काठमाडौं - सरकारले लकडाउनलाई आठ दिन थप्दै चैत २५ गतेसम्म लम्ब्याएको छ। कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले चैत १० गते एक साताको लकडाउन घोषणा गरेको थियो।
लकडाउन भएसँगै अधिकांशको काम रोकिएका छन् भने कतिले घरबाटै कामलाई निरन्तरता पनि दिएका छन्। लकडाउनका बेला मानिसहरु अन्य दिनमा जस्तै क्रियाशिल हुन पाउँदैनन्। उनीहरु घर र कोठा भित्रै बस्नुपर्छ।
घरपरिवारसँग बस्नेका लागि केही सहज भएपनि कोठामा बस्ने मानिसका लागि भने त्यति सहज छैन। यो समयमा हामीले स्वास्थ्यप्रति ध्यान दिन सकेनौं भने थप समस्या निम्तन सक्छ।
जनस्वास्थ्य विज्ञ डा अरुणा उप्रेतीका अनुसार यदी हामी निष्क्रिय भयौं भने विभिन्न स्वास्थ्य समस्या निम्तन सक्छ । जस्तै :
– भिटामिन डी को कमी हुनु
– जोर्नी दुख्नु
– खानाहरु नपच्ने, अपच हुनु
– कब्जियत हुनु
– मोटोपना बढ्नु आदि।
डा उप्रेती भन्छिन्, ‘यदी हामी कोठाभित्र मात्र बस्यौं भने भिटामिन डीको कमी हुन सक्छ, शरीर चलायमान भएन भने खाना अपच हुने र कब्जियत हुन सक्छ, जोर्नीमा दुखाई हुन सक्छ।’
लकडाउनले शरीरलाई स्वस्थ राख्न मौका दिएको उनको भनाई छ। घरमै बसेर पनि खानेकुरा र अन्य क्रियाकलापमा ध्यान दिन सकिन्छ। डा उप्रेतीले दिएको केही सुझावहरु :
– दैनिक रुटिन बनाउने।
– कोरोना सम्बन्धी समाचारहरु धेरै नहेर्ने, नपढ्ने। बिहान र बेलुकी मात्र अपडेट लिनुपर्छ।
– घरभित्रै शारीरिक व्यायाम अथवा विभिन्न योगाहरु गर्ने।
– घरमै उपलब्ध खानेकुराहरु खाने, बाहिरी तयारी खानेकुरा नखाने।
– घरमै बसिरहने हुनाले शरीरलाई धेरै क्यालोरीको आवश्यक पर्दैन। त्यसैले दिनभरी धेरै खानेकुरा नखाने।
– चियामा चिनीको सट्टा सख्खर या मह मिसाएर खाने या कागती र बेसार मिसाएर खाने।
– विभिन्न जानकारीमूलक पुस्तकहरु पढ्ने।
– बालबालिकासँग समय बिताउने, कुरा गर्ने, नयाँ सिपहरु सिकाउने।
मानिस घरभित्रै बसिरहने हुँदा उनीहरुममा मानसिक तनाव पनि बढ्न सक्छ। त्यसैले रचात्मक कामहरु गर्न डा. उप्रेतीको सुझाव छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका र गर्भवतीको स्वास्थ्यमा ध्यान दिनुपर्ने उनले बताइन्।
उनले भनिन्, ‘यो हाम्रो लागि चुनौतीसँगै अवसर पनि हो। हामीले आफ्नो स्वास्थ्यमा पूर्ण रुपमा ध्यान दिन सक्छौ र नयाँ कुराहरु सिक्न सक्छौं।’
कोरोनाको महामारी करीब २ सय देशमा फैलिएको छ। नेपालमा पनि पाँच जनामा संक्रमण देखिएको छ। यो बेला हामीले लकडाउनको पालना गर्नु बाहेक अन्य विकल्प छैन। त्यसैले लकडाउनको यो समयमा पनि आफ्नो स्वास्थ्यप्रति ध्यान दिऔं।