काठमाडौं - चिकित्सक कोरोना संक्रमणको सबैभन्दा बढी जोखिममा पर्छन्। चिकित्सक नै हुन्, जो बिरामीको सिधा सम्पर्कमा रहनुपर्छ।
कोरोनाको उपचारका क्रममा बिरामीबाटै संक्रमित भएर विभिन्न देशमा चिकित्सकको मृत्यु समेत भइसकेको छ।
कोरोना संक्रमितको उपचारका क्रममा संक्रमणको जोखिमलाई कम गर्न राष्ट्रिय ट्रमा सेन्टरका तीन जना चिकित्सकले नयाँ प्रविधिको निर्माण गरेका छन्।
‘मोबाइल भिडियो ल्यारिङ्गोस्कोप’, जसलाई सामान्य भाषामा श्वानलीको दुरबिन पनि भन्न सकिन्छ। यो विशेषगरी भेन्टिलेटरमा राखिएका बिरामीको लागि प्रयोग गर्न बनाइएको हो।
बिरामीको श्वासनलीमा पाइप राख्र्ने क्रममा यसको प्रयोग गरिने राष्ट्रिय ट्रमा सेन्टरका अर्थोपेडिक्स डा रोशन भगतले बताए। अस्पतालका एनेस्थेसिया विभागका डा पवन हमाल र डा नविन पोख्रेलको प्राविधिक सहयोगमा डा भगतले यसको निर्माण गरेका हुन्।
चिकित्सकले पहिले बिरामीको मुख नजिकै गएर श्वासनलीमा पाइप राख्नुपथ्र्यो (इन्टुबेट) तर अब यो प्रविधिको प्रयोगले बिरामी र चिकित्सकबीच दुरी कायम गर्न सकिन्छ। जसले गर्दा बिरामीको संक्रमण चिकित्सकमा र चिकित्सकमा भएका संक्रमण बिरामीमा हुने संभावना कम भएर जाने डा भगतले बताए।
उनले भने, ‘श्वासप्रश्वासमा समस्या भएका बिरामीलाई भेन्टिलेटरमा राख्दा चिकित्सकले मुखमा हेर्दै पाइप राख्नुपर्छ। त्यो बेला बिरामीले एकपटक पनि खोक्यो भने चिकित्सकलाई संक्रमण हुने जोखिम हुन्छ। यही जोखिमलाई घटाउन हामीले यो प्रविधि बनाएका हौं।’
यो प्रविधि कोरोनामा मात्र नभई अन्य बिरामीका लागि पनि प्रयोग गर्न सकिन्छ। तर तालिम प्राप्त चिकित्सकले मात्र यसको प्रयोग गर्नुपर्ने डा पवन हमालले बताए।
उनले भने, ‘पहिले श्वासनलीमा पाइप राख्न अलि समय लाग्थ्यो। अनि बिरामीको नजिक जानुपथ्र्यो। यसमा चिकित्सकले भिडियो हेरेर गर्न सक्छन्। जसले गर्दा बिरामी र चिकित्सक दुबैलाई फाइदा हुन्छ।’
यो प्रविधिको लागि एन्ड्रोएड मोबाइल, ल्यारिङ्गोस्कोप, बोर स्कोप, दुई मिटरको तार र क्यामराको आवश्यक पर्छ। चिकित्सकले बिरामीको नजिक गएर नभई मोबाइलमा भिडियो हेर्दै पाइप राख्न सक्छन्। अस्पतालमै भएका पुराना सामग्रीको प्रयोगबाट पनि यसको निर्माण गर्न सकिने डा भगतले बताए।
कम्प्युटराइज भिडियो ल्यारिङ्गोस्कोप गर्न कम्तीमा पनि एक लाखदेखि १५ लाखसम्मको खर्च लाग्छ भने मोबाइलबाट गर्दा करीब १० हजारमा गर्न सकिने डा भगतले बताए।
उनी भन्छन्, ‘अस्पतालमै भएका पुराना सामानबाट पनि यो प्रविधि बनाउन र सुरु गर्न सक्छौं। लाखौँ पर्ने प्रविधि मोबाइलबाट गर्दा हजारमै पनि हुन सक्छ।’
राष्ट्रिय ट्रमा सेन्टरमा यो प्रविधि अब प्रयोगमा ल्याइने उनले बताए। अन्य अस्पतालले माग गरे बनाउन तयार भएको उनको भनाइ छ।
हेरौं भिडियो :
तस्बिरहरु
भिडियो/तस्बिर : निमेष जंग राई