काठमाडौं - विभिन्न अस्पतालमा अहिले अत्यावश्यक (जसलाई उपचार नगर्दा थप जोखिम हुँदैन) बाहेक अन्य सेवा उपलब्ध छैन।
सरकारले पनि अत्यावश्यक बाहेक अस्पताल नजान सबैलाई आग्रह गरेको छ। त्यसैले अस्पतालहरु अहिले सुनसान जस्तै भएको छ। यद्यपि विभिन्न अस्पतालले हाल टेलिफोन मार्फत परामर्श पनि गर्न थालेका छन्। तर सबै सेवा फोन मार्फत परामर्श गर्न सम्भव हुँदैन। जसमध्ये प्रसुति सेवा एक हो।
विश्वलाई आतंकित बनाएको कोरोनाले प्रसुति सेवालाई पनि केही हदसम्म असर गरेको छ। हुन त गर्भवती हुनु र शिशुलाई जन्म दिनु प्राकृतिक प्रक्रिया हो। तर मुलुकको विषम परिस्थितिमा यो सेवा लिनेको संख्या केही घटेको पाइएको छ।
काठमाडौंको विभिन्न पाँच प्रमुख अस्पतालको तथ्यांकले यसलाई पुष्टि गर्छ। थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल, पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र काठमाडौं मेडिकल कलेज (केएमसी) मा प्रसुति सेवा लिनेको संख्या र अवस्था बारे बुझ्ने प्रयास गरेका छौं। जसमध्ये पाटन, सिभिल, केएमसी अस्पतालमा सुत्केरी हुनेको संख्या घटेको पाइएको छ भने प्रसुति गृह र त्रिवि शिक्षण अस्पतालमा सेवा लिनेको संख्या उस्तै छ।
सेवा लिनेको संख्या समान छ : प्रसूति गृह
प्रसुति गृह नेपालको केन्द्रीय स्तरको एक मात्र स्त्री रोग अस्पताल हो । यहाँ दैनिक करीब ६ सयदेखि ७ सय जनाले सेवा लिन्छन्। जसमध्यै ५५ देखि ७० जना सुत्केरी हुने गरेको अस्पतालको तथ्यांक छ। यो संख्या अहिले पनि समान रहेको अस्पतालका निर्देशक डा जागेश्वर गौतमले बताए।
उनले भने, ‘कोरोनाको संक्रमण देखिएपछि बिरामीलाई आउजाउ गर्न केही समस्या भएको छ। तर यो प्राकृतिक प्रक्रिया भएकाले प्रसूति सेवा लिनेको संख्या भएकाले घटेको छैन।’
उनका अनुसार प्रसूति गृहमा ७० प्रतिशत सामान्य र ३० प्रतिशतमा शल्यक्रिया गरेर बच्चा जन्मने गरेका छन्। प्रसूति गृहमा गत वर्ष २२ हजार १ सय ४७ जना महिला सुत्केरी भएका थिए।
सुत्केरी हुनेको संख्या केही घटेको छ : पाटन अस्पताल
प्रसूति गृह अस्पतालमा सुत्केरी हुने महिलाको संख्यामा कमी नआएपनि पाटन अस्पतालमा भने केही घटेको छ।
अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माका अनुसार गत महिना ६ सय ५० देखि ७ सय महिला सुत्केरी भएका थिए। तर चैत १ देखि २२ गतेसम्म पाटन अस्पतालमा ३ सय ६० जना महिला मात्र सुत्केरी भएका छन्।
पहिलेको तुलनामा अहिले सुत्केरी हुन आउने महिलाको संख्या केही हदसम्म घटेको निर्देशक शर्माले बताए।
उनले भने, ‘अहिले सुत्केरी हुन आउनेको संख्या केही घटेको छ। कोरोनाकै कारण भन्ने छैन। तर अन्य कारण हुन सक्छ।’
पाटन अस्पतालमा शल्यक्रिया गरेर शिशु जन्माउनेको संख्या ४० प्रतिशत छ। बाँकी ६० प्रतिशतको नरमल डेलिभरी हुने गरेको अस्पतालले जनाएको छ।
सिभिल अस्पताल करीब ५० प्रतिशत कम
सिभिल अस्पतालमा सामान्तया दैनिक २० जनाको डेलिभरी हुने गथ्र्यो। तर अहिले ५ देखि १० जनाको मात्र डेलिभरी हुने गरेको छ।
अहिले सुत्केरी हुन आउनेको संख्या घटेको अस्पतालका निर्देशक डा दीर्घराज आरसीले बताए।
भन्छन, ‘कोरोनौ कारण भन्न मिल्दैन। उनीहरु अस्पताल नआएर अन्य ठाउँमा गएको पनि हुन सक्छ।’
सेवा दिन समस्या नभएपनि आगामी दिनमा कोरोना संक्रमित गर्भवती महिला आए भने कसरी सेवा दिने भन्ने ठुलो चुनौतीको विषय भएको उनले बताए ।
उनका अनुसार अस्पतालमा यसको लागि छुट्टै अपरेशन थिएटरको व्यवस्था गरिएको छ। तर पनि सरकारले यसको लागि अस्पतालमा छुट्टै वार्ड, स्वास्थ्यकर्मीको व्यवस्था गर्न आवश्यक रहेको उनको भनाई छ।
सिभिल अस्पतालमा हुने सुत्केरीमध्ये ४० प्रतिशतको शल्यक्रिया र बाँकी ६० प्रतिशतलको नरमल डेलिभरी हुने गरेको छ।
कोरोनाले असर गरेको छैन : त्रिवि शिक्षण अस्पताल
त्रिवि शिक्षण अस्पतालमा दैनिक १० देखि १४ जना महिला सुत्केरी हुन्छन्। यो संख्या अहिले पनि उत्तिनै छ। अस्पतालका निर्देशक डा प्रेमकृष्ण खड्गाले सुत्केरी हुन आउने महिलाको संख्यामा कुनै घटबढ नभएको बताए।
‘बिरामी कुन अवस्थामा अस्पताल आउँछन् भन्नेमा भर पर्छ’, उनले भने, ‘यो प्राकृति कुरा हो, त्यसैले हामी कहाँ सुत्केरी हुन आउने महिलाको संख्यामा कुनै घटबढ भएको छैन।’
ओपिडी र सुत्केरी हुने महिला दुवैको संख्या घटेको छ : केएमसी अस्पताल
सिनामंगलस्थित केएमसी अस्पतालमा सामान्तया ओपिडी सेवा लिन १४ देखि १५ सय अस्पताल पुग्थे। तर अहिले यो संख्या करीब १ सयमा झरेको छ ।
केएमसी अस्पतालका प्रसुति एवं स्त्री रोग विशेषज्ञ डा चन्दा कार्कीका अनुसार दैनिक १२ देखि १४ जना सुत्केरी गरेकोमा अहिले दैनिक ७÷८ जना मात्रै सुत्केरी हुन्छन्।
उनले भनिन्, ‘अहिले अत्यावश्यक सेवा चाहिने मात्र गर्भवती महिला अस्पताल आउने गरेका छन्। त्यसैले ओपिडीमा संख्या घटेको छ। डेलिभरी हुनेको संख्या पनि घटेको छ।’ ७ जना सुत्केरी हुँदा २ जनाको शल्यक्रिया हुने गरेको उनले जानकारी दिइन् ।
यी विभिन्न पाँच अस्पतालमा सुत्केरी हुनेको संख्या केही घटेपनि सेवा दिन भने समस्या नरहेको उनीहरुले बताएका छन्।