घटना १- सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले गत मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्यो। कारण थियो- कोरोना भाइरस (कोभिड १९) को डर।
कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरु देखिएको भन्दै गाउँपालिकाले मन्त्रालयलाई पत्राचार गरेको थियो। तर २४ घन्टा नबित्दै स्वास्थ्य मन्त्रालयले जुगल गाउँपालिकाको भनाइलाई खण्डन गर्दै भन्यो- जुगल गाउँपालिकामा देखिएको कोरोना भाइरस होइन, मौसमी फ्लु हो।
त्यसपछि जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोक र प्रदेश कार्यालयबाट धमाधम स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा खटाइयो। अहिले सिन्धुपाल्चोकमा देखिएको समस्या कोरोना भाइरस नभएको मन्त्रालयले पुष्टि गरेको छ।
घटना २- ज्वरोको उपचार गराउन अस्पताल पुगेका एक बिरामीलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना भाइरसको आंशका ग¥यो।
कोरोनाको आंशकापछि ती बिरामीलाई माघ १७ गते प्रतिष्ठानले टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा रेफर गरेको थियो। तर परीक्षणपछि ती बिरामीमा कोरोना नभई मौसमी फ्लु भएको अस्पतालले पुष्टि गरेको थियो।
०००
चीनको युहान प्रान्तमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि त्यसको त्रास नेपालमा पनि फैलिएको छ। कोरोनाको डर यतिसम्म छ, अहिले सामान्य रुघाखोकी र ज्वरो आउने बित्तिकै मानिसहरु अस्पताल पुगिहाल्छन्।
नेपालमा हालसम्म कोरोनाको आशंकामा ३४ जना बिरामीले उपचार लिएको मन्त्रालयका सहप्रवक्ता सागर दाहालले जानकारी दिए। जसमध्ये एक जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ३३ जनामध्ये अधिकांशमा मौसमी फ्लुको समस्या देखिएको थियो।
शुक्रराज अस्पतालमा मात्र हालसम्म १६ जनाले कोरोनाको आशंकामा उपचार गराएको अस्पतालका प्रमुख कन्सल्ट्यान्ट ट्रोपिकल मेडिसिन डा अनुप बाँस्तोलाले बताए। १६ मध्ये ताइवानी, जापानी, यमनी गरी तीन जना, दुई जना चिनियाँ नागरिक र ११ जना नेपाली थिए। जसमध्ये केहीमा कुनै पनि संक्रमण थिएन भने केहीमा मौसमी फ्लु देखिएको उनले बताए।
कोरोना भाइरसँग मौसमी फ्लुको लक्षण मिल्ने भएकाले बिरामीहरु डराउने गरेको उनले बताए। ‘कोरोनासँग यसको लक्षण मिल्दोजुल्दो छ। रुघाखोकी मात्र लाग्दा पनि डराएर अस्पताल आउने धेरै बिरामी छन्।’ उनले भने।
पछिल्लो समय मौसमी फ्लुको समस्या हुम्ला र सिन्धुपाल्चोकमा भयावह रुपमै देखियो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार मौसमी फ्लुका कारण पुसमा हुम्लाको खार्पुनाथ गाउँपालिकामा ५ जनाको मृत्यु भएको थियो। मृत्यु हुने सबै व्यक्ति ६० वर्ष पार गरेका र दमका रोगी थिए।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पनि मौसमी फ्लुका कारण साढे ३ सय बढी मानिस बिरामी भए। गत माघ २३ गतेदेखि गुम्बा गाउँमा मौसमी फ्लुको समस्या बढ्दै गएको थियो।
महाशाखाका अनुसार सन् २०२० को जनवरीदेखि हालसम्म १ हजार ३ सय ४२ जना मौसमी फ्लुका कारण बिरामी भएका छन्। जसमध्ये आधाजसो बिरामी फेबु्रअरीमा देखिएका छन्। फेबु्रअरीमा मात्र ५ सय ४५ जनामा मौसमी फ्लु देखिएको महाशाखाका प्रमुख डा विवेककुमार लाल कर्णले जानकारी दिए। महाशाखाले १ सय १८ वटा अस्पतालबाट साप्ताहिक रुपमा यससम्बन्धी विवरण लिने गर्छ।
यता शुक्रराज अस्पतालमा पनि मौसमी फ्लुका बिरामीको संख्या बढ्दो छ। दैनिक करिब ४०–५० जना बिरामी परामर्श र उपचारका लागि आउने गरेको शुक्रराज अस्पतालका रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुनले बताए।
विश्वमा वर्षेनी ३ देखि ५ करोड मानिसमा मौसमी फ्लुको समस्या देखिने विश्व स्वास्थ्य संगठन डब्लुएचओले उल्लेख गरेको छ। जसमध्ये २ लाख ९० हजार देखि ६ हजार ५० हजारसम्म मानिस श्वासप्रश्वासको संक्रमणका कारण मृत्यु हुन्छ।
के हो मौसमी फ्लु?
सिजनल इन्फ्लुएन्जा जसलाई मौसमी फ्लु भनेर चिनिन्छ। नेपालीलाई वर्षेनी सताउने रोगमध्ये मौसमी फ्लु पनि एक हो। यो इन्फ्लुएन्जा भाइरसको कारणले लाग्छ। मौसमी फ्लु चार प्रकारका हुन्छन्। इन्फ्लुएन्जा ए, बी, सी र डी। यीमध्ये इन्फ्लुएन्जा ए र बी ले मानिसलाई धेरै असर गर्ने डा पुनले बताए।
मौसमी फ्लुको समस्या विशेषगरी वर्षको दुई पटक देखा पर्छ। फेबु्रअरीदेखि मार्च र अगस्ट महिनामा यो समस्या बढेर जाने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। बुझ्ने गरी भन्दा मौसमी फ्लुका बिरामी गर्मी सकिएर चिसो लाग्ने बेला र चिसो सकिएर गर्मी भित्रिने बेलामा सबैभन्दा बढी देखा पर्छ।
सरकार मौसमी फ्लु र मौसमी रुघाखोकी एकै हो भन्छ। तर डा पुन भने मौसमी रुघाखोकी भन्दा मौसमी फ्लु अलि कडा हुने र बिरामीलाई बढी दुःख दिने बताउँछन्। उनले भने, ‘मौसमी रुघाखोकी र फ्लु समान जस्तै हो तर मौसमी फ्लु अलि कडा हुन्छ। यसले बिरामीलाई बढी दुःख दिन्छ र सिकिस्त पनि बनाउँछ।’ सरकारले कोरोनासँगै मौसमी फ्लुको समस्यालाई पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
लक्षण
मौसमी फ्लु सरुवा रोग हो। यो एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सजिलैसँग सर्छ। खोक्दा र हाछ्युँ गर्दा मौसमी फ्लु एक व्यक्तिबाट अर्कोमा व्यक्तिमा सर्ने गर्छ।
– ज्वरो आउनु
– दुई हप्ता वा सो भन्दा बढी खोकी लाग्नु (प्रायः सुख्खा खोकी)
– टाउको दुख्नु
– नशा तथा जोर्नी दुख्नु आदि।
लक्षण देखिएकामध्ये अधिकांश व्यक्ति केही हप्तामै उपचार बिना निको हुन्छन्। तर उच्च जोखिममा रहेका समूहमा भने समस्या जटिल हुने र मृत्युसम्म हुने गरेको डब्लुएचओले उल्लेख गरेको छ।
गर्भवती, पाँच वर्ष मुनिका बालबालिका, वृद्धवृद्धा, दीर्घ रोगी, एचआइभी संक्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति र स्वास्थ्यकर्मीलाई डब्लुएचओले उच्च जोखिमको समूहमा राखेको छ। हुम्लामा मृत्यु भएका व्यक्तिहरु पनि सबै ६० वर्ष कटेका र दमका रोगी थिए।
रोकथाम तथा बच्ने उपाय
श्वासप्रश्वासको माध्यमबाट सजिलैसँग मौसमी फ्लु सर्ने भएकाले संक्रमित व्यक्तिबाट टाढा रहनुपर्छ। यसको संक्रमणबाट बच्न भीडभाडमा नजाने, खोक्दा या हाछ्युँ गर्दा मुख छोप्ने, मास्क प्रयोग गर्ने, समयसमयमा साबुन पानीले हात धुनुपर्ने डा पुन बताउँछन्। सकेसम्म हात नमिलाउन र नाक, आँखा, मुखमा हात नलैजान उनको सुझाव छ।
डब्लुएचओका अनुसार सामान्यता मौसमी फ्लु हुँदा घरमा आराम गरी तातो झोलिलो पदार्थ खानु पर्छ।
घरमा आराम गर्दा निको नभए लक्षणको आधारमा उपचार हुने डा पुनले बताए। तर उच्च जोखिममा पर्ने व्यक्तिले भने लक्षण देखिने बित्तिकै अस्पताल जान आवश्यक छ। डा पुनले भने, ‘कोही व्यक्ति यदि उच्च जोखिममा पर्छन् भने उसले लक्षण देखिनासाथ अस्पताल जानुपर्छ। घरमा आराम गरेर हुँदैन। उनीहरुलाई तत्काल उपचारको आवश्यकता पर्न सक्छ।’
मौसमी फ्लुले निम्त्याउने जटिलता
उच्च जोखिमको समूहमा पर्ने व्यक्तिका लागि मौसमी फ्लु घातक पनि हुन सक्छ। मौसमी फ्लुले स्वस्थ व्यक्तिलाई धेरै असर नगरे पनि उच्च जोखिमको समूहमा पर्ने व्यक्तिका लागि घातक हुने डा बाँस्तोलाले बताए। उनले भने, ‘मौसमी फ्लुबाट पनि डराउन आवश्यक छ। तर सबै होइन। यसको जोखिममा पर्ने समूहले सर्तकता अपनाउनै पर्छ।’
समयमै उपचार गरिएन भने मौसमी फ्लुले निमोनिया गराई बिरामीको मृत्यु पनि हुन सक्छ। शरीरका विभिन्न अंगहरु फेल हुने र अन्य संक्रमण हुने खतरा बढेर जाने चिकित्सक बताउँछन्।
खोपको महत्व
खोप मौसमी फ्लुबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो। मौसमी फ्लुबाट बच्न खोप सुरक्षित र प्रभावकारी भएको डब्लुएचओले पनि उल्लेख गरेको छ। विशेषगरी ६० वर्ष उमेर माथि र उच्च जोखिममा पर्ने समूहले खोप लगाउनुपर्नेमा डब्लुएचओले जोड दिएको छ।
फ्लुबाट बच्न विश्वका अधिकांश राष्ट्रले खोपको प्रयोग गरे पनि नेपालमा भने धेरै प्रयोगमा छैन। डा पुनका अनुसार खोपले फ्लुबाट हुन सक्ने जटिलतालाई धेरै हदसम्म रोकथाम गर्छ।
सरकारले नियमित खोप कार्यक्रम अन्तर्गत फ्लुको खोपलाई पनि समावेश गर्नुपर्ने महाशाखाका प्रमुख डा लालले जोड दिए। तर यो धेरै खर्चिलो हुने उनले बताए। उनले भने, ‘फ्लुको समस्या नेपालमा धेरै छ। सरकारले यो खोपलाई नियमित खोप कार्यक्रम अन्तर्गत राख्न आवश्यक छ। तर यो धेरै खर्चिलो प्रक्रिया भएकाले चुनौतीपूर्ण पनि छ।’
मौसमी फ्लुको खोप अस्पतालहरुमा खरिद गर्न सकिन्छ। यो एक पटक नभई वर्षेनी लगाउनुपर्ने चिकित्सक बताउँछन्।