धनगढी- कैलालीमा थप दुई जनासहित कोरोना संक्रमितको संख्या तीन पुगेको छ। चैत १४ गते कोरोना संक्रमण भएका युवकसहित उनकी भाउजु र कैलालीकै अर्का एक युवकमा कोरोना संक्रमण भएको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।
मन्त्रालयले शनिबार पुष्टि गरेका २१ वर्षीय युवक लकडाउन घोषणा गरिएपछि भारतबाट फर्किएका युवा हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत ११ गतेदेखि लकडाउन र सीमा नाका बन्द गरेपछि उनी कैलालीको गौरीफन्टा नाका भएर नेपाल आएको बताए। उनले चैत ११ गते नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै गौरीफन्टामा नाराबाजीमा उत्रिएको भीडमा उनी पनि सहभागी रहेको पाइएको बताए।
सरकारले १२ गते सीमा अलपत्र अवस्थामा रहेका नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राख्ने गरी उद्धार गर्ने निर्णय गरेको थियो। सोही निर्णयपछि ती युवकलाई उद्धार गरेर क्वारेन्टाइनमा राखिएको थियो।
भारतको मुम्बइमा होटलमा काम गर्दै आएका ती युवक १३ गते बिहान लम्कीचुहा नगरपालिका वडा नम्बर ९ को प्रतापपुरस्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो। ती युवा प्रदेश सरकारले व्यवस्था गरेको बसमा लम्की पुगेका थिए। ती युवक सवार बसमा २५ जना पनि अन्य नेपाली पनि रहेका थिए।
‘ती युवकसँग सम्पर्क भएका सबै व्यक्तिहरूको ट्रयाक गरिरहेका छौं,’ कैलाली प्रहरी प्रमुख सुदीप गिरीले भने। उनले ती युवकको घरपरिवारमा सम्पर्क नरहेको बताए। ‘युवक घर पुगेको एक घण्टामै प्रहरी टोलीले क्वारेन्टाइनमा राखेको थियो। ती युवकले घर परिवारसँग भेटघाट नगरेको प्रतिक्रिया दिएका छन्।’ युवकका घरपरिवार अहिले घरमै रहेको उनले बताए। ‘घर परिवारमा संक्रमणको परीक्षण गर्ने वा नगर्नेबारे मैले केही भन्न सक्दिनँ। तर ती युवक सरकारले नै व्यवस्था गरेको क्वारेन्टाइनमा बसेका व्यक्ति हुन्।’
सरकारले लकडाउन गरेपछि ११ गतेदेखि ती युवक सहित सयौं नेपाली सीमामा अलपत्र थिए। त्यहाँ रहेका नेपालीले सुरक्षाकर्मीमाथि समेत ढुंगामुढा गर्न थालेपछि बल प्रयोग गर्नुपर्ने अवस्था आएको थियो। सीमामा अलपत्र नेपालीहरुलाई उद्धार गर्न प्रदेश सरकारले ३० वटा बसको व्यवस्थापन गरेर सम्बन्धित जिल्लामा पुर्याएको थियो। सो दिन नाकामा कैलाली, कञ्चनपुर, अछाम, डोटीलगायतका १९ जिल्लाका नेपाली रहेका थिए।
संक्रमितकै भाउजू संक्रमित
पछिल्लो पटक संक्रमण पुष्टि भएकी अर्की एक महिला पनि कैलालीकै हुन्। यसअघि चैत्र १४ गते कोरोना संक्रमण भएका युवककी भाउजूसमेत रहेकी उनी भने घरमा थिइन्। उनको निगरानीमा संलग्न स्वास्थ्यकर्मीका अनुसार शनिबार बिहान घरबाटै ती महिलालाई क्वारेन्टाइनमा ल्याइएको थियो। नमुना संकलन गरी परीक्षणका लागि काठमाडौँ पठाएकोमा रिर्पोट पोजेटिभ आएपछि उनलाई एम्बुलेन्समार्फत् सेती प्रादेशिक अस्पताल पुर्याइएको हो।
अस्पतालको आइसोलेसनमा राखिएको उनको अवस्था सामान्य छ। ज्वरो आउने रुँघाखोकी लाग्नेजस्ता लक्षण पनि सामान्य मात्र भएको सेती प्रादेशिक अस्तपालका आकस्मिक कक्ष प्रमुख डा जगदीश जोशीले बताए। ‘केन्द्रबाट आएको निर्देशनअनुसार सामान्य लक्षण मात्र रहेकी उनलाई ल्याएर अस्पतालको आइसोलेसनमा राखिएको हो,’ उनले भने। डा जोशीका अनुसार शनिबार बिहान ८ बजेतिर एम्बुलेन्स घरमा पठाएर उनलाई अस्पताल ल्याएर आइसोलेसनमा राखिएको हो।
कोरोना भाईरस (कोभिड-१९) को संक्रमण भएका युवाका परिवारलाई लक्षण देखा नपरेकाले विश्व स्वास्थ्य संगठनको गाइडलाइन अनुसार नमुना जाँच गर्न नमिल्ने भन्दै सुरुमा आनाकानी गरेका थिए। तर चिकित्सकले बुधबार (चैत १९) गते उनको परिवारसहित १० जनाको नमुना संकलन गरेर जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो।