काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ। जसमध्ये सबैभन्दा बढी विराटनगरस्थित कोशी अस्पतालमा ३१ जना उपचाररछ छन्। त्यसपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा १२ जना संक्रमितको उपचार भएको छ। १२ जनामध्ये ४ जना निको भएर डिस्चार्ज भइसकेका छन्।
स्वास्थ्यखबरले कोरोना संक्रमितको उपचारमा सक्रिय रुपमा खटिएका डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीका विषयमा समाचार प्रकाशित गर्दै आइरहेको छ। यसअघि स्वास्थ्यखबरले कोशी अस्पताल र काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विषयमा समाचार प्रकाशित गरिसकेको छ।
यस पटक हामीले नारायणी अस्पतालमा खटिरहेका टोलीले कसरी काम गरिरहेका छन्, अस्पतालले कसरी व्यवस्थापन र उपचार प्रक्रिया अगाडि बढाइरहेको छ भन्ने विषयमा जानकारी दिने प्रयास गरेका छौं।
०००
नारायणी अस्पताल, कोरोना संक्रमितलाई निको बनाउन दिनरात खटिने अस्पतालमध्येको एक हो। जसले अहिलेसम्म चार जना संक्रमितलाई निको बनाएर डिस्चार्ज गरिसकेको छ। बाँकी आठ संक्रमितको उपचारमा यो अस्पताल र यहाँका स्वास्थ्यकर्मी जुटिरहेका छन्।
संक्रमितको उपचारमा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहन्छ। तर यी सबलाई सहज र कुशल तरिकाले व्यवस्थापन गर्नु ठूलो चुनौती हो। यही चुनौतीलाई अवसरका रुपमा परिणत गरेका छन्, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले।
डा उपाध्याय र उनको टिम अहिले दिनरात संक्रमितको उपचारमा निरन्तर खटिइरहेका छन्।
कोरोनाको उपचारका लागि अस्पताल र स्वास्थ्यकर्मीलाई तयार पार्नु उनको लागि त्यति सहज थिएन। तर उनको नेतृत्व र व्यवस्थापनले यसलाई सम्भव बनाइदिएको छ।
भन्छन्, ‘हाम्रो अस्पतालको संरचना पुरानो छ। सीमित जनशक्ति र विभिन्न उत्प्रेरणाको अभाव छ। तर पनि कोरोनाको उपचारका लागि यी सबलाई व्यवस्थापन गर्दै अघि बढेको छु।’
उनका अनुसार अस्पताललाई अहिलेको अवस्थामा ल्याउन अस्पतालका डाक्टर, नर्स, स्वास्थ्यकर्मीसहित अन्य कर्मचारी र वीरगञ्जका सहयोगी संस्था तथा व्यक्तिहरुको साथ छ।
‘अस्पतालको टिमसहित वीरगञ्जका अन्य थुप्रै सहयोगी हातका कारण हामीले सहज रुपमा काम गर्न सकिरहेका छौं,’ उनले भने, ‘सबैको साझा प्रयास र टिमवर्कका कारण नै हामी कोरोना विरुद्धको लडाईंमा छौं।’
नेपालमा माघ ९ गते पहिलो संक्रमित भेटियो। त्यस लगत्तै नारायणी अस्पतालले पनि कोरोना संक्रमितको उपचारका लागि तयारी अघि बढाएको थियो।
‘नेपालमा पहिलो संक्रमित देखिए लगत्तै हामीले तयारी सुरु गरेका थियौं’ उनले भने, ‘कसलाई कसरी खटाउने, उपचारलाई कसरी सहज बनाउने लगायत सबै तयारी भयो।’
त्यो समय अस्पतालमा ५ शय्याको मात्र आइसोलेसन वार्ड छुट्याइएको थियो। बिरामीको संख्या बढ्दै गएपछि अहिले ७ आइसियु सहित १८ आइसोलेसन वार्डको व्यवस्था छ। यसका लागि अस्पताललाई धेरैले साथ र सहयोग गरेको उनले जानकारी दिए।
चार जना संक्रमित उपचार भएर निको भइसकेपछि आफूहरुमा आत्मविश्वास बढेको र सकारात्मक सन्देश दिन सकेको उनले भनाइ छ।
‘कोरोनाको उपचार गर्दा सुरुमा धेरै अप्ठ्यारा पनि आए तर चार जना संक्रमितको हामीले उपचार गर्यौं। उनीहरु निको भएर डिस्चार्ज पनि भए। यसले हामीमा आत्मविश्वास बढेको छ। बाहिर पनि सकात्मक सन्देश गएको छ,’ उनले भने।
एक–एक हप्तामा चिकित्सकको टोली परिवर्तन
नारायणी अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी सहित ३ सय १७ कर्मचारी छन्। १ सय ९९ जनाको दरबन्दी भए पनि १ सय १८ जना अस्पतालको विकास समितिको तर्फबाट छन्।
कोरोनाको उपचारका लागि अस्पतालले २५ जनाको पाँच वटा टोली बनाएको छ। यी सबै टोली एकै पटक अस्पतालमा खटिनु पर्दैन।
२५ जनाको एउटा टोली एक हप्ता र अर्को टोली एक हप्ता गरी पालैपालो उपचारमा खट्ने गरी अस्पतालले व्यवस्था मिलाएको छ।
उपचारमा खटिने स्वास्थ्यकर्मीहरु अस्पताल नजिकैको होटलमा क्वारेन्टाइनमा बस्ने गर्छन्।
परिवारबाट ठूलो साथ पाएको भन्दै डा उपाध्याय भन्छन्, ‘घर नगएको दुई महिना भयो। फोनबाटै कुरा हुन्छ। यो समयमा परिवारबाट एकदमै ठूलो सपोर्ट पाएको छु। त्यसैले पनि मलाई थप ऊर्जा मिलेको छ।’
परिवारबाट साथ पाए पनि समुदायका मानिसले भने फरक व्यवहार गर्ने गरेको उनको अनुभव छ। भन्छन्, ‘यदि म बाहिर केही सामान लिन गए र नारायणी अस्पतालमा काम गर्छु भन्यो भने मबाट टाढा जाने अनि फरक व्यवहार गर्छन्। त्यो अहिले पनि छ।’
अन्य निकायबाट साथ आवश्यक छ
नारायणी अस्पताललाई कोरोनाको उपचारका लागि तयार गरिरहँदा उनले मेडिकल टिमबाट साथ त पाए। तर अन्य निकाय र विभागबाट भने खासै साथ पाएनन्।
‘सुरुमा अस्पतालमा कोरोना संक्रमितलाई भर्ना लिन पनि द्विविधा भएको थियो। मेडिकल टिमबाट धेरै सपोर्ट छ तर अन्य विभागबाट भने अहिले पनि खासै साथ पाएका छैनौं,’ उनले भने।
अस्पताल भित्रकै विभागबाट मात्र नभई अन्य सरकारी निकायबाट पनि खासै सहयोग नपाएको उनको भनाइ छ। वीरगञ्ज महानगरपालिकाबाट केही सहयोग पाए पनि स्वास्थ्य कार्यालय लगायत अन्य निकायबाट सहयोग नभएको उनको भनाइ छ।
उनी भन्छन्, ‘बिरामीको हेरचाह गर्ने अस्पतालको काम मात्र हो भन्ने धेरैको बुझाइ छ। तर यो समयमा हामीलाई अन्य निकायको पनि धेरै आवश्यक पर्छ। जुन हामीले खासै पाउन सकेका छैनौं।’
यो पनि :