धनगढी- कैलालीको गेटामा रहेको गेटा आँखा अस्पतालले सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक अन्धोपनको सर्वेक्षण गर्ने तयारी गरेको छ।
प्रदेशमा आँखाका बिरामीको अवस्था, आँखा रोग संक्रमणको कारण लगायतका पक्षबारे जानकारी प्राप्त गर्न र आँखा अस्पतालको आगामी कार्यक्रम, नीति तथा गुरुयोजना निर्माणमा मद्दत पु¥याउने उद्देश्यले तेस्रो पटक अन्धोपनको सर्वेक्षण गरिने अस्पतालले जनाएको छ।
आँखा अस्पतालले अन्धोपन सर्वेक्षणका लागि नेत्र विशेषज्ञको नेतृत्वमा तीन वटा टोली गठन गरेको जनाएको छ। अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले प्रदेशका नौ वटै जिल्लाका एक सय ३२ स्थानमा अन्धोपनको सर्वेक्षण गरिने जानकारी दिए। बाह्य कार्यक्रम व्यवस्थापक भट्टले भने– अहिलेसम्म तीन स्थानमा सर्वेक्षण भइसकेको छ। अन्य स्थानको दुई महिनाभित्रै सर्वेक्षण सकेर रिपोर्ट तयार गरिने छ।
उनले ५० वर्ष उमेरमाथिका जनसंख्यालाई समेटेर सर्वेक्षण गरिने बताए। उनले नेपालमा कुल अन्धोपनमध्ये ८२ प्रतिशत ५० वर्षमाथि उमेर समुहका व्यक्ति रहने गरेका कारण तेस्रो पटकको अन्धोपन सर्वेक्षणमा सोही समुहलाई लक्षित गरिएको बताए।
उनले भने– सर्वेक्षणका लागि छनोट भएका प्रत्येक स्थानमा ३५ जनाको आँखा परीक्षण, मधुमेह तथा दृष्टिदोषको कारण लगायतबारे सर्वेक्षण गरिने छ। यस पटकको अन्धोपनको सर्वेक्षणमा चार हजार छ सय २० जनालाई समावेश गरिने लक्ष्य रहेको छ।
त्यस्तै, आँखा अस्पतालले विद्यालयमा आधारित विद्यार्थीहरूको दृष्टीदोष बारे पनि सर्वेक्षण गरेको जनाएको छ। अस्पतालले धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका १८ वटा विद्यालयमा पाँच देखि १० कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई समावेश गरेर दृष्टीदोषबारे सर्वेक्षण गरिएको जनाएको छ। बाह्य कार्यक्रम व्यवस्थापक भट्टले भने– विद्यालयमा सर्वेक्षण कार्य पुरा भइसकेको छ। अहिले प्रतिवेदन निर्माण कार्य भइरहेको छ।
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक सन १९८१ मा अन्धोपनको सर्वेक्षण गरिएको थियो। त्यस क्रममा प्रदेशको सेती अञ्चलमा एक दशमलव दुई प्रतिशत र महाकाली अञ्चलमा सून्य दशमलव आठ प्रतिशत जनसंख्यामा अन्धोपना देखापरेको थियो।
बाह्य कार्यक्रम व्यवस्थापक भट्टका अनुसार ३८ वर्ष अघि गरिएको पहिलो सर्वेक्षणमा अन्धोपनको मुख्य कारण मोतिविन्दु रहेको थियो भने दोस्रो कारण ट्रकोमा रहेको थियो। उनका अनुसार सन् १९८१ मा गरिएको सर्वेक्षणले कुल अन्धोपन मध्ये ७२ प्रतिशत मोतिबिन्दूका कारण रहेको पाइएको थियो।
सुदूरपश्चिम प्रदेशमा अन्धोपनको तथ्यांकलाई आधारमा मानेर सुधार ल्याउन कैलालीको गोदावरी नगरपालिकामा गेटा आँखा अस्पतालको स्थापना गरिएको थियो।
समुदायमा आधारित आँखाको उपचारात्मक, प्रतिरोधात्मक तथा प्रवद्र्धनात्मक सेवा प्रदान गरि गेटा आँखा अस्पतालले सन् २००८ मा गरिएको सर्वेक्षणमा अन्धोपनमा सुधार भएकोे जनाएको थियो।
सन् २००८ मा गरिएको सर्वेक्षणमा सुदूरपश्चिम प्रदेशमा अन्धोपनको अवस्थामा सुधार आएर सून्य दशमलव ४१ प्रतिशतमा झरेको तथ्यांक रहेको उनले बताए।
सुदूरपश्चिम प्रदेशमा दोस्रो पटक अर्थात् सन् २००८ मा गरिएको अन्धोपनको सर्वेक्षणमा प्रदेशमा अन्धोपनको प्रमुख कारण जलविन्दु रहेको पाइएको थियो। १२ वर्ष अघि गरिएको दोस्रो सर्वेक्षण प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशमा ६२ प्रतिशत अन्धोपनको मुख्य कारण जलविन्दु रहेको उल्लेख थियो। सन् १९८१ को सर्वेक्षणमा अन्धोपनको दोस्रो कारणका रुपमा रहेको ट्रकोमा दोस्रो पटकको सर्वेक्षणसम्म आइपुग्दा निकै कममा झरेको पाइएको थियो।
हाल नेपालमा एक लाख बढी मानिस दृष्टीबिहीन रहेको र प्रत्येक वर्ष २५ हजार नयाँ दृष्टीबिहीन थपिने गरेको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक भट्टले जानकारी दिए। उनका अनुसार नेपालमा छ लाख मानिसहरूको दृष्टी क्षमता कमजोर रहेको छ। दृष्टि क्षमता कमजोर रहेकामध्ये महिलाको संख्या ५५ प्रतिशत रहेको छ।
नेपालमा सन् २०११ मा गरिएको सर्वेक्षणमा कुल जनसंख्याको सून्य दशमलब ३५ प्रतिशतमा अन्धोपन देखिएको जनाइएको छ।
विश्वमै अन्धोपनको मुख्य कारण अहिले दृष्टिदोष रहेको छ। संसारमा कुल २५ करोड ३० लाख मानिसहरू अन्धोपन तथा न्यूनदृष्टीबाट पीडित रहेका छन्। तथ्यांक अनुसार तीन करोड ६० लाख मानिसहरू दृष्टीबिहीन छन्। प्रत्येक पाँच सेकेन्डमा एक जना व्यक्ति दृष्टिबिहीन हुने गरेको छ।
विश्वमा ८२ करोड ६० लाख मानिसको नजिकको दृष्टि कमजोर रहेको तथ्यांकले देखाएको छ। त्यस्तै, अन्धोपन तथा न्यून दृष्टिबाट पीडित ९० प्रतिशत मानिसहरू विकासोन्मुख देशमा बसोबास गरिरहेका छन्।