काठमाडौं – सरकारले चार वर्षपछि अत्यावश्यकीय औषधिको सूची परिमार्जन गर्दैछ। समयको विकाससंगै नयाँ रोग र औषधिको विकास भइरहेकाले अत्यावश्यकीय औषधिको सूची परिमार्जन गर्न लागेको औषधि व्यवस्था विभागले जनाएको छ।
हाल अत्यावश्यकीय औषधिको सूचीमा ३ सय ५९ वटा औषधिहरु छन्। सूची परिमार्जन गर्ने विषयमा छलफल भइरहेको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए। उनले भने, ‘वैज्ञानिक विकासको चरणमा नयाँ औषधिको विकास भइरहेको छ। नयाँ रोगहरु पनि देखिएका छन्। सरकारले आफ्नो सेवाको दायरा बढाएको पनि छ। त्यसैले हामीले यसको सूची परिमार्जन गर्दैछौं।’
आगामी तीन महिना भित्र यसको टुंगो लाग्ने उनले बताए। ‘आगामी दुई÷तीन महिना भित्रमा औषधि सूची घटाउने या बढाउने विषयमा निर्णय हुन्छ। तर सूची बढ्ने सम्भावना धेरै छ’ उनले भने।
सन् २०१६ मा पाँचौ पटक परिमार्जन गर्दै सरकारले अत्यावश्यकीय औषधिको सूची ३ सय ५९ पु¥याएको थियो। सरकारले अत्यावश्यकीय औषधिको सूचीलाई परिमार्जन गर्न लागेको यो छैटौं पटक हो। यसअघि सन् २०११ मा अत्यावश्यकीय औषधिको सूची ३ सय १० थियो। विभागका अनुसार सरकारले सन् १९८६ देखि अत्यावश्यकीय औषधिको सूची बनाउन सुरु गरेको हो।
सरकारले नेपालीलाई सबैभन्दा धेरै लाग्ने रोगको आधारमा अत्यावश्यकीय औषधिको सूची तयार गर्छ। जुन अन्तर्राष्ट्रिय मापदण्ड स्वीकार्यता भएको हुनुपर्ने निर्देशक ढकालले बताए।
सरकारले उपलब्ध गराउने विभिन्न निःशुल्क औषधि पनि यसै अन्तर्गत पर्ने विभागले जनाएको छ।