काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार बिहान ९ बजे मिर्गौला प्रत्यारोपण हुने भएको छ। मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको बुधबार बिहान ९ बजे प्रत्यारोपणको शल्यक्रिया हुने भएको हो।
मंगलबार उनको प्रि ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण सकिएकाले बुधबार बिहानबाट प्रत्यारोपण शल्यक्रिया सुरु हुने प्रत्यारोपणको नेतृत्व गरिरहेका अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्रा.डा प्रेम ज्ञवालीले बताए।
उनले भने, उहाँको प्रि ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षणको काम सकिएको छ। बुधबार बिहान ९ बजे उहाँको मिर्गौला प्रत्यारोपण हुन्छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिएका छन्।
प्रत्यारोपणको शल्यक्रिया ३ देखि ४ घण्टामा सकिने अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले बताए। सामान्यतया मिर्गौला प्रत्यारोपणपछि बिरामीलाई ५/६ दिनमा घर फर्काउन मिल्ने उनको भनाइ छ।
प्रधानमन्त्री ओलीलाई अस्पतालको एनेक्स वार्डमा रहेको भिभिआइपी क्याबिनको ६०१ नम्बरमा राखिएको छ। अस्पतालमा भिभिआइपीका लागि ६०१ र ६०२ गरी दुई वटा क्याबिन बनाइएको छ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि चिकित्सक, नर्स र स्वास्थ्यकर्मी गरी एक दर्जनभन्दा बढी खटिने भएका छन्। अस्पतालका कार्यकारी निर्देशक खड्गाका अनुसार ६ जना सर्जन, २ दुई एनेसथेसिस्ट, ८ जना नर्स तथा पारामेडिक्स उपचारमा खटिने छन्।
प्रधानमन्त्री ओलीलाई उनको भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौलादान गर्दै छिन्।