काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरको इमरजेन्सीमा गत बुधवार अचम्म खालको बिरामी भर्ना भए। उनको ढाड भाँचिएको थियो। कम्मर मुनिका भाग नचल्ने (प्यारालाइसिस) भएका थिए।
उनको कतै लडेर तथा कुनै दुर्घटनामा परेर मेरुदण्ड भाँचिएको होइन।
उनको मेरुदण्ड भाँचिनुको कारण थियो, मसाज। खुट्टा दुखाईका बिरामी उनी मसाज गर्दा निको हुन्छ भन्ने आशमा मसाज सेन्टर पुगेका थिए।
तर, त्यही मसाज सेन्टरमा मसाज गर्ने व्यक्तिको लापरबाहीका कारण उनको मेरुदण्ड भाँचियो। मेरुदण्ड भित्रको नसा च्यापियो। जसका कारण उनको दुबै खुट्टामा प्यारालाइसिस भयो।
उनी हुन्, सर्लाहीका करीब ४० वर्षीय विष्णु साह।
साहलाई १५ वर्ष पहिलेदेखि नै खुट्ट दुख्ने समस्या थियो।
उक्त समस्या विस्तारै बढ्न थाल्यो। पछि दुखाईको समस्या ढाडमा पनि हुन थाल्यो।
सुरुसुरुमा दुखाई धेरै थिएन। त्यसैले उनले त्यति वास्ता पनि गरेनन्। तर दुखाई विस्तारै बढ्न थालेपछि भने उनले उपचारको प्रक्रिया अगाडि बढाएको आफन्त बताउँछन्।
उपचार सुरु गरेपनि दुखाईको समस्या भने निको भएको थिएन।
एक दिन उनको छिमेकीले मसाज गर्दा निको हुने सल्लाह दिए। पटक–पटकको उपचारपछि निराश भएका उनीलाई पनि मसाजले निको भैहाल्छ की भन्ने लाग्यो।
त्यसपछि उनी सर्लाहीकै एक मसाज सेन्टरमा पुगे।
समस्या बारे मसाज सेन्टरमा जानकारी दिए।
त्यसपछि उनको मसाज सुरु भयो।
तर, मसाजका क्रममा उल्टै उनको मेरुदण्ड भाँचियो।
उनका आफन्तले भने, ‘गाउँकै एक जनाले मसाज गर्दा ठिक हुन्छ भनेर गएका थियौं। त्यहाँ तीन÷चार जना उहाँको ढाड माथि उभेर मसाज गर्न थाले। अनि ढाडको हड्डी भाँचियो।’
मेरुदण्ड भाँचिएपछि उपचारका लागि सर्लाहीकै एक अस्पतालमा पुगे। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा रेफर गरियो।
उनको मेरुदण्ड भाँचिएको र नशा च्यापिएकाले दुवै खुट्टा प्यारालाइसेस भएको चिकित्सकले बताएका छन्।
बुधबारबाट उनको आवश्यक जाँच र उपचार प्रक्रिया सुरु भएको थियो। तर, उपचारका लागि आर्थिक अभाव भएका कारण उनी सर्लाही नै फर्किएका छन्।
‘उहाँको कम्मर मुनिको कुनै पनि भाग चल्दैन। पहिले नै उपचार गर्दा पैसा सकियो अहिले उपचार गर्न पैसा नभएपछि हामीले घरमै राखेका छौं’ उनका एकआफन्तले टेलिफोन सम्पर्कमा भने।
साहको ढाडको बाथ भएपनि समयमै उपचार नगराएका कारण दुखाई बढ्दै गएको राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख कन्सल्टटेन्ट अर्थोपेडिक सर्जन डा रुद्र मरासिनीले बताए। उनका अनुसार ढाडको दुखाई हुँदा जबरजस्ती मसाज गर्ने, ढाड माथि खुट्टाले टेक्ने, उफ्रने गर्नु हुँदैन। जबरजस्ती मसाज गर्ने अनि खुट्टाले टेक्ने गर्दा मेरुदण्ड भाँचिएर प्यारालाइसेस हुने जस्ता समस्या निम्त्याउने उनले जानकारी दिए।
उनले भने, ‘यस्तो खालको बिरामीले औषधि खाने, व्यायाम गर्नेे र सक्रिय रहनुपर्छ। सामान्य खालको मालिस गर्दा पनि केही हुँदैन तर खुट्टाले टेक्ने, उफ्रने गर्यो भने मेरुदण्ड भाचिन्छ अनि नशा च्यापिने जस्ता समस्या हुन्छ।’
उनका अनुसार मसाज दुखाई कम गर्ने पद्धति हो। मसाजले दुखाई केही हदसम्म कम गरेपनि रोगलाई नियन्त्रण भने गर्न सक्दैन। ‘मसाज गर्नै नहुने होइन। केही समयको लागि दुखाई कम गर्न सहयोग गर्छ तर रोगलाई केही पनि फरक पार्दैन।’ उनले भने।
मेरुदण्डको समस्या धेरै प्रकारको हुने उनले जानकारी दिए। नशा च्यापिएर, मेरुदण्डको बाथ, मांसपेशीमा समस्या जस्ता कारणले ढाडमा दुखाई हुन्छ। तर अधिकांशमा देखिने समस्या भनेको मांसपेशीको दुखाई हो।
यो समस्या बढ्दो क्रममा रहेको उनले बताए। एकै ठाउँमा धेरै समय सम्म बसिरहने, बसाईको गलत तरिका, अगाडी बढी झुकेर बस्ने, धेरै निहुरिएर मोबाइल चलाउने जस्ता क्रियाकलापले मेरुदण्डको मांसपेशी कमजोर हुन्छ। मांसपेशी कमजोर भएपछि दुखाई हुने उनले बताए। उनले भने, ‘अधिकांशमा यो समस्या छ। केहीलाई मेरुदण्डको बाथ र नशा च्यापिएको हुन सक्छ।’
ट्रमा सेन्टरमा मेरुदण्ड दुखाई सम्बन्धी समस्या लिएर दैनिक एक सय जति बिरामी आउने उनले बताए। जसमध्ये अधिकांशमा मांसपेशीको दुखाई प्रमुख कारण हुन्छ।
नियमित व्यायाम, सही तरिकाले बस्ने, क्याल्सियम र भिटामिन डी खाने गरे मांसपेशीको दुखाई निको हुने उनले बताए। तर नशा च्यापिएको, ढाडको बाथ, संक्रमण, ट्युमर जस्ता कारण हो भने समयमै उपचार गर्नुपर्छ। ढाडको दुखाई हुँदा जबरजस्ती मालिस गर्ने, तन्काउने जस्ता काम नगर्न उनको सुझाव छ।