काठमाडौं - कोरोना भाइरसको आशंकामा गएको दुई दिनमा १ सय १५ जनाको मात्र परीक्षण भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा दुई दिनमा कोरोनाको आशंकामा १ सय १५ जनाको मात्र परीक्षण भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म ८ सय २ जनाको नमूना परीक्षण भएको जानकारी दिएको छ। यसअघि कोरोनाको आशंकामा बिहिबार जम्मा ७ सय ५८ जनाको नमूना परीक्षण भएको थियो।
यो हिसाबले गएको २४ घण्टामा ४४ जनाको मात्र नमूना परीक्षण भएको देखिएको छ। यसअघि बुधबारसम्मको तथ्यांक अनुसार कोरोना परीक्षण गरिएको नमूनाको संख्या जम्मा ६ सय ८७ थियो।
दुई दिनको अवधिमा जम्मा १ सय १५ जनाको मात्र परीक्षण भएको छ। यी परीक्षणमा नयाँ संक्रमण भेटिएको छैन।
हालसम्म परीक्षण भएका ८ सय २ मध्ये तीन जनामा मात्र संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये दुई जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। उनीहरु दुवैको अवस्था हाल सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।
संक्रमण देखिएका अर्का एक जना भने उपचारपछि निको भइसकेका छन्।
मन्त्रालयका अनुसार अहिले काठमाडौं उपत्यकाको तीन वटा अस्पतालमा गरी ११ जना शंकास्पद बिरामी आईसोलेसनमा भर्ना भएका छन्। शुक्रराज अस्पतालमा चार, पाटन अस्पतालमा ६ र कान्ति बाल अस्पतालमा १ जना शंकास्पद बिरामी आइसोलेसन वार्डमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
प्रदेश अन्तर्गतको अस्पतालमा पनि कोरोनाका शंकास्पद बिरामी आईसोलेसन वार्डमा भर्ना भएको प्रवक्ता देवकोटाले जानकारी दिए। यद्यपि उनीहरुको तथ्यांक सकंलन भइरहेको मन्त्रालयको भनाइ छ।
प्रयोगशालाको परीक्षणको दायरा बढाउने बताइए पनि दैनिक एक सय जनाको पनि परीक्षण भएको देखिँदैन। कोरोना संक्रमण पुष्टि भएका राष्ट्रमा दैनिक हजारौंको नमूना परीक्षण गरिन्छ। नेपालमा पनि परीक्षणको दायरा बढाउन विज्ञहरुले सुझाव दिइरहेका छन्।
सुरुवाती दिनमा ब्रिटेनले प्रतिदिन १० हजार परीक्षण गर्थे। आगामी केही सातापछि दैनिक २५ हजार परीक्षण गर्ने ब्रिटेनको योजना छ। त्यहाँ विशेषगरी अस्पतालमै कोरोनाको परीक्षण हुन्छ। जर्मनीले एक दिनमा २० हजार मानिसको कोरोना परीक्षण गर्ने क्षमता रहेको बताएको छ।