काठमाडौं- मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबाबाट तरल खानेकुरा दिन सुरु गरिएको छ।
हाल ठोस पदार्थ दिन नमिल्ने भएकाले तरल खानेकुरा दिन सुरु गरिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले बताए। प्रधानमन्त्री ओलीलाई बिहान कालो चिया खुवाइएको उनले जानकारी दिए।
उनले भने, ‘अहिले ठोस खानेकुरा दिन मिल्दैन। त्यसैले तरल खानेकुरा दिन सुरु गरिएको हो। उहाँले कालो चिया खानु भएको छ।’
प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने उनकी भान्जी समीक्षा संग्रौला ज्ञवालीलाई पनि तरल खानेकुरा खुवाउन सुरु गरिएको हो। मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली र भान्जी समीक्षाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ।
डा खड्गाका अनुसार प्रधानमन्त्री ओली बोल्न सक्ने अवस्थामा छन्। तर उहाँलाई बोल्न दिइएको छैन। उनले भने, ‘प्रधानमन्त्री ओली बोल्न सक्नुहुन्छ। तर बोल्दा दुखाइ बढ्न सक्ने भएकाले बोल्न दिएका छैनौं।’
उनको बुधबार दिउँसो मिर्गौला प्रत्यारोपण गरिएको हो। यही तरिकाले प्रधानमन्त्री ओलीको अवस्थामा सुधार आउँदै गए आगामी सोमबारसम्म डिस्चार्ज गर्न मिल्ने चिकित्सकले बताएका छन्।
मिर्गौला प्रत्यारोपणको शल्यक्रियाका लागि अस्पतालका मिर्गौला प्रत्यारोपण विशेषज्ञ प्राडा प्रेम ज्ञवालीको नेतृत्वमा १६ जना चिकित्सक सहित अन्य नर्स र प्राविधिक खटिएका थिए।