काठमाडौं - कोरोना भाइरसले विशेषगरी फोक्सोमा असर गर्छ अनि श्वासप्रश्वासमा समस्या निम्त्याँछ। त्यसैले कोरोनाका गम्भीर खालका बिरामीलाई आइसियु र भेन्टिलेटरको आवश्यक पर्छ। तर नेपालका सबै अस्पतालमा भेन्टिलेटर सेवा उपलब्ध छैन।
मुलुकभर करीब ५ सयको हराहारीमा भेन्टिलेटर छन्। जुन गम्भीर खालका संक्रमितको संख्या बढ्दै गएको अवस्थामा पर्याप्त मानिदैन।
यही समस्यालाई मध्यनजर गरी पाइला टेक्नोलोजीले एउटा यस्तो उपकरणको विकास गरेका छन्, जसले भेन्टिलेटर नभएको अवस्थामा बिरामीको उपचारलाई सजिलो बनाउनेछ।
उनीहरुले यस उपकरणलाई नाम दिएका छन, पाइला भेन्ट। यो उपकरणले अक्सिजन दिने र भेन्टिलेशनको कामलाई सहज बनाउने त्रिवि शिक्षण अस्पतालका एनेस्थेसियोलोजिस्ट डा नविन्द्रराज विष्टले बताए।
श्वासप्रश्वास गर्न नसक्ने, फोक्सोमा बढी भएको कार्बनडाइअक्साइड फाल्न, एनेस्थेसियाका बिरामी र आफैं श्वास फेर्न नसक्ने बिरामीका लागि यो प्रयोग गर्न उपयोग हुने उनले बताए। अहिले सन्दर्भमा कोरोनाको बिरामीको उपचारका लागि यो झनै उपयोगी हुने उनी बताँछन्।
भेन्टिलेटर नभएको अस्पतालमा अहिले बिरामीलाई श्वासप्रश्वास गराउन एम्बु ब्यागलाई हातले पम्पिङ गर्ने गरिन्छ। यो घण्टौको प्रक्रिया पनि हुन सक्छ। यसो गर्दा बिरामीको संक्रमण चिकित्सकलाई सर्ने सम्भावना उत्तिकै हुन्छ। तर पाइला भेन्टको प्रयोगले संक्रमणको सम्भावनाको जोखिम हुँदैन।
उनले भने, ‘अक्सिजन दिने र भेन्टिलेशन गर्ने कामलाई मात्र यसले सहज बनाउँछ। तर यो अहिले आइसियुमा भएको भेन्टिलेशनको रिप्लेसमेन्ट होइन। एम्बु ब्यागिङ गरिरहने प्रक्रियालाई सहज बनाएको हो।’
बिरामीलाई अस्पताल लैजाने क्रममा एम्बुलेन्समा पनि यो प्रयोग गर्न मिल्ने उनले बताए। अहिलको महामारीको समयमा यो उपकरण नेपालजस्तो मुलुकका लागि उपयोगी हुने उनको भनाई छ।
कोरोनाको महामारीमा उपयोगी हुने भन्दै आफुहरुले यसको विकास गरेको पाइला टेक्नोलोजीका को फाउन्डर सिईओ विनय राउतले बताए। १५ जनाको समूहले १८ दिनमा यो उपकरण निर्माण गरेका हुन्।
यो सिधै मानिसमा प्रयोग गर्न नमिल्ने भएकाले उनीहरुले शनिबार कुकुर माथि प्रयोग गरेका छन्। जुन सफल पनि भएको छ।
यो उपकरणलाई नेपालमा प्रयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत अन्य निकायमा छलफल भइरहेको डा विष्टले जानकारी दिए।
हेरौं भिडियो :
भिडियो : निमेष जंग राई