धनगढी - आँखामा हल्का पहेलोपन छ भने शरीर मोटो छ। उमेरले ३० वर्ष पुगेकी यी महिला अहिले औषधि उपचार खर्च खोजीरहेकी छिन्।
चैत ८ गते काठमाडौबाट धनगढी पुगेकी महिलालाई चार वर्षदेखि जण्डीसले सताइरहेको थियो। जण्डीसले ठुलो रुप लिएको ती महिलालाई पत्तै भएन। फागुन ५ गते धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित माया मेट्रोमा उनी चेकजाँचका लागि पुगेकी थिइन। उनले भनिन –‘अस्पतालले विभिन्न चेकजाँच गर्यो पछि यहाँ सम्भव छैन, काठमाडौं वा भारतका अस्पतालमा जान सुझाब दिए।’
अस्पतालको सुझाब अनुसारनै ती महिला काठमाडौंस्थित सुभेच्छा इन्रनेश्नल अस्पतालमा उपचारका लागि पुगिन्। उपचारका क्रममा अस्पतालले कलेजो र मिर्गौलामा समस्या भएको जानकारी दियो। अस्पतालले विभिन्न औषधि र खानपिनमा ध्यान दिन भन्दै डिस्चार्ज गरेको थियो।
...
डोटीको दीपायल–सिलगढी नगरपालिका वडा नम्बर २ कठायत टोल घर भएकी पार्वती नेपाल अहिले धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा घर भाडामा बस्दै आएकी छिन्। सरकारले चैत ११ गतेदेखि देशभरीनै लकडाउन जारी गरेको छ। लकडाउनका कारण मजदुरदेखि ठुला उद्योगीले समस्या झेलीरहेका छन्। विपन्न तथा मजदुरदेखि उद्योगिहरुले आम्दानीको स्रोत प्रयोग गर्न पाएका छैनन्। जसका कारण दैनिक खर्च जुटाउन पनि दैनिक ज्यालादारी, विपन्न वर्ग, विद्यार्थीहरु लगायतलाई समस्या छ। यही समस्या ती महिलाले पनि झेलेकी छिन्।
उनले भनिन –‘चिकित्सकको सुझाब अनुसारको औषधि खरिद गर्ने रकम छैन।’
लकडाउनका कारण उनले नियमित सेवन गर्दै आएको औषधि सकियो। उनले भनिन –‘औषधि किन्ने पैसा थिएन। जनप्रतिनिधीहरुलाई आफनो समस्या भनेपछि प्रदेश सभा सदस्य टेकबहादुर रैकाको सिफारिसमा सेती प्रादेशिक अस्पतालमा रहेको फार्मेसीबाट औषधि ल्याएँ।’
उनले फार्मेसीबाट पनि आवश्यकता अनुसारको औषधि नपाएको गुनासो गरिन। उनले भनिन–‘सस्तो औषधिहरु त पाएँ तर, महँगो औषधि चिकित्सकले सिफारिस गरेका थिए ती भने पाइएन।’
उनी अहिले यी औषधिको जोहो कसरी गर्ने भन्नेमा छिन्।
...
पार्वतीका श्रीमान प्रहरीमा कार्यरत थिए। श्रीमतिको पटक–पटक उपचार गर्दै गए। श्रीमतिको उपचारमै बढी खर्च हुन लागेपछि उनले जागिर छोडेर विदेशमा कमाउने सोच अघि बढाए। तत अनुरुप उनले जागिरबाट राजीनामा दिई विदेश जाने प्रक्रिया शुरु गरेका थिए। फागुन ५ गते श्रीमतिलाई काठमाडौंमा उपचारका लागि नजिकैको आफन्तबाट उनले पाँच प्रतिशत ब्याजका दरमा ५ लाख ऋण निकाले। निकालिएको ऋण श्रीमतिकै उपचारमा सकेको उनले बताए।
पार्वतीका श्रीमानले भने –‘श्रीमतिको उपचार गर्न विदेश जाने सोच बनाएर जागिरबाट राजीनामा दिएँ। सरकारले जारी गरेको लकडाउनका कारण विदेश पनि जान पाइन्। कमाउने बाटो पनि छैन। अब आवश्यक औषधि पनि कसरी किन्ने?’ उनी धनगढीमा तीन वर्षदेखि भाडामा बस्दै आएका छन्।
...
सरकारले लकडाउन जारी गरेपछि दैनिक ज्यालादारी, विपन्न वर्ग तथा भाडामा बस्दै आएका लगायतका व्यक्तिहरुलाई खाद्यान्नको व्यवस्था गर्ने घोषणा गरेको छ। सोही अनुरुप धनगढी उपमहानगरपालिकाले पनि नगरभित्र रहेका स्थानीयहरुलाई चामल, दाल, नुन, तेल, सावुन लगायत वितरण गरिरहेको छ। सोही अनुरुप ती परिवारले पनि स्थानीय तहबाट खाद्यान्न प्राप्त गरेका थिए। पार्वतीले भनिन् –‘खाद्यान्न भन्दा औषधि चाहिएको छ। कहाँबाट जोहो गर्ने हो?’ उनलाई चिकित्सकले दुध, दही लगायतका क्यालसियम र भिटामीनयुक्त भोजन गर्न सुझाव दिएका छन्। उनले भनिन –‘दुध, दही लगायतका भिटामिन र क्यालसियमयूक्त सामाग्री खरिद गर्न पैसा छैन।’
...
सरकारले आर्थिक विपन्नका लागि उपचारमा सहुलियत दिँदै आएको छ । सोही आधारमा यी महिलाले पनि अहिले धनगढी उपमहातनगरपालिकामा सहुलियतका लागि निवेदन पेश गरेकी छिन। तर, धनगढी उपमहानगरपालिकाले भने यसमा ध्यान दिएको छैन।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ की वडा सदस्य रतना विष्टले भनिन् –‘निवेदनमा हामी संवेदनशिल छौं। हामीले सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयमा पनि पठाएका छौं।’
उनले पार्वतीसंगै धेरै व्यक्तिहरुको उपचार सहुलियतका कागजपत्र प्रक्रियामा रहेको जानकारी दिइन्। अहिले सरकारका तीनवटै तह कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनमा जुटेकाले अन्य स्वास्थ्यका समस्यामा सरकारको ध्यान जान नसकेको बताइन्।
उनले बुधबार पार्वतीलाई भेटी आवश्यक औषधिको व्यवस्था गर्ने प्रतिवद्धता जाहेर गरेकी थिइन्।
...
पार्वतीका दुई छोरा र दुई छोरी पनि छन्। आफ्नै लागि पोषणयूक्त खानाको व्यवस्था गर्न नसकेकी उनी छोरा छोरीप्रति पनि चिन्तित छन्। उनले भनिन –‘कसैले सहयोग गरेको भए धेरै राहत हुने थियो।’
...
यी महिलालाई सहयोग गर्न कोही इच्छुक हुनुहुन्छ भने ९८४८५२५३१९ मा सम्पर्क गर्नु सकिन्छ।