसाद सापकोटाका स्वकीय सचिव गोविन्द पाठकसँग पनि कुरा गरेँ। राति सरसल्लाह गरेर हेलिकोप्टबाट उद्धार गर्ने कुरा भयो। त्यसपछि गृहले नुवाकोटको सिडिओलाई पत्र लेख्यो।
१८ गते हेलिकोप्टर उडाउन तयारी अवस्थामा हामी थियौं। तर मौसमको खराबीका कारण उड्न सकेन। १९ गते बिहान ७ बजेर ३५ मिनेटमा हेलिकोप्टर उड्यो। ८ बजे सुरजलाई काठमाडौं ल्याइयो। अहिले बानेश्वरको सिभिल हस्पिटलमा उनको उपचार भइरहेको छ।
उद्धारका क्रममा लिइएका केही तस्बिर
भिडियो : बिश्वास खनाल