काठमाडौं- सरकारले विभिन्न औषधि र कच्चा पदार्थको निर्यात नरोक्न भारतलाई पत्राचार गर्ने तयारी गरेको छ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिरहेको भन्दै भारतले विभिन्न औषधि र कच्चा पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेको छ। भारतले औषधि र कच्चा पदार्थको निर्यातमा रोक लगाए नेपालमा असर पुग्ने भएकाले निर्यात नरोक्न पत्राचार गरिने औषधि व्यवस्था विभागले जनाएको छ।
विभागमा बुधबार भएको छलफलले औषधि र कच्चा पदार्थ नरोक्न भारतलाई पत्राचार गर्ने निर्णय भएको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताए। उनले भने, ‘भारतले निर्यात रोक्यो भने नेपालमा असर पर्छ। त्यसैले जेमा सकिन्छ, त्यसमा निर्यात नरोक्न हामीले पत्राचार गर्ने निर्णय गरेका छौं।’
विभागले वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत भारतलाई पत्राचार गर्ने तयारी गरेको हो। यद्यपि तत्काल औषधि बजारमा भारतको निर्णयले कुनै असर नगर्ने विभागले जनाएको छ। विभागका अनुसार हाललाई कुनै पनि औषधि र कच्चा पदार्थको अभाव छैन। तर कोरोनाको असर लामो समयसम्म रहे औषधि र कच्चा पदार्थ दुवैमा असर पुग्न सक्ने केसीले बताए।
उनले भने, ‘तत्काललाई कुनै अभाव भएको छैन। तर कोरोनाको असर कति समयसम्म रहन्छ, त्यसमा भर पर्छ।’
भारतले औषधि निर्माणमा प्रयोग हुने २६ थरी सामग्री अनि तिनबाट बन्ने औषधिको निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको छ। जसमा प्यारासिटामोल, भिटामिन, ग्यास्ट्रिकका औषधि पर्छन्।
सरकारले सहज वातावरण बनाउनुपर्छ : उत्पादक व्यवसायी
सरकारले सहज वातावरण बनाइदिए औषधिको अभाव हुन नदिने नेपाल औषधि उत्पादक संघले जनाएको छ। सरकारले आफूहरुसँग समन्वय गरे नेपालमा औषधि र कच्चा पदार्थको अभाव हुन नदिने संघका महासचिव विप्लव अधिकारीले बताए।
सरकारले ६ महिनालाई पुग्ने गरी कच्चा पदार्थ ल्याउनका लागि सहज वातावरण बनाइदिनुपर्ने उनले बताए। नेपालमा उत्पादन हुने औषधिको लागि आवश्यक पर्ने कच्चा पदार्थ ३÷४ महिनालाई पुग्ने गरी भण्डारण गरेर राखिएको उनले जानकारी दिए।
उनले भने, ‘अहिले हामीसँग ३ महिना जतिलाई पुग्ने कच्चा पदार्थ छ। तर सरकारले ६ महिनालाई पुग्ने गरी कच्चा पदार्थ ल्याउनका लागि सहज वातावरण बनाइदिनु पर्छ।’ सरकारले पहल गरे स्वदेशमा उत्पादन हुने औषधिको अभाव हुन नदिने उनले बताए।
नेपालले चीन र भारतबाट आयात गर्ने औषधिको कच्चा पदार्थको मूल्य दोब्बर बढीले वृद्धि भएको छ। चीन र भारतबाट आउने कच्चा पदार्थमा ६० देखि १ सय प्रतिशतसम्म मूल्यवृद्धि भएको संघले जनाएको छ।
आफूहरु औषधिको मूल्यवृद्धि गर्ने पक्षमा नरहेको बताउँदै उनले भने, ‘सरकारले सहज वातावरण बनाइदिने हो भने महँगोमै भए पनि कच्चा पदार्थ पाइने स्थिति छ। तर पछि ढिला भयो भने यही कच्चा पदार्थ पनि पाइँदैन,’ उनले भने। सरकार यस विषयमा संवेदनशील हुन आवश्यक रहेको उनको भनाइ छ।
भारतबाट आउँछ ६० प्रतिशत कच्चा पदार्थ
नेपालले सबैभन्दा धेरै भारत र चीनबाट औषधिको कच्चा पदार्थ आयात गर्दै आएको छ। भारतबाट ६० र चीनबाट २० देखि ३० प्रतिशत कच्चा पदार्थ आयात हुने गरेको संघका महासचिव विप्लव अधिकारीले बताए। नेपाल कच्चा पदार्थका लागि भारतसँग बढी निर्भर रहे पनि भारत सहित अन्य राष्ट्र र चीनसंग ६५ प्रतिशत जति निर्भर छ।
नेपालले वर्षेनी ८ देखि १० अर्ब मूल्य बराबरको कच्चा पदार्थ आयात गर्दै आएको छ। नेपाली बजारमा ४५ अर्ब मूल्य बराबरको औषधि खपत हुन्छ। जसमध्ये २५ अर्बको औषधि बाहिरी मुलुकबाट खरिद गर्नुपर्ने बाध्यता छ।
संघका अनुसार नेपाल ४५ प्रतिशत औषधिमा आत्मनिर्भर छ। सरकारले आफूहरुलाई आधारभूत संरक्षण दिए सस्तो, सर्वसुलभ र गुणस्तरीय औषधि उत्पादन गर्नसक्ने र ८५ प्रतिशतसम्म आत्मनिर्भर हुनसक्ने उनीहरुको भनाइ छ।