काठमाडौं- चीनबाट फर्काइएका नेपालीलाई क्वारेन्टाइनमा राखिएको शनिवार १४ दिन भएको छ। तर उनीहरु अहिले नै घर फर्कन पाउने छैनन्।
उनीहरुको कोरोना भाइरस (कोभिड १९) को पुनः परीक्षण गरिनेछ। उक्त परीक्षणको नतिजाले मात्र उनीहरु घर फर्कन पाउने÷नपाउने टुंगो लाग्नेछ।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता सागर दाहालल कोरोना परीक्षणमा संक्रमण नभएको पुष्टि भएपछि मात्र क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु घर फर्कन पाउने बताए।
उनका अनुसार कोरोना परीक्षणको नतिजा आउन बढीमा तीन दिन लाग्नेछ। उनले भने, ‘क्वारेन्टाइनमा राखिएका सबैको नमूना संकलन शनिवार हुन्छ। ढिलोमा तीन दिनमा रिपोर्ट आउँछ। त्यसपछि मात्र उहाँहरु घर फर्कन पाउनुहुन्छ।’
यसअघि सरकारले क्वारेन्टाइनमा राखिएको १४आंै दिनपछि घर फर्कन पाउने बताएको थियो। चीनबाट फर्काइएका १ सय ७५ जना सबैलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएको छ।
कोरोना परीक्षणका लागि नमूना संकलन गर्न शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबसहितको टोली क्वारेन्टाइन स्थलमा जाँदैछ। संकलन गरिएको नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा परीक्षण गरिने मन्त्रालयले जनाएको छ।
यसअघि गरिएको परीक्षणमा सबैमा संक्रमण नरहेको पुष्टि भएको थियो। उनीहरु सबैको फागुन ४ गते नमूना संकलन गरिएको थियो भने फागुन ७ गते रिपोर्ट सार्वजनिक गरिएको थियो।
क्वारेन्टाइनको अवधिभर उनीहरुको नियमित स्वास्थ्य परीक्षण गरिएको छ। मन्त्रालयले हालसम्म सबै जना स्वास्थ्य रहेको जनाएको छ। आइसोलेसनका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र नेपाल एपीएफ अस्पताललाई तयारी अवस्था राखेको छ।
कोरोनाको आशंकामा हालसम्म २ सय २४ जनाको नमूना परीक्षण भएको छ। जसमध्ये १ जनामा मात्र संक्रमण पुष्टि भएको छ। कोरोना भाइरस ( कोभिड १९ ) को उद्गमस्थल चीनको वुहानबाट फागुन ४ गते १ सय ७५ जना नेपालीलाई स्वदेश फर्काइएको थियो।