काठमाडौं – कोरोना भाइरस (कोभिड १९) को जोखिम रोकथाम तथा नियन्त्रणका लागि बागमती प्रदेश सरकारले पूर्व तयारी तीव्र बनाएको छ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलको अध्यक्षतामा बसेको प्रदेश स्तरीय कोरोना नियन्त्रण समितिले पूर्व तयारी तीव्र बनाउने निर्णय गरेको हो।
बैठकले हेटौँडास्थित आपतकालीन केन्द्रमा समितिको सचिवालयको रुपमा विकास गर्ने निर्णय गरेको छ। सचिवालयमा आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको प्रतिनिधि रहनेछन्। उक्त सचिवालयलाई २४ सै घण्टा सञ्चालनमा ल्याइने प्रदेश सरकारले जनाएको छ।
कोरोनासँग सम्बन्धित सूचना संकलन गर्न ढाँचा बनाएर १३ वटै जिल्ला प्रशासन कार्यालयमा शुक्रबार नै पठाउने बैठकले निर्णय गरेको छ। सवारी साधनमा आवात जावत गर्नेहरुको हकमा १३ वटै जिल्लामा सुरक्षा निकायले निगरानी गर्ने, विदेशी नागरिक र विदेशबाट फर्केका नेपाली नागरिकको अभिलेख राख्ने, जिल्ला सदरमुकाममा बिहान बेलुकी माइकिङ गरेर कोरोनाका बारेमा जनचेतना जगाउने निर्णय पनि बैठकले गरेको छ।
कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले सवारी साधन रोकिने ठाउँमा सहायता डेस्क समेत राख्ने भएको छ। विद्यालय तथा विश्वविद्यालयको बिदापछि काठमाडौं उपत्यकाबाट अन्य जिल्लामा जाने व्यक्तिमा हुन सक्ने संक्रमणका लागि समेत प्रदेश सरकारले निगरानी गर्ने निर्णय गरेको छ।
बागमती प्रदेशका १९ अस्पतालमा आइसोलेसन सेन्टर स्थापना
प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि दश जिल्लामा आइसोलेसन सेन्टर स्थापना गरेको छ।
पूर्व तयारी स्वरुप दश जिल्लाका १९ अस्पतालमा प्रदेश सरकारले आइसोलेसन सेन्टर स्थापना गरेको हो। यी सबै अस्पतालमा स्थापना गरिएको आइसोलेसन सेन्टरमा जम्मा १ सय ४१ शय्या छुट्याइएको छ।
बागमती प्रदेश सरकारले स्थापना गरेका आइसोलेसन सेन्टरहरु :
१. मकवानपुर
जिल्ला अस्पताल हेटौंडा – २ शय्या
२. चितवन
भरतपुर अस्पताल भरतपुर – २२ शय्या
पुरानो मेडिकल कलेज भरतपुर – ४ शय्या
चितवन मेडिकल कलेज भरतपुर – ३ शय्या
कोरोना भाइरस आइसोलेशन अस्थाई अस्पताल भरतपुर – ५० शय्या
३. धादिङ
जिल्ला अस्पताल धादिङ – ४ शय्या
४. नुवाकोट
जिल्ला त्रिशुली अस्पताल र जिल्ला रेडक्रसको समन्वयमा रेडक्रस भवन, विदुर नगरपालिका – ५ शय्या
५. रसुवा
जिल्ला अस्पताल धुन्चे रसुवा – ४ शय्या
६. काभ्रे
धुलिखेल अस्पताल – ५ शय्या
शिर मेमोरियल अस्पताल बनेपा – ६ शय्या
७. सिन्धुपाल्चोक
जिल्ला अस्पताल चौतारा – ५ शय्या
प्राथमिक स्वास्थ्य केन्द्र मेलम्ची – ४ शय्या
८. दोलखा
भीमेश्वर नगरपालिका (साविक महिला तथा बालबालिका कार्यालयको भवन) – ८ शय्या
धुलिखेल सामुदायिक हस्पिटल किर्ने (तामाकोशी गाउँपालिका) – ५ शय्या
च्छोरोल्पा हस्पिटल चरिकोट – ५ शय्या
दोलखा सामुदायिक अस्पताल, चरिकोट – २ शय्या
९. रामेछाप
जिल्ला अस्पताल रामेछाप – २ शय्या
तामाकोशी अस्पताल मन्थली – २ शय्या
१०. सिन्धुली
जिल्ला अस्पताल सिन्धुली – ३ शैय्या