काठमाडौं- ‘पिपिईको अभाव भयो, सुरक्षित पिपिई भएन’ भन्ने गुनासो चिकित्सकबाट धेरै आइरहन्छ । नआउन पनि किन ? बिरामीको उपचारमा खटिने चिकित्सक नै असुरक्षित महसुस गरिरहेका छन् ।
राजधानीकै विभिन्न ठुला अस्पतालमा पर्याप्त मात्रामा पिपिई उपलब्ध छैन । विभिन्न संक्रमणबाट जोगाउन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षामात्मक उपकरण अर्थात् पिपिई अनिवार्य मानिन्छ । पिपिई स्वास्थ्यकर्मीका लागि सुरक्षा कवच सरह हो ।
सबै अस्पतालमा पर्याप्त मात्रामा पिपिई छैन । पिपिई लगाएका चिकित्सकलाई पनि सहज कहाँ छ र ? वीर अस्पतालको फिबर क्लिनिकका चिकित्सक बिहान ९ देखि ५ बजेसम्म खटिन्छन् । यो अवधिभर उनीहरु शैचालय जान पाउँदैनन् । खाना पनि खाँदैनन् ।
फिबर क्लिनिकमा बस्ने चिकित्सकले खुट्टादेखि टाउकोसम्म पिपिई लगाएका हुन्छन् । शौचालय जाँदा र खाना खाँदा पिपिई फुकाल्दा अप्ठ्यारो हुने र अर्को पिपिई नभएकाले पनि यो समस्या भएको उनीहरुको भनाई छ ।
चिकित्सकहरुबाट विभिन्न गुनासो आएपछि नेपाल चिकित्सक संघले यही आइतबारदेखि राजधानीका विभिन्न अस्पतालमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा वीर अस्पतालको फिभर क्लिनिकका चिकित्सकको यस्तो दुःख सुनाएका हुन्।
‘उहाँले खुट्टादेखि टाउकोसम्म एकदम राम्रो पिपिई लगाउनु भएको थियो’, अनुगमनमा खटिएका नेपाल चिकित्सक संघका सदस्य डा रितेश थापा भन्छन्, ‘लगाएको पिपिई खोल्न पनि मिलेन । बिहान ९ देखि ५ बजेसम्म ड्युटी गर्नुपर्ने, त्यही भएर खाना खान पनि नमिल्ने रहेछ। यहाँसम्म की ट्वालेट जान पनि नपाउने अवस्था रहेको गुनासो गर्नुभएको छ।’
पिपिई परिवर्तन गर्न अर्को पिपिई नभएकाले एउटा लगाएपछि पाँच बनेसम्म ज्वरो क्लिनिकमै बसेर बिरामीको उपचारमा खटिएको अनुगमनका क्रममा पाइएको उनले बताए । उनले भने, ‘खाना खाँदा र ट्वालेट जाँदा पिपिई पुरै चेन्ज गर्नुप¥यो तर चेन्ज गरीराख्न फेरी पर्याप्त मात्रामा उपलब्ध छैन भन्ने कुरा पनि आयो ।’
संघले हालसम्म वीर अस्पताल, सिभिल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल र केएमसी अस्पतालमा अनुगमन गरिसकेको छ । निजी अस्पतालमा पनि अनुगमन गर्ने तयारी भएको संघले जनाएको छ ।
अनुगमनका क्रममा अधिकांश अस्पतालमा पिपिईको अभाव पाइएको छ । जसका कारण चिकित्सकको मनोबल निकै कमजोर भएको डा थापाले बताए । पिपिईको अभावमा वीर अस्पताललै इमरजेन्सीमा रेनकोट लगाएर पनि चिकित्सक खटिएको पाइएको छ ।
उनले भने, ‘अनुगमनको निष्कर्ष सहितको रिपोर्ट निकाल्छौं। अहिले नै सबै भन्न सकिन्न तर समग्रमा भन्नुपर्दा अस्पतालहरुमा पिपिईको अभाव छ र चिकित्सकहरुको मनोबल निकै कमजोर पाएका छौं।’
अन्यमा भन्दा फिबर क्निलिकमा बस्ने चिकित्सकले मात्र सबै पिपिई पाएको उनले बताए । ‘चिकित्सकहरु उपचारमा खटिरहनु भएको छ। तर सुरक्षित महसुस भने गरेका छैनन्। पिपिईको अभावले गर्दा पनि होला’ उनले भने।