काठमाडौं - सरकारले चैत ११ गतेबाट लागू हुनेगरी पहिलो पटक लकडाउन गर्यो। त्यसयता, लकडाउनको अवधि तीन पटकसम्म बढाइएको छ।
लम्बिदै गएको लकडाउनको असर नेपाली औषधि उद्योग र औषधि बजारमा परेको छ। मुलुकमा ६३ वटा औषधि उद्योग छन्। तर आधा जति औषधि उद्योग बन्द छन्। बाँकी रहेका उद्योग पनि बन्द हुने अवस्थामा पुगेका छन्। ती उद्योगहरुमा जसोतसो २० प्रतिशत जति काम भइरहेको छ।
नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारी भन्छन्, ‘आधा जति उद्योग बन्द छन्। बाँकी उद्योगमा पनि २० प्रतिशत मात्र काम भइरहेको छ। त्यहाँ पनि कम श्रमिक अनि कच्चा पदार्थको सीमितताले गर्दा निकै अप्ठ्यारो भइरहेको छ।’
सरकारले ऋण उपलब्ध गराए मात्र उद्योग चलाउन सक्छौं
नेपालले सबैभन्दा धेरै भारत र चीनबाट औषधिको कच्चा पदार्थको आयात गर्दै आएको छ। भारतबाट ६० र चीनबाट २० देखि ३० प्रतिशत कच्चा पदार्थ आयात हुन्छ अर्थात् वर्षेनी ८ देखि १० अर्ब मूल्य बराबरको कच्चा पदार्थ आयात गरिन्छ।
कोरोनाको महामारीले गर्दा औषधि बनाउन प्रयोग गरिने कच्चा पदार्थमा २० देखि ३० प्रतिशत मूल्य वृद्धि भएको छ। यो परिस्थितिमा औषधि उद्योग सञ्चालन गर्न निकै समस्या भएको संघका महासचिव अधिकारीले बताए।
उनले भने, ‘औषधि उद्योग चलाउन गर्न गाह्रो हुने अवस्था आइसकेको छ। हामीले कच्चा पदार्थ नगदमा खरिद गर्नुपर्छ। तर अहिले बजारबाट पनि पैसा पनि उठ्न सकेको छैन। त्यही माथि कच्चा पदार्थको मूल्यमा पनि वृद्धि भएको छ।’
करीब दुई महिनालाई पुग्ने औषधि र कच्चा पदार्थ स्टकमा भएपनि उद्योग बन्द हुने अवस्थामा पुगेको उनले बताए। भन्छन्, ‘हामीसँग दुई महिना बढीलाई पुग्ने औषधि र कच्चा पदार्थ छ। तर आर्थिक अभावले उद्योग नै बन्द हुने अवस्थामा पुगेका छौं।’
औषधि उद्योग बन्द हुन नदिन सरकारले सहुलियत पूर्ण ऋण उपलब्ध गराउनुपर्ने उनले बताए। सरकारले कच्चा पदार्थ खरिदका लागि कम्तीमा पनि ५० प्रतिशत ऋण उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ।
स्थानीय ढुवानीमा समस्या
लकडाउनको असर औषधिको ढुवानीमा पनि परेको छ। लकडाउनले स्थानीय ढुवानीमा निकै असहज हुने गरेको नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले बताए।
उनले भने, ‘लोकल ढुवानी नखुलेको कारण हामीलाई औषधि एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन असहज भएको छ। हामीले सरकारलाई ५/७ पटक भनिसकेका छौं तर अहिलेसम्म यो समस्या समाधान भएको छैन।’
उनका अनुसार काठमाडौं र वीरगञ्जमा औषधिका आयातकर्ताहरु धेरै छन्। लकडाउनले काठमाडौंबाट अन्य जिल्लामा औषधि पुर्याउन परे व्यवसायीहरुलाई सहज छैन। त्यही माथि कामदारको पनि अभाव हुने गरेको उनले बताए। स्थानीय ढुवानीको समस्या तत्काल समाधान गर्नुपर्ने उनको माग छ।
२४ घण्टाभित्र ल्याउने औषधिको आयातलाई सहज बनाउनुपर्छ
नेपाली औषधि व्यवसायीले भारतबाट आयात गर्ने औषधिमध्ये केही यस्ता औषधिहरु छन्, जो २४ घण्टाभित्र नेपाल ल्याइसक्नुपर्छ। त्यस अन्तर्गत इन्सुलिन, विभिन्न औषधि र भ्याक्सिन पर्दछ। तर गाडीबाट रक्सौलसम्म आईपुग्दा चार/पाँच दिन लाग्ने गर्छ।
यसअघि कम्पनीले नै हवाइजहाज मार्फत कोल्ड चेन अर्थात् चिसोमा राखेर ती औषधि नेपालसम्म पुर्याउने व्यवस्था गर्थे।
उनले भने, ‘२४ घण्टाभित्र ल्याउनुपर्ने औषधिहरु ल्याउन हामीलाई असहज भइरहेको छ। भारतबाट गाडीमा ल्याउँदा चार/पाँच दिन लाग्छ।’
हाल ती औषधि अभाव नभएपनि लकडाउन बढ्दै गए समस्या हुने उनले बताए। अहिले करीब डेढ महिनालाई पुग्ने स्टक नेपाली औषधि व्यवसायीसँग छ।
श्रेष्ठ भन्छन्, ‘अहिले हामीसँग करीब डेढ महिनालाई पुग्ने स्टक छ। आत्तिहाल्नुपर्ने अवस्था छैन। तर लकडाउनको असर बढ्दै गयो भने व्यवस्था त गर्नुपर्यो नी।’
उनका अनुसार जहाजबाट ती औषधिहरु ल्याउने व्यवस्था गर्न सरकारसँग छलफल भइरहेको छ । तर अहिलेसम्म कुनै निष्कर्ष निस्किएका छैन।
उनले भने, ‘प्लेनबाट भएपनि ती औषधि ल्याउने व्यवस्था सरकारले मिलाउनुपर्छ । हामीले राज्यसँग छलफल गरिरहेका छौ । तर अहिलेसम्म केही समाधान आएको छैन ।’
नेपाली बजारमा ४५ अर्ब मूल्य बराबरको औषधि खप हुन्छ । जसमध्ये २५ अर्बको औषधि बाहिरी मुलुकबाट खरिद गर्नुपर्ने बाध्यता छ ।