काठमाडौं- ‘बरु टुँडिखेलमा पाल लगाएर बस्न तयार छौं। घर खाली गर्छौं। तर चीनबाट जसरी पनि उनीहरुलाई उद्धार गर्नुपर्यो।’
‘जसरी पनि छिटोभन्दा छिटो हाम्रो छोरा छोरीलाई उद्धार गर्नुपर्यो। हामी जे पनि गर्न तयार छौ।’
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतको कार्यकक्षमा चीनमा रहेका नेपाली विद्यार्थीका अभिभावकले बिहिबार दिउसो उठाएका आवाज हुन् यी।
सरकारले चीनबाट उद्धार गरेर ल्याउन ढिलाइ गरेपछि अभिभावकहरु स्वास्थ्य मन्त्रालयमा पुगेका थिए। राज्यमन्त्री रावतको कार्यकक्ष भित्र र बाहिर अभिभावकको निकै भिड थियो।
त्यो भीडमा रहेका अभिभावकको अनुहारमा फरक भाव देखिन्थ्यो। कसैको अनुहार मलिन देखिन्थ्यो त कसैको अनुहारमा सरकार प्रतिको आक्रोश झल्किन्थ्यो। यी सबको कारण थियो – चीनमा रहेका नेपालीलाई फिर्ता गर्न सरकारले गरेको ढिलाई।
तीनै भीडमध्येकी एक थिइन्, ललितपुर मंगलबजारकी हस्न ताम्राकार। चीनको युहानमा रहकी आफ्नो छोरीलाई छिटो भन्दा छिटो उद्धारको माग गर्दै उनी पनि मन्त्रालयमा पुगेकी हुन्। भन्छिन्, ‘मेरो छोरी कोठामा थुनिएर बसेको यतिका दिन भइसक्यो। खानाको ठेगान छैन। एक्लै छ। सधै फोन गरेर आमा म नेपाल फर्कन्छु भन्छ। मैले के जवाफ दिने ?’
सरकारले चीनमा रहेका नेपाली नागरिकलाई फिर्ता गर्ने खबर बाहिर आएपछि आफु निकै खुशी भएको उनले बताइन्। तर कहिले ल्याउने टुंगो नभएपछि उनको चिन्ता झन् बढ्दै गयो। उनले भनिन्, ‘सरकारको निर्णयपछि अब छोरी घर फर्कने भइन् भनेर खुशी भएको थिएँ। छोरीले पनि सबै फर्म भरिन्, तर खै अहिलेसम्म केही पहल नै छैन।’
सरकारले चीनबाट उद्धार गरेर ल्याइएका नेपालीलाई राख्नका लागि विभिन्न स्थानको खोजी गरेको छ। तर त्यहाँका स्थानीयले भने यसको विरोध गरेका छन्। यसले पनि उनीहरुको मन दुखेको छ। भन्छन्, ‘उनीहरु रोगी छैनन्। स्वस्थ नै हुन्।
सरकारले १४ दिनसम्म निगरानीमा राख्ने भनेको छ। हामी यसको लागि तयार छौं। डराउनुपर्दैन। तर किन यसरी विरोध भइरहेको छ।’
मंगलबजारकी ताम्राकार जस्तै काठमाडौं गौशालाका गोपालबहादुर श्रेष्ठको भान्जा पनि चीनको युहानमा थुनिएका छन्। सरकारले उनीहरुलाई ल्याउन गरेको ढिलाई प्रति उनको आक्रोश थियो। ‘सरकारले अहिलेसम्म किन ढिलाई गरेको हो। कोठामा थुनिएको छ। खाना पानीको व्यवस्था छैन। फोहोर पानी खानु परेको छ। समस्या जटिल भएपछि मात्र सरकारले केही गर्ने हो र?’
उनको जस्तो प्रश्न र आक्रोश मन्त्रालयका भेला भएका सबै अभिभावकको थियो। आफ्ना सन्तानको छिटो भन्दा छिटो उद्धारको माग राख्दै उनीहरुले राज्यमन्त्री रावतलाई ज्ञापन पत्र समेत बुझाएका छन्। आगामी दिनमा केही दुर्घटना घटे सरकारले जिम्मेवारी लिनुपर्ने उनीहरुको भनाई छ।
अभिभावकहरुको कयौं प्रश्न र गुनासो राज्यमन्त्री रावतको अगाडी तेस्रिरहे। तर उनी केही बोल्न सकेनन् या चाहेनन्। उनी निशब्द थिए।
राज्यमन्त्री रावतको कार्यकक्षमा भीड बढ्दै गएपछि मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ हतार हतारमा आए। कोरोना भाइरसको संक्रमण नेपालमा पुष्टि भएपछि मन्त्रालयले सूचना दिनका लागि एकद्धार प्रणाली लागू गरेको छ। त्यसैले पनि हुन सक्छ, ज्ञापनपत्र राज्यमन्त्रीले लिए पनि सबै जवाफ प्रवक्ता श्रेष्ठले मात्र दिए। राज्यमन्त्री रावत कुरा सुनेर मौन बसिरहे।
अभिभावकलाई प्रवक्ता श्रेष्ठले चीनमा रहेका नेपालीलाई उनीहरुको अभिभावकले भनेजस्तो समस्या नभएको बताए। उनले भने, ‘खाना भएन पानी फोहोर भयो भन्ने जस्तो त्यस्तो समस्या छैन। त्यहाँ रहेको दुतावासले यसको व्यवस्था गरेको छ।’
उनीहरुलाई स्वदेश फिर्ता गर्न पहल भइरहेको उनले जानकारी दिए।
स्वास्थ्य मन्त्रालय एक्लैले फिर्ता ल्याउन नसक्ने भन्दै उनले भने, ‘यो हामीले मात्र चाहेर हुने होइन। अन्य मन्त्रालयको समन्वयले यो अघि बढ्ने हो। त्यसैले यो विषयमा पहल भइरहेको छ।’