काठमाडौं – कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानमा रहेका नेपालीलाई सरकारले शनिबार स्वदेश ल्याउँदैछ। यसका लागि आवश्यक तयारी पुरा भएको सरकारले जनाएको छ।
उनीहरुको उद्धारका लागि नेपालबाट १७ जनाको टोली चीन जाँदैछ। टोलीमा ४ जना स्वास्थ्यकर्मी, ३ पाइलट, ७ जना क्रु मेम्बर, १ इन्जिनियर, १ प्राविधिक र १ डिस्पास्चर रहनेछन्।
नेपाल एयरलाइन्सको वाइडबडी विमान मार्फत १ सय ८५ जना नेपालीलाई उद्धार गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सरकारले चीनबाट ल्याइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने तयर गरेको छ। तर त्यहाँका स्थानीयले भने विरोध गरिरहेका छन्।
चीनबाट ल्याइने सबै नेपाली स्वस्थ भएकाले विरोध नगर्न मन्त्रालयले अपिल गरेको छ। उनीहरुलाई क्वारेन्टाइन (निगरानी) स्थल सम्म सुरक्षित तरिकाले पु¥याइने मन्त्रालयका सह प्रवक्ता सागर दाहालले जानकारी दिए।
कसरी ल्याइँदैछ नेपालीहरुलाई?
मन्त्रालयका अनुसार चीनबाट ल्याइने १ सय ८५ जना सबै स्वस्थ व्यक्ति हुन्। नेपाल ल्याउनु अघि चीनको विमानस्थलमा सबैको स्वास्थ्य परीक्षण हुन्छ। परीक्षणका क्रममा कुनै स्वास्थ्य समस्या नरहेको अवस्थामा मात्र चीनले नेपाल पठाउन अनुमति दिने दाहालले बताए।
उनले भने, ‘अस्वस्थ व्यक्ति छ भने चीनले नेपाल पठाउन अनुमति दिँदैन। तर नेपाल आउन लागेका सबै व्यक्ति स्वस्थ छन्।’
उनीहरुलाई लिन जाने १७ जनाको टोली सबैलाई कोरोना भाइरसको जोखिमबाट बच्नका लागि अपनाउनुपर्ने उपाय बारे सरकारले तालिम दिएको छ। जहाजमा जाने सबै टोलीको सुरक्षाको व्यवस्था पनि मिलाइएको उनले जानकारी दिए।
उनले भने, ‘चीन जाने सबै टोलीलाई अपनाउनुपर्ने उपाय बारे तालिम दिसकेका छौँ। साथै उहाँहरुको सुरक्षाको व्यवस्था पनि मिलाएका छौँ।’
चीनबाट आइसकेपछि सबै नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः स्वास्थ्य परीक्षण गरिन्छ। ल्याउने क्रममा या विमानस्थलमा गरिएको परीक्षणमा कोरोनाको मिल्दोजुल्दो लक्षण देखापरे अस्पताल पठाउने व्यवस्था मिलाइएको छ।
‘परीक्षणका क्रममा कसैलाई ज्वरो आएमा या खोकी लागेमा उनीहरुलाई अस्पताल पठाउँछौ। नभए सबैलाई सिधै क्वारेन्टाइन स्थलमा लग्छौं’, सह प्रवक्ता दाहालले भने।
उनका अनुसार अन्य सबैलाई विमानस्थलबाट सिधै क्वारेन्टाइलस्थल खरिपाटीमा लगिने छ। यसका लागि पाँच वटा बस र पाँच वटा एम्बुलेन्स परिचालन हुनेछ।
सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिन्छ र दैनिक स्वास्थ्य परीक्षण हुन्छ। परीक्षणका क्रममा कुनै स्वास्थ्य समस्या देखा परे तत्काल आइसोलेसन वार्डका लागि अस्पताल पठाइने दाहालले बताए। उक्त
अवधिभर अभिभावकले कसैलाई पनि भेट्न नपाउने मन्त्रालयले जनाएको छ। क्वारेन्टाइनका लागि २५ जना स्वास्थ्यकर्मीलाई खटाइएको छ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार वुहानबाट नेपाल आउने नागरिकका लागि ध्यानदिनुपर्ने ५३ बुँदे विषय समेत सार्वजनिक गरेको छ।