काठमाडौं- त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको काम सुरु भएको छ। प्रधानमन्त्री ओलीलाई १० बजे शल्यकक्षमा लगिएको थियो।
प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिँदैछिन्। प्रधानमन्त्री ओली भन्दा केही समय पहिले समीक्षालाई शल्यकक्षमा लगिएको अस्पतालका कार्यकारी निर्देशक डा प्रेम खड्गाले जानकारी दिए।
प्रधानमन्त्रीलाई ९ बजे नै अप्रेसन थियटरमा लैजाने तयारी भए पनि केही रिपोर्ट आउन बाँकी रहेका कारण ढिला भएको हो। प्रत्यारोपणका लागि करिब ५ घन्टा समय लाग्ने बताइएको छ।
प्रधानमन्त्रीको उपचार टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्राडा उत्तम शर्मा, प्राडा प्रेम ज्ञवाली, डा पवनराज चालिसे, डा सुमन चापागाईं, डा सुजित पौडेल, डा मनीष प्रधान, डा सुवाश आचार्य, डा अनिल श्रेष्ठ, डा दिव्या सिंह शाह, डा महेशराज सिग्देल, डा मकुन्द काफ्ले, डा रविन नेपाली लगायत हुने छने। यसका साथै भारतीय डा अनन्त कुमारसमेत हुनेछन् ।
नर्सिङ तर्फ पुनम सिन्हाको नेतृत्वमा पाँचजनाको टोली छ।
यसैगरी, कलेजोमा समस्या देखिए डा रमेशसिंह भण्डारी, फोक्सोमा समस्या देखिए डा सन्तकुमार दास र मुटुमा समस्या देखिए डा अरुण सायमी पनि तयारी अवस्थामा छन्।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने भएपछि अस्पतालमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, भूमिसुधार मन्त्री पदमा अर्याल, नेकपा महासचिव विष्णु पौडेल, मुख्यसचिव लोकदर्शन रेग्मी लगायतको उपस्थिति रहेको छ।
अस्पताल परिसरमा अनेरास्ववियुका विद्यार्थीहरुको पनि बाक्लो उपस्थिति रहेको छ।
प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो। यसअघि उनको १२ वर्षपहिले भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।