काठमाडौं - ‘ह्याण्ड स्यानिटाइजर’ हात सफा गर्ने सबैभन्दा सरल उपाय हो। विश्वभर जब कोरोनाको आतंक मच्चियो, त्यसपछि सबैको ध्यान स्यानिटाइजरमा गयो।
मानिसहरु साबुन पानीले कम स्यानिटाइजरले हात बढी सफा गर्न थाले। तर कस्तो स्यानिटाइजर प्रयोग गर्नुपर्ने हो? यस तर्फ धेरैको ध्यान गएन।
कोरोनाको संक्रमण बढ्दै गएपछि भारतले स्यानिटाइजरको आयातमा प्रतिबन्ध लगायो। त्यसपछि नेपाली बजारमा पनि स्यानिटाइजरको अभाव हुन थाल्यो। बजारमा जुनसुकै ब्राण्डकै किन नहोस्, मानिसहरु जतिसुकै मूल्य तिरेर पनि स्यानिटाइजर खरिद गर्न तयार भए।
बजारमा गुणस्तरहीन स्यानिटाइजर बिक्रि हुन थालेपछि औषधि व्यवस्था विभागले निश्चित मापदण्ड निर्धारण गरेको छ। स्यानिटाइजरको मापदण्ड तोकेपछि विभागले नेपाली औषधि उद्योगलाई पनि उत्पादनका लागि दर्ता हुन आह्वान समेत गरेका थियो।
स्यानिटाइजरमा ७० देखि ८० प्रतिशत इथेल अल्कोहल वा आइसोप्रोपल अल्कोहल मात्र हुनुपर्ने विभागका महानिर्देशक डा. नारायणप्रसाद ढकालले बताए। यसअघि विभागले स्याइनिटाइजरको लागि मापदण्ड निर्धारण गरेको थिएन।
विभागले मापदण्ड निर्धारण गरेपनि कतिपयले भने ७० देखि ८० प्रतिशत अल्कोहलको मात्रा नभएको र मिथानोल जस्तो विषाक्त रसायन स्यानिटाइजर बिक्रि वितरण गर्दै आएका छन्।
यही चैत २५ गते भक्तपुरको कमलविनायकस्थित कार्यकल्प आर्युवेद फर्माबाट गुणस्तरहीन ‘इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर’ प्रहरीले बरामद गरेको थियो। उक्त फर्माले विभागले निर्धारण गरेको मापदण्ड विपरित स्यानिटाइजर बिक्रि गरेको पाइएको डा. ढकालले बताए।
हातमा भएका किटाणु नष्ट गर्न स्यानिटाइजरमा इथेल अल्कोहलको मात्रा ७० देखि ८० प्रतिशत हुनु अनिवार्य मानिन्छ। तर बजारमा बिक्रि भइरहेका कतिपय स्यानिटाइजरमा अल्कोहलको मात्रा पुरा नभएको र मिथानोल समावेश गरिएको पनि पाइएको छ।
मिथानोलले शरीरमा नकारात्मक असर गर्ने बताउँदै महानिर्देशक डा. ढकालले बताए। उनले भने, ‘मिथानोल आँखामा प¥यो भने दृष्टि गुम्छ र शरीरभित्र पर्यो भने मानिसको ज्यानै पनि जान्छ। त्यसैले यसलाई औषधिमा मिसाउन हामी अनुमति दिदैनौ।’
रंगलाई पातलो बनाउन मिथानोल रसायनको प्रयोग हुने गरेको उनले बताए। भन्छन्, ‘विभिन्न साबुन उद्योगले पनि स्यानिटाइजर बनाउने गरेको रहेछ। विभागले दर्ता प्रक्रिया सुरु गरेपछि मात्र यी सब कुराहरु बाहिर आए।’
विभागले मिथानोल जस्तो विषाक्त रसायन मिसाइएका र अल्कोहलको परिणाम तोकिए अनुसार नभएका न्यून गुणस्तरका ह्याण्ड स्यानिटाइजर बिक्रि वितरण भइरहेको भन्दै त्यसो नगर्न निर्देशन समेत दिएको छ।
हुन त, विभिन्न अस्पतालले यसअघि पनि आफै स्यानिटाइजर बनाएर प्रयोग गर्दै आएका छन्। तर सार्वजनिक रुपमा बिक्रि वितरण गर्न भने विभागबाट दर्ता हुनुपर्ने प्रावधान छ। बजारमा गुणस्तरहीन स्यानिटाइजर बिक्रि वितरण रोक्नका लागि निरिक्षण गरिरहेको महानिर्देशक ढकालले बताए।
बजारमा स्यानिटाइजरको अभाव हुन नदिन उत्पादन सुरु गरिएको नेपाल औषधि उत्पादक संघले जनाएको छ। हाल विभिन्न २० वटा उद्योग विभागमा दर्ता भई तोकिएको मापदण्ड अनुसार स्यानिटाइजर उत्पादन थालिएको संघका महासचिव विप्लव अधिकारीले बताए।
उनले भने, ‘यसअघि नेपालमा स्यानिटाइजर बिक्रिका लागि उत्पादन हुन्थेन। अहिले २० वटा उद्योगले उत्पादन सुरु गरिसकेको छ।’
अहिले पर्याप्त मात्रामा स्यानिटाइजर उत्पादन भइरहेको संघले जनाएको छ। महासचिव अधिकारीका अनुसार हाल ५०÷६० हजार लिटर स्यानिटाइजर स्टकमा छ। विभागले ९ गते दर्ता हुन आह्वान गरेको भोलिपल्टै दर्ता भई उत्पादन सुरु गरिएको उनले बताए।
‘जतिसक्दो धेरै स्यानिटाइजर उत्पादन गरेर बजारमा ल्याएका छौ। नेपाली बजारमा धान्ने गरी हामी स्यानिटाइजर पुर्याउँछौ।’ उनले भने।
बजारमा स्यानिटाइजर खरिद गर्दा अल्कोहलको मात्रा हेरेर मात्र खरिद गर्न उनको आग्रह छ। उनले भने, ‘औषधि विभागमा दर्ता भएका र अल्कोहलको मात्रा मात्र हेरेर स्यानिटाइजर खरिद गर्नुपर्छ।’