काठमाडौं – कोरोना भाइरसको नमूना परीक्षण गर्न सक्षम रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।
आवश्यक परे दैनिक ६ सय नमूना परीक्षण गर्न सक्ने क्षमता आफुहरुसँग भएको प्रयोगशालाकी निर्देशक डा रुना झाले बताइन्। प्रयोगशालाले कोरोना परीक्षणका लागि दुई वटा ल्याब तयारी अवस्थामा राखेको जनाएको छ।
निर्देशक डा झाका अनुसार हाल एउटा ल्याब कोरोना परीक्षणका लागि प्रयोगमा ल्याइएको र एउटा तयारी अवस्थामा रहेको छ। आवश्यक परे तीन वटा ल्याब पनि प्रयोग गर्न सकिने उनले बताइन्।
उनले भनिन्, ‘दुई वटा ल्याब तयारी अवस्थामा छ। एउटा हामीले प्रयोग गरेका छौँ। अर्को तयारी अवस्थामा छ। आवश्यक परे बाँकी तीन वटा पनि प्रयोग गर्न सक्छौं।’
हाल हप्तामा पाँच सय नमूना सहज रुपमा परीक्षण गर्न सकिने उनले बताइन्। एकै दिन एक सय बढी नमूना परीक्षण गर्नुपरे मात्र थप जनशक्ति परिचालन गरिने र अन्य ल्याबको पनि प्रयोग गरिने उनले जानकारी दिइन्।
‘केस बढ्दै गयो भने रातारात हामी थप जनशक्ति परिचालन गर्छौं र अर्को ल्याब पनि प्रयोग गर्छौं’ उनले भनिन्, ‘सबै प्रयोगशाला प्रयोग गर्यौँ भने दैनिक ६ सय नमूना परीक्षण गर्न सक्ने हाम्रो क्षमता छ।’
वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहेको ल्याब मलिक्युल परीक्षण गर्न सक्षम रहेको उनले बताइन्। आवश्यक परे निजी अस्पतालले पनि सहकार्य गर्ने प्रतिवद्धता जनाएको उनले जानकारी दिइन्।
उनले भनिन्, ‘हामीसँग भएको क्षमताले पुगेन भने निजी अस्पतालले पनि सहयोग गर्छौं भनेका छन्। आशा छ, त्यो अवस्था आउने छैन। यदी आएपनि परीक्षण गर्न समस्या छैन।’
प्रयोगशालाले कोरोनाको आशंकामा हालसम्म ४ सय ५० वटा नमूना परीक्षण गरेको छ। परीक्षण गरेका सबैमा कोरोना भाइरसको संक्रमण भेटिएको छैन। अधिकांशमा इन्फ्लुएन्जाको समस्या देखिएको निर्देशक डा झाले जानकारी दिइन्।
प्रयोगशालामा परीक्षण भएका नमूनाको नतिजा सही भएको बताउँदै उनले भनिन्, ‘हामीले परीक्षण गरेका सबै नतिजा सही र गुणस्तरीय छ।’