काठमाडौं- मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति स्थिर रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा.प्रेमकृष्ण खड्गाले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेको र प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न सुरु गरिसकेको जानकारी दिएका हुन।
उनले भने, ‘उहाँलाई प्रत्यारोपण उपचार कक्षामा राखी उपचारलाई निरन्तरता दिइनेछ।’
प्रधानमन्त्रीलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी हुन्। उनको स्वास्थ्य स्थिति पनि सामान्य रहेको अस्पतालले जनाएको छ। पोष्ट अपरेटिभ वार्डमा सारिएका प्रधानमन्त्रीको होस आइसकेको प्रत्यारोपण टोलीका प्रमुख डा प्रेम ज्ञवालीले जानकारी दिए।
प्रधानमन्त्रीको प्रत्यारोपण शल्यचिकित्सा टोलीमा डा उत्तमकुमार शर्मा, डा प्रेम ज्ञवाली, डा अनन्तकुमार थिए भने प्रत्यारोपण चिकित्सा टोलीमा डा दिव्यासिंह शाह, महेश सिग्देल, डा मुकुन्द काफ्ले र डा रविन नेपालीलगायतको टोली सहभागी थिए। यस्तै, एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा अनिल श्रेष्ठ र डा सुवास आचार्यलगायतको टोली सहभागी थियो।
त्रिवि शिक्षण अस्पतालले बुधबार साँझ विज्ञप्ति जारी प्रत्यारोपण सफल भएको जानकारी दिएको छ। विज्ञप्तिमा प्रधानमन्त्रीका सबै मुख्य अंगले राम्रोसँग काम गरिरहेको उल्लेख गरिएको छ।