एटलान्टास्थित सेन्ट जोसेफ अस्पतालमा कार्यरत डाक्टर माइकल उलाई लाग्छ अचेल उनी अस्पतालमा होइन चेरनोबिलमा काम गर्छिन्। (चेरनोबिल ९० को दशकमा घटेको सबैभन्दा ठूलो र दर्दनाक न्युक्लियर दुर्घटना हो)।
उनी पेशाले एनेस्थेसियोलोजिस्ट हुन्, जो चिकित्सकहरु मध्ये पनि कोरोना संक्रमणको सवैभन्दा उच्च जोखिममा हुन्छन्। अहिले उनको काम भनेकै कोरोना संक्रमणका कारण सास फेर्न गाह्रो भएका बिरामीलाई इन्टुबेट गर्नु रहेको छ।
इन्टुबेसन यस्तो प्रक्रिया हो, जसमा चिकित्सकले संक्रमित बिरामीको मुख नजिकै गएर उसको श्वासनलिमा पाइप राखिदिन्छन्। पाइप राख्ने प्रक्रियामा बिरामीले खोक्ने अथवा बाफिएको सास बाहिर फाल्ने हुँदा संक्रमितको मुख नजिकै रहेको चिकित्सक उच्च जोखिममा हुन्छ। त्यति मात्र नभएर त्यस बिरामीको वरपर घन्टौं हावामा भाइरस घुमिरहेको हुन्छ। जसले गर्दा एकैछिनको वा थोरै मात्र पनि असावधानी अपनाएको खण्डमा त्यहाँ कार्यरत जोकोही स्वास्थ्यकर्मीलाई सजिलै संक्रमण फैलन सक्छ।
अघिल्लो दिन मात्र उनले कोरोना संक्रमित दुई बिरामीलाइ इन्टुबेट गरिन्। उनी भन्छिन्, 'जब म त्यस्ता बिरामीलाई इन्टुबेट गरिरहेको हुन्छु नि, मलाई हरेक सेकेन्डको ख्याल रहन्छ। यस्तो लाग्छ कि मेरो पछाडि कसैले टाइमर लगाइदिएको छ। १० सेकेन्ड , २० सेकेन्ड , ३० सेकेन्ड..........।'
हामीले ख्याल नगर्ने त्यस्ता धेरै ठाउँहरु हुन्छन्, जहाँबाट संक्रमण फैलन सक्छ जस्तो कि, नङको चेपबाट वा कपालको एउटा सानो धर्सोबाट।
उनको घरमा श्रीमान् र तीन साना बच्चाहरु छन्, जसको अचेल उनलाई औधी माया लाग्न थालेको छ। त्यसैले त हरेक दिनको ड्युटि सकिनासाथ उनी अस्पतालकै बाथरुम पस्छिन् अनि बडो सतर्कताका साथ नुहाउँछिन्। कपाल बेस्सरी पखाल्छिन् अनि लुगाहरु फेर्छिन्।
उनलाई लाग्छ, 'आफूले चढ्ने कारमा पनि संक्रमण छ।' त्यसैले घर पुगेर फेरि नुहाउँछिन्, कपडा फेर्छिन्। उनले घरमा छुने हरेक चिजहरु (जस्तै ढोकाका ह्यान्डल, फोन आदि)मा डिसइन्फेक्टेन्ट प्रयोग गरेर पुस्छिन्।
दुई साता भयो, उनी आफ्नो श्रीमानसँग नसुतेको। उनका श्रीमान् पेशाले सर्जन हुन्। उनीहरुलाई के लाग्छ भने संक्रमण भइहाले पनि घरमा दुईमध्ये एकजना स्वस्थ रहनुपर्छ। त्यसैले उनी भुइँ तल्लामा सुत्छिन् र उनका श्रीमान माथिल्लोमा।
माइकल उ प्रतिनिधि पात्र मात्रै हुन्। अहिले संयुक्त राज्य अमेरिकामा कार्यरत अधिंकाश डाक्टर र नर्सहरुको हविगत यस्तै छ।
ब्रुकलेनस्थित मेमोनिड्स अस्पतालको इमरजेन्सी विभाग प्रमुख डाक्टर मार्सल ठट्टा गर्दै भन्छन्, 'अचेल त मेरो कुकुर पनि मसँग आउन खोज्दैन।'
त्यस अस्पतालमा कार्यरत अन्य कर्मचारीहरुले त संक्रमण नसरोस भनेर परिवारका बाँकी सदस्यहरुलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानतरण गराइसकेका छन्।
'गोली लागेर कोही बिरामी आउँछ भने के गर्ने भन्ने हामीलाई थाहा छ। ह्दयाघातको बिरामीलाइ के गर्ने भन्ने पनि हामीलाई थाह छ तर यस्तो अवस्थामा आफू र आफ्ना परिवारलाइ संक्रमणबाट कसरी जोगाउने भन्ने कुरा हामीले जान्न सकेको छैनौं,' डा. मार्सल दुखेसो पोख्छन्।
कोलम्बिया विश्वविद्यालयका प्रवक्ताले जनाएअनुसार आउँदो साताभित्र, उनीहरुले आफू मातहतका स्वास्थ्यकर्मीहरुलाई अस्पतालमै बस्ने व्यवस्था मिलाउनेछन् ताकि घर वा अन्यत्र उनीहरुमा संक्रमण नफैलियोस्।
डा. रिचा भारद्वाज, लेनोक्स हिल अस्पतालमा कार्यरत छिन्। उनका श्रीमान् पनि चिकित्सक हुन्। जो भर्खरै मात्र कोरोनाबाट संक्रमित हुन पुगे। उनीहरुको ५ महिनाको दूधेबालक छ।
भाइरसकै कारण उनीहरुको परिवार सम्पूर्ण रुपमा छिन्नभिन्न हुन पुग्यो। उनका श्रीमान् सेल्फ क्वारेन्टाइनमा बस्न आफ्नो भाइको घरमा गएका छन्। बच्चालाई उनीबाट छुट्टाएर अलग्गै राखिएको छ। उनी भने एक्लै बेडरुममा आफ्नो कोरोना टेस्टको नतिजा पर्खदै बसेकी छिन्।
डा भारद्वाजका श्रीमानलाई कोरोना पुष्टि भएसँगै बच्चा र आमालाई छुट्टाइएको हो। उनी स्तनबाट दूध निचोर्छिन् अनि उनका आफन्तले लगेर बच्चालाई सो दूध खुवाइदिन्छन्। उनको बच्चा र आफन्तहरु संक्रमित हुन सक्ने भन्दै उनी एकदमै डराएकी छिन्।
बोस्टनस्थित मासाचुसेट जनरल अस्पतालमा कार्यरत डा सारोन लेभिन मिल्ने भए अहिले आफू जतिखेर पनि स्यानिटाइजरमा डुबेर बस्ने इच्छा रहेको बताउँछन्।
अहिलेसम्म प्राप्त तथ्याङ्कहरुका आधारमा सामान्य मानिसको तुलनामा कोरोना भाइरसको संक्रमण स्वास्थ्यकर्मीहरुमा बढी देखिएको छ। त्यतिमात्र नभएर उनीहरुलाई रोगका खतरनाक लक्षणहरु अझ बढि देखिएको छ।
यस्तोमा अमेरिकामा कार्यरत धेरै डाक्टरहरु आफ्नो वारेसनामा बनाउन थालेका छन्। डाक्टर माइकल उ र उनका पतिले गत हप्ता मात्रै यदि आफ्नो मृत्यु भइहाले बालबच्चाको हेरचाह कसले गरिदिन्छ भनेर एउटा सूची तयार पारे। त्यस सूचीमा सुरुमा तीनजनाको नाम थियो, जसमध्य दुईजना वृद्ध थिए र एकजना डाक्टर, जो आफैं संक्रमणको उच्च जोखिममा थिए। तसर्थ वारेसनामा तयार गर्दैगर्दा उनीहरुले चौथो व्यक्तिको नाम पनि राखे।
लसएन्जलसको एक अस्पतालमा गाइनेकोलोजिस्टका रुपमा कार्यरत डाक्टर जेन भ्यान डिस एकल आमा हुन्। गत हप्ता उनको दिमागमा अचानक आफूलाइ केही भइ पो हाल्ने हो कि भन्ने भय उत्पन्न भयो। त्यसपछि तुरुन्तै उनले आफ्नो बिमाको कागज, क्रेडिट कार्ड, घर, गाडी आदिको भोगचलन कसले गर्छ भनेर परामर्श थालेको बताउँछिन्।
डा मार्सलले एउटा प्रक्षेपण गरेका छन्। अबको केही समयमा यहाँ थुप्रै मानिसहरु मर्नेछन्, जसमा स्वास्थ्यकर्मीहरुको संख्या पनि उलेख्य हुनेछ। तसर्थ उनले भेटेजति आफ्ना सहकर्मीहरुलाई वसीयत बनाएर राख्न पनि घच्घच्याउने गरेका छन्। जुन कुराहरु सदिऔंदेखि डाक्टरहरु अन्तिम अवस्थाका बिरामीहरुलाई बताउँदै आइरहेका थिए अहिले आफैं त्यो अवस्थामा पुगेका छन्।
मास जनरल अस्पतालमा कार्यरत डाक्टर भिकि ज्याकसनले त भर्खरै मात्र आफ्ना पतिलाई यदि आफ्नो मृत्यु भइहाले दोस्रो विवाह गर्ने अनुमति पनि दिएकी छिन्। तर उनको सर्त छ, उनको बच्चाको हुनेवाला आमा उनी जस्तै साहसी हुनुपर्नेछ।
केही दिन भयो, डाक्टर लेभिनले आफ्ना हरेक वृद्ध बिरामीहरुलाई सोध्ने गरेकी छिन्, कोरोना भाइरसको प्रकोपसँगै के तपाईंको जीवनका अन्तिम इच्छाहरु परिवर्तन भएका छन् कि? यस्तैमा एकजना बिरामीले बडो भावुकताका साथ भनिन्, अन्तिम अवस्थामा मलाई इन्टुबेट नगर्नु। मलाई भन्दा भेन्टिलेटरको जरुरत सायद अरु बिरामीलाई हुन सक्छ।
अहिले प्रायःजसो डाक्टरहरुको चासो भनेकै व्यक्तिगत सुरक्षाका सामानहरु अपुग हुने हुन् कि या बिरामीहरुलाइ भेन्टिलेटर नपुग्ने होकि भन्ने नै छ। यसपटकको महामारीले अमेरिकाको स्वास्थ्य प्रणालीलाई नै उदाङ्गो बनाइदिएको छ। आजसम्म कसले सोचेको थियो कि अमेरिका जस्तो शक्ति राष्ट्रका डाक्टरहरु सुरक्षाका सामान देऊ भन्दै सामाजिक सन्जालमा याचना गरिरहेका हुनेछन्। डाक्टर माइकल उ लाई एकजना बिरामीले घरमा तीनवटा एन ९५ मास्क छ भनेर फोन गरिन् र अस्पताल नजिकै ल्याएर छोडिदिइन्।
डाक्टर उ भन्छिन्, 'जीवनभर मैले यहाँको स्वास्थ्य प्रणाली र व्यवस्थालाइ आँखा चिम्लिएर विश्वास गरिरहें तर आज जतिखेर अप्ठ्यारो परेको छ, हामीलाई बचाउने यहाँ कोही पनि छैन।'
डाक्टर ज्याक्सन थप्छिन्, 'अहिले हामी एउटा निस्पट अँध्यारो रातमा समुद्रको किनारमा उभिएका छौँ। हामी कतिखेर छाल आएर हामीलाई प्रहार गर्छ भनेर कुर्दै बसेका छौँ र हामीलाई यो पनि थाह छैन कि आउँदै गरेको छाल कति शक्तिशाली छ भनेर। हामी अहिले हप्ताको १०० घण्टासम्म काम गरिरहेका छौँ। एक पछि अर्को दिन आउँछ तर ती गुर्जदैनन्।'
मैले ५ महिना कि सुत्केरी डाक्टर भारद्वाजलाइ सोधेकी थिएँ , 'के तपाईं अब यो पेशा छोड्ने सोचमा हुनुहुन्छ?'
तर यस्तो अवस्थामा पनि उनी भने अझै दृढ देखिन्थिन् , 'म एक चिकित्सक हुँ, मैले कुनै पनि हालतमा भाग्न मिल्दैन।'
(बरी वेसिसले लेखेको यो सामाग्री मार्च २६ को दू न्युयोर्क टाइममा प्रकाशित भएको हो। विशद दाहालले यसको अनुवाद गरेका हुन्। तस्बिर क्रेडिटः जोहनाथन केस्लो, न्युयोर्क टाइम्स)