काठमाडौं– शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरस (कोभिड १९) का तीन जना शंकास्पद बिरामी भर्ना भएका छन्।
चीनबाट फर्किएका दुई नेपाली र एक चिनियाँ नागरिकलाई कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोनासँग लक्षण मिल्दोजुल्दो भएकाले अस्पताल भर्ना गरिएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।
उनीहरुको नमुना परीक्षणका लागि पठाइएको र बिहीबारसम्म रिपोर्ट आउने अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले बताए। हालसम्म २० बिरामी अस्पताल भर्ना भएकोमा एक जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
एक हप्ता अगाडि चीनबाट फर्किएका एक अरेबियन नागरिक भने अस्पतालबाटै भागेका छन्। अस्पतालले भर्ना गर्न भने पनि उनी भागेको श्रेष्ठले जानकारी दिए। उनलाई खोज्ने क्रम जारी रहेको र अन्य अस्पतालहरुलाई जानकारी गराउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
‘सिन्धुपाल्चोकमा कोरोना देखिएको छैन’
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोना भाइरसको संक्रमण नदेखिएको उनले बताए। गुम्बा गाउँमा देखिएको समस्या कोरोना नभई मौसमी रुघाखोकी भएको उनले जानकारी दिए। उनले भने, ‘सिन्धुपाल्चोकमा देखिएका बिरामीमा कोरोना होइन, मौसमी रुघाखोकी हो। गलत सन्देशले भ्रम मात्र फैलियो।’
नमुना परीक्षणका लागि थप टोली पठाउने तयारी भएको उनले जानकारी दिए। त्यहाँ हालसम्म मौसमी रुघाखोकीका कारण दुई सय जना बिरामी भएको मन्त्रालयले जनाएको छ।
जुगल गाउँपालिकाले जारी गरेको विज्ञप्तिलाई मन्त्रालयले खन्डन गर्दै भन्यो, ‘मुलुकभर कोरोना भाइरसको त्रास बढिरहेको बेला गाउँपालिका संवेदनशील हुनुपर्ने हो। गाउँपालिकाले गलत सन्देश प्रवाह ग¥यो। हामी यसलाई खन्डन गर्छौं। कोरोनासँग यसको कुनै सम्बन्ध छैन।’
यही माघ २३ गतेदेखि गुम्बा गाउँमा मौसमी रुघाखोकीको समस्या देखिए पनि २÷३ दिनदेखि बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। हालसम्म देखिएका बिरामी भर्ना गरी उपचार गर्न र रिफर गर्नुपर्ने अवस्था नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रबाट पिताम्बर खनाल सहित दुई जना स्वास्थ्यकर्मी, जुगल गाउँपालिकाबाट स्वास्थ्य शाखा प्रमुख अनिल साउद सहित तीन जना, चौतारा अस्पतालबाट २ चिकित्सक गरी चार जना स्वास्थ्यकर्मी खटिएका छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट एक जना प्राविधिक उक्त स्थानमा खटाइएको महाशाखाले जनाएको छ।
जुगल गाउँपालिकाले कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिएको भन्दै स्वास्थ्य मन्त्रालयलाई पत्रचार गरेको थियो।
फागुन ३ गतेसम्म नेपालीलाई उद्धार गर्छौं : मन्त्रालय
फागुन तीन गतेसम्म चीनको हुबेइ प्रान्तमा रहेका नेपालीलाई उद्धार गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयको तर्फबाट सबै तयारी अन्तिम चरणमा पुगेकाले फागुन ३ गते भन्दा ढिला नहुने प्रवक्ता श्रेष्ठले बताए।
उनले भने, ‘फागुन तीनभन्दा अघि हुन सक्छ तर ढिलो हुँदैन। हामीले लगभग सबै तयारी पूरा गरिसकेका छौ।’ तर नेपाली लिन कति टोली चीन जाँदैछन् भन्नेबारे तय भइसकेको छैन।
चीनबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्नका लागि मन्त्रालयले ८६ जना स्वास्थ्यकर्मीलाई तालिम समेत दिएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्डलाई कार्यान्वयन गरेको उनले बताए।
सरकारले चीनबाट ल्याइने नेपालीलाई राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र तय गरेको छ। तर त्यहाँका स्थानीयले भने विरोध गरिरहेका छन्। चीनबाट ल्याइने सबै नेपाली स्वस्थ भएकाले विरोध नगर्न मन्त्रालयले अपिल गरेको छ।