काठमाडौं - कोरोना भाइरस संक्रमितको उपचारका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले १५ शय्याको व्यवस्था गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको संक्रमण पुष्टि भएका बिरामीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट पाटन अस्पतालमा स्थानान्तरण गर्ने निर्णय गरेपछि अस्पतालले शय्या छुट्याएको हो। यसअघि पनि शुक्रराज अस्पतालमा शंकास्पद बिरामी भरिएपछि पाटन अस्पतालमा पठाउने गरिएको थियो।
कोरोना पुष्टि भएका बिरामीको उपचारका लागि १५ शय्याको व्यवस्था गरिएको अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार अस्पतालले शंकास्पद बिरामीका लागि ६ वटा आइसोलेसन वार्ड र २० वटा आईसियुको व्यवस्था पनि गरेको छ।
कोरोना संक्रमितको उपचारका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) अस्पतालमा पर्याप्त नभएको उनले जानकारी दिए। हाल पिपिईको व्यवस्थापनका लागि मन्त्रालयसँग मागेको र आफैँ बनाउन जुटेको उनले बताए।
‘अभाव हुन नदिन थप पिपिई ल्याउने तयारी हुँदैछ’ उनले भने, ‘हामी आफैँ पनि बनाउन जुटेका छौँ र केही मन्त्रालसँग पनि माग गरेका छौँ।’
अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि शुक्रराज अस्पतालमा पनि आइसोलेसन र आइसियू विस्तार हुने भएको छ। हाल शुक्रराज अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि पाँच आइसोलेसन वार्ड र तीन शय्याको आइसियु सञ्चालित छ। सरकारले अस्पतालमा २० शय्याको आइसोलेसन वार्ड र १७ वटा आइसियु विस्तार गर्ने तयारी गरेको हो।
कोरोना भाइरस संक्रमणसँग सम्बन्धित रोगको परीक्षण र त्यसको निक्र्यौल गर्ने समयसम्म मात्र शुक्रराज अस्पताललाई माध्यमको रुपमा प्रयोग गर्ने बुधवार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएका थिए।