कैलाली- अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौंबाट रेजिडेन्ट चिकित्सकको टोली सुदूरपश्चिममा आइपुगेको छ।
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको जोखिम बढेको र संम्भावित जोखिमलाई न्यूनीकरण गर्न चिकित्सकको टोली शुक्रबार यति एयरको एटिआर-७२ जहाजमार्फत् सुदूरपश्चिम आइपुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठान (न्याम्स)मा दोस्रो र तेस्रो वर्षमा अध्ययनरत ३३ जनाको टोलीलाई प्रदेशमा खटाएको हो।
स्वास्थ्य मन्त्रालयले उनीहरुलाई पठाएसँगै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले आवश्यकताको आधारमा जिल्ला जिल्लामा खटाउने तय गरेको छ। सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सेती प्रादेशिक अस्पताल लगायत अन्य अस्पतालमा उनीहरुलाई खटाएको जानकारी दिए।
प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका डा भूषण मिश्रका अनुसार सेती प्रादेशिक अस्पताल धनगढीमा १४ जना, कञ्चनुरस्थित महाकाली प्रादेशिक अस्पतालमा ४ जना, टीकापुर अस्पतालमा २ जनालाई खटाइएको छ। त्यस्तै पहाडी जिल्ला दार्चुला र बैतडीमा दुई/दुई जना तथा बझाङ, डडेल्धुरा र अछाममा तीन/तीन जनालाई खटाएको डाक्टर मिश्रले बताए।
सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको सङख्या पाँच पुगेको छ। ती डाक्टर एक महिनासम्म रहेर काम गर्ने बताइएको छ।