काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको पाँच दिन पुगेको छ। प्रत्यारोपणपछि उनको स्वास्थ्यमा उल्लेख्य सुधार आइरहेको चिकित्सकहरूले जानकारी दिएका छन्।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गत बुधबार प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपण भएको हो।
पहिलोपटक देशको प्रधानमन्त्रीले देशभित्रै उपचार गराएको विषयले सकारात्मक सन्देश दिएको छ। सरकारी अस्पताल र स्वास्थ्यकर्मीलाई विश्वास गरेर मिर्गौला प्रत्यारोपण गराएपछि उनीहरूको हौसला बढेको छ।
हुन त त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणको रिजल्ट सफल नै छ। तर, अति विशिष्ठ व्यक्तिको उपचार हुने भएपछि सबैको चासो हुन्छ। सञ्चारमाध्यमले पच्छाइरहेका हुन्छन्।
प्रधानमन्त्रीको शल्यक्रिया शिक्षण अस्पतालमा हुने भनिएपछि एक खालको तरंग छाएको थियो। जब अस्पतालले तयारीबारे बैठक बोलायो, शल्यक्रिया कक्षमा खटिने नर्स पनि उपस्थित थिए।
उक्त शल्यक्रियामा चिकित्सकसँगै खटिने १२ जना नर्स, स्वास्थ्यकर्मी र सहयोगीको ड्युटी लिस्ट तयार भयो। ड्युटीमा खटिने उनीहरूमा प्रधानमन्त्रीको उपचारमा संलग्न हुन पाउनुको खुसी छँदै थियो कताकता कस्तो होला भन्ने डर पनि थियो। कतिलाई भोलि कस्तो होला भन्ने सोचले निन्द्रासमेत परेन।
त्यसको कारण थियो, नेपालमा कमै उच्च तहका त्यो पनि देशको नेतृत्व गरिरहेका व्यक्तिको शल्यक्रिया भएको थिएन। सबैको लागि नयाँ अनुभव थियो।
उनीहरूले शल्यक्रिया अवधिभर चिकित्सकलाई साथ दिए। मिर्गौला दाता र ग्रहण गर्ने व्यक्तिका लागि दुई चिकित्सकको दुई टोली बनेजस्तै नर्सका पनि दुई टोली बनेको थियो।
प्रधानमन्त्रीले देशभित्रको सेवासुविधामा विश्वास गरे जनतालाई पनि विश्वास बढ्ने उनीहरूलाई लागेको छ। धेरैले यही विषयलाई गौरवका रूपमा लिएका छन्।
स्वास्थ्य खबरडटकम जब उनीहरूको अनुभवबारे कुराकानी गर्न गएको थियो, उनीहरूले देशभित्रै उपचार गराएको भन्दै प्रधानमन्त्रीप्रति कृतज्ञ भएको बताएका थिए।
नर्सको समग्र व्यवस्थापनको जिम्मेवारी सिनियर नर्सिङ सुपरभाइजर कोपिला पालिखे श्रेष्ठले पाएकी थिइन्। उनीसँगै ओटी इन्चार्ज पुनम सिंहले शल्यक्रिया कक्षको निगरानी पाएकी थिइन्।
सिनियर नर्सिङ सुपरभाइजर कोपिला पालिखे श्रेष्ठ भन्छिन्, ‘शल्यक्रिया हाम्रो अस्पतालमा हुने खबरले निकै खुसी लाग्यो। हौसलाका साथ एकखालको नर्भसनेस पनि थियो।’
‘उपचार गराउन अस्पताल आएका सबै बिरामी हाम्रो लागि बराबर नै हो। तर, सावर्जनिक व्यक्ति भएकोले एक खालको बाहिर दबाब महसुस हुने रहेछ। सबैको टिम वर्क भएकाले सबै कुरा राम्रो भयो,’ उनी भन्छिन्। उपचारमा जो खटिए सबैको मनमा केही न केही कुरा खेलिरहेको उनी बताउँछिन्।
त्यसबाहेक प्रधानमन्त्रीको शल्यक्रिया नर्सिङ टिममा नर्सिङ अफिसर रबिना महर्जन, स्टाफ नर्सहरू मञ्जु गुरुङ र विद्या श्रेष्ठ समूहको थियो। दाता समीक्षा संगौलाको नर्सिङ टीममा, स्टाफ नर्सहरू रोजिना दाहाल, संगीता गौतम, सपना श्रेष्ठको टिम थियो। त्यसबाहेक प्रधानमन्त्रीको शल्यक्रिया टिममा पूजा देव र महेश यादवले दाताको शल्यक्रिया टिममा असिस्टेन्ट एनेस्थेसियाको भूमिका निर्वाह गरेका थिए।
त्यसबाहेक सुशीला कार्कीले प्रधानमन्त्री र दीपक बोहोराले दाताको टिममा सहयोगीको भूमिका निभाएका थिए। हामीले सो शल्यक्रियामा जिम्मेवारी निभाएको उनीहरूसँग भिडियो कुराकानी गरेका छौँ:
तस्बिर र भिडियो : निमेष जंग राई