काठमाडौं- ‘यहाँ मास्क छैन, मास्क सकिएको छ।’
अधिकांश फार्मेसी पसलमा अहिले यस्तै लेखिएका बोर्डहरु टाँसिएको पाइन्छ। फार्मेसी पसलमा सर्जिकल मास्क पाउन मुस्किल पर्छ। पाइहाले पनि साविक मूल्यमा पाइँदैन।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वका विभिन्न राष्ट्रमा फैलिएपछि बजारमा मास्कको अभाव छ। कोरोना भाइरस र अन्य संक्रामक रोगबाट बच्न चिकित्सकले मास्कको प्रयोग गर्न सुझाव दिएका छन्। तर कुन व्यक्तिका लागि मास्कको प्रयोग अनिवार्य हो भन्ने कुरामा अधिकांशको बुझाइ स्पष्ट छैन।
संक्रमित व्यक्ति र बिरामीको हेरचाह गर्ने स्वास्थ्यकर्मीका लागि मात्र मास्क लगाउन अनिवार्य भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संगठनका अनुसार स्वस्थ व्यक्तिले मास्क लगाउनु पर्दैन।
मास्कले खोक्दा, हाछ्युँ गर्दा मुखबाट निस्कने छिटालाई एक व्यक्तिबाट अर्को व्यक्तिमा जानबाट रोक्छ। बजारमा मास्क अभाव भएपछि यसको असर संक्रमित व्यक्ति र अस्पतालमा पनि परेको छ। त्यसो भए मास्कको विकल्प के त?
सर्जिकल मास्कको विकल्पमा टेली कटन कपडाको मास्क लगाउन सकिने औषधि उत्पादकहरु बताउँछन्। टेली कटन कपडालाई पनि मास्क बनाएर प्रयोग गर्न मिल्ने नेपाल औषधि उत्पादक संघका निर्वतमान अध्यक्ष दीपकप्रसाद दाहालले बताए।
उनका अनुसार टेली कटन कपडालाई दुई लेयर सिलाएर मास्क बनाउन सकिन्छ। दुई लेयरबाट बनाइएको मास्कले मुखबाट निस्कने छिटालाई रोक्न सक्छ।
उनले भने, ‘टेली कटनको कपडालाई दुई लेयर बनाएर मुख छोपेर हिँड्यो भने मास्कको विकल्प हुन सक्छ। यसले विभिन्न छिटालाई छोप्न सक्छ।’
यसरी बनाइएको मास्क दिनभरि लगाएर बेलुकी सफा गर्न आवश्यक रहेको उनले बताए। ‘यो मास्क घरमै बनाउन सकिन्छ तर सरसफाइमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘दिनभरि लगाएर बेलुकी सफा गर्नुैपर्छ।’
सर्जिकल मास्कको विकल्पको रुपमा कपडाको मास्कलाई पनि प्रयोग गर्न सकिने शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट संयोजक डा शेरबहादुर पुनले बताए। तर सही तरिकाले मास्कको प्रयोग गर्नुपर्नेमा उनले जोड दिएका छन्।
उनले भने, ‘मास्कले मुखबाट निस्कने छिटालाई रोक्ने हो। त्यसैले मास्कको विकल्पका रुपमा कपडा पनि हुन सक्छ तर सबैभन्दा ध्यान दिनुपर्ने कुरा भनेको सरसफाइ हो।’
सही तरिकाले मास्कको प्रयोग नगरे त्यसबाट संक्रमण फैलने सम्भावना झन् बढेर जाने उनले बताए। उनका अनुसार संक्रमित व्यक्ति र अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी बाहेक स्वस्थ व्यक्तिले मास्क लगाउन अनिवार्य छैन।
संक्रमित व्यक्तिले मात्र मास्कको प्रयोग गर्ने हो भने संक्रमण नफैलने र बजारमा मास्कको पनि अभाव नहुने उनको भनाइ छ।
सही तरिकाले कसरी मास्क प्रयोग गर्ने?
मास्क स्वस्थ व्यक्तिका लागि अनिवार्य छैन। तर संक्रमित व्यक्तिले भने लगाउनैपर्छ। मास्क लगाउनुभन्दा पहिले हात सफा हुनु आवश्यक छ। सफा हातले मास्कको बीचको भागलाई नछोइकन लगाउनु पर्छ।
सर्जिकल मास्क एक पटकभन्दा बढी प्रयोग नगर्न डा पुनको सुझाव छ। कपडाको मास्क प्रयोग गर्दा पनि दैनिक सफा गर्नुपर्छ। प्रयोग गरिएको मास्कको बीचको भागलाई हातले छुनु हुँदैन। यसो गर्दा हातमा भएको किटाणु मास्कमा जान सक्छ भने मास्कमा भएको किटाणु हातबाट सर्न सक्छ।
मास्कको प्रयोग गरेपछि सुरक्षित तरिकाले नष्ट गर्नुपर्ने डा पुनले बताए।