बुधबार मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति अहिले सामान्य र खतरामुक्त छ। बिहीबार प्रधानमन्त्रीलाई नरम र तरल पदार्थ दिन सुरु गरिएको उनको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन्। सोमबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको ओलीको बुधबार दिउँसो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा कस्तो सुधार आइरहेको छ? डिस्चार्ज कहिले हुन्छ? यीलगायतका विषयमा स्वास्थ्य खबरकी कमला गुरुङले प्रधानमन्त्रीका निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहसँग कुराकानी गरेकी छन्:
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा कस्तो सुधार आइरहेको छ?
उहाँको स्वास्थ्यमा सुधार आइरहेको छ। सबै सूचक राम्रो हुँदै गएका छन्। प्रत्यारोपण गरिएको मिर्गौलाले पनि राम्रोसँग काम गर्न थालेको छ। आजदेखि उहाँले बोल्न थालेको र नरम खाना पनि खान थाल्नु भएको छ। उहाँको स्वास्थ्य अवस्था अहिलेसम्म स्थिर र राम्रो छ। हामीले जस्तो सोचेका थियौं, त्यसरी नै सुधार आइरहेको छ। हिजो मैले उहाँलाई आँखा खोल्नुहाेस् भन्दा खोल्नु भएको थियो। आज दुखेको छ भनेर सोधेको थिएँ। उहाँले छैन भन्नुभयो। उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ। तर उहाँलाई आरामको आवश्यकता भएकाले हामीले नै बोल्न दिएका छैनौं।
मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था कस्तो छ?
उहाँ एकदमै स्वस्थ दाता हो। अन्य दाता पनि आउनु भएको थियो तर हामीले सबै परीक्षण गर्दा उहाँ सबैभन्दा राम्रो भएकाले हामीले मिर्गौला दिन स्वीकार गरेका हौं। उहाँको स्वास्थ्य अवस्था अहिले राम्रो छ। उहाँलाई चार दिनपछि डिस्जार्च गर्ने तयारी गरेका थियौं।
प्रधानमन्त्री ओलीको अवस्था खतरामुक्त हो?
अहिले खतरामुक्त हो। तर प्रत्यारोपणमा यसै भन्न सकिँदैन। आगामी दिनमा पनि राम्रो हुनुपर्छ। उहाँको नराम्रो हुने कुनै कारण देख्दिनँ। अहिलेसम्म चाँहि उहाँ खतरामुक्त हो।
मिर्गौला प्रत्यारोपण गर्नुअघि र प्रत्यारोपणपछि केही फरक पाउनुभयो?
मिर्गौला प्रत्यारोपण गर्नुभन्दा अगाडी हामीले हप्तामा एक पटक उहाँको डायलासिस गरिरहेका थियौं। कहिलेकाहीँ १० दिनमा पनि हुन्थ्यो, उहाँको व्यस्तताले गर्दा। हामीले उहाँको प्रत्यारोपण एक महिना पहिले नै गर्थ्यौं होला तर बीचमा एपेन्डिसाइटिस भयो। विस्तारै प्रत्यारोपणको तयारी चाँहि गरिरहेका थियौं। उहाँको यो दोस्रो प्रत्यारोपण हो, त्यसैले हाम्रो लागि धेरै चुनौती पनि हुन्छन्। हामीले सुक्ष्म रूपमा अध्ययन गरेर, परीक्षण गरेर सबै पक्का भएपछि मात्र गर्नुपर्ने हुन्छ। त्यसैले महिनौंदेखि हामीले यसमा काम गरिरहेका थियौं।

प्रधानमन्त्री ओली कति दिनमा डिस्चार्ज हुनुहुन्छ?
अहिले जुन तरिकाले उहाँको स्वास्थ्यमा सुधार आइरहेको छ, सामान्यतया अन्य बिरामीलाई प्रत्यारोपण गरिएको पाँचौं दिनमा डिस्चार्ज गर्ने गरेका छौं। तर प्रधानमन्त्रीलाई डिस्जार्चपछि उहाँले त्यति आराम गर्न पाउनु हुँदैन होला। त्यसैले हामीले एक हप्ता राख्ने विचार गरेका छौं। सबै ठिक भयो, हामीले सोचेजस्तो भयो भने एक हप्तामा उहाँको डिस्चार्ज गर्छौं।
डिस्चार्जपछि प्रधानमन्त्री ओलीले केके कुरामा ध्यान दिनुपर्छ?
अहिलेको अवस्थामा उहाँ संक्रमणबाट जोगिनुपर्छ। सरसफाई पूर्ण रुपमा राम्रो हुनुपर्यो। उहाँको खानपान पनि राम्रो हुनुपर्छ। बाँसी तथा बाहिरको खाना खान हामी सुझाव दिँदैनौं। त्यति धेरै कडा रुपमा त बस्नु पर्दैन। तर उहाँले समयमा सुत्ने, नियमित व्यायाम गर्ने गर्नु गर्नुपर्छ।
प्रधानमन्त्री ओलीले कहिलेदेखि सामान्य भेटघाट गर्न सक्नुहुन्छ?
उहाँ बाहिर निस्किएपछि अरुले टाढाबाट भेटघाट गर्न मिल्छ। तर एकदमै नजिक भएर भेटघाट गर्न केही समय हामीले दिँदैनौं। उहाँको औषधि एक महिनासम्म अलि हाई डोजमा चल्छ। त्यसपछि विस्तारै कम गर्न थाल्छौं। त्यो समयसम्मको लागि धेरै सामीप्यमा आएर कुराकानी गर्न र भेटघाट गर्न रोक लगाउँछौं। उहाँले डिस्चार्ज भएको करिब एक हप्तापछि नियमित मिटिङ सुरु गर्न सक्नुहुन्छ। तर बाहिर जानको लागि चाँहि एक महिना जति लाग्छ।
प्रत्यारोपणका लागि भारतबाट तीन जना चिकित्सक आएका थिए। भारतबाट चिकित्सक ल्याउने उहाँकै चाहना थियो कि? प्रत्यारोपणमा उनीहरूको भूमिका कस्तो रह्यो?
भारतबाट चिकित्सक आउनु प्रधानमन्त्रीको भन्दा पनि मेरो चाहना हो। हुन त हामी आत्मविश्वासी थियौं, हामीले गरिरहकै काम हो। तापनि शतप्रतिशत केही पनि हुँदैन। यसमा कुनै पनि कमी कमजोरी नहोस् भन्ने थियो। मेरो यो क्षेत्रमा काम गरेको १४ वर्ष जति भयो। तर उहाँहरु धेरै अनुभवी चिकित्सकहरू हुनुहुन्छ। मैले प्रधानमन्त्रीको उपचार गरेको ६ वर्ष मात्र भयो। तर त्यसभन्दा अगाडि प्रत्यारोपण गर्दा उहाँको स्वास्थ्य अवस्था कस्तो थियो? कुन औषधि चलाइएको थियो भन्ने कुरा मैले उहाँहरूबाट जान्न पाउँथे। जुन मेरो लागि निकै महत्वपूर्ण थियो। त्यही भएर मैले नै उहाँहरूलाई प्रत्यारोपण गर्न नेपाल आउन अनुरोध गरेकी थिएँ। दोस्रो कुरा, हामीलाई ब्याकअप भयो । हामीलाई झन् राम्रो पनि हुन्छ। हामीले मात्र गरेपनि हुन्थ्यो तर यो एउटा ठूलो जिम्मेवारी हो।
प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई विदेश लैजाने भन्ने कुरा थियो? नेपालमै प्रत्यारोपण गर्ने निष्कर्षमा चाँहि कसरी पुगियो नि?
अमेरिकामा लैजाने कुरा जुन समाचारमा आएको थियो। तर त्यो सत्य थिएन। तर एउटा कार्यक्रमको लागि सहभागी हुन मात्र म अमेरिका गएकी थिएँ। सिंगापुर, भारतमा लैजाने कुरा भएको छैन। तर भारत र चीनमा आएर उपचार गर्न आमन्त्रण आएको हो। तर जाने कुरा भएको थिएन। उहाँका शुभचिन्तकले उपचारका लागि बाहिर लाने कुरा गर्नु भएको होला। यो प्रत्यारोपण भनेको एकपटक सर्जरी गरेर उपचार सकिने होइन। यसलाई निरन्तरता दिनुपर्छ। यस पटक नेपालमै प्रत्यारोपण गर्ने उहाँकै निर्णय र चाहना हो। मैले यही त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण गर्नुपर्छ भनेँ। यहाँको टिम धेरै राम्रो र बलियो छ। ग्रान्डी अस्पतालमा गर्ने कि भन्ने कुरा पनि थियो। तर मैले यहीँ गर्न सुझाव दिएँ। मेरो सुझावमा प्रधानमन्त्री विश्वस्त पनि हुनुभयो। त्यसपछि यहीँ प्रत्यारोपण गर्ने निष्कर्षमा पुगियो।
प्रधानमन्त्री ओलीको अबको उपचार प्रक्रिया के हुन्छ?
उहाँलाई अहिले इम्युनो औषधि दिइएको छ। उहाँको शरीरले प्रत्यारोपण भएको मिर्गौला रिजेक्सन नगरोस् भन्ने नै हाम्रो सबैभन्दा ठूलो चिन्ता हो। प्रत्यारोपण गरिएको मिर्गौला रिजेक्सन नहोस् भन्नकै लागि ती औषधि चलाएका छौं। ती औषधिलाई हामी निरन्तरता दिन्छौं र विस्तारै डोज कम गर्दै जान्छौं। संक्रमणबाट जोगाउने चुनौती पनि छ। यसका लागि हामीले उहाँलाई नजिकबाट निगरानीमा राखेका छौं।