काठमाडौं – क्यान्सर रोगको प्रभावकारी उपचार पद्धति मध्येको एक हो – रेडियसन थेरापी अर्थात् विकिरण पद्धति। तर, नेपालमा यसको उपकरण पर्याप्त मात्रामा छैन।
सरकारको तथ्यांक अनुसार मुलुकमा हाल आठ वटा मात्र रेडियसन थेरापीका उपकरण छन्। जबकी विश्व स्वास्थ्य संगठनका अनुसार निम्न तथा मध्य आयस्तर भएका राष्ट्रमा १० लाख जनसंख्या बराबर एउटा उपकरण हुनुपर्छ। तर करीब तीन करोड जनसंख्या रहेको नेपालमा ९ वटा उपकरणले मात्र धान्नुपर्ने अवस्था छ।
भक्तपुर क्यान्सर अस्पताल, बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल, बि एण्ड सि अस्पताल, काठमाण्डु क्यान्सर अस्पताल र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा रेडियस थेरापीका उपकरण रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
वीर अस्पताल रेडियसन थेरापीको उपकरण थप्ने तयारीमा छ।
क्यान्सर पहिलो चरणमा छ भने रेडियसन पद्धतिले मात्र पनि निको हुने वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागाईले बताइन्। उनका अनुसार कुनै पनि क्यान्सर रोगीको उपचारको क्रममा ७० प्रतिशतलाई रेडियसन थेरापीको आवश्यक पर्छ।
स्तन, पाठेघर मुखको क्यान्सर, खाने नली, मुख तथा घाँटीको क्यान्सर पहिलो चरणमा छ भने रेडियसन पद्धतिबाट निको पार्न सकिन्छ। उनले भनिन, ‘यदी उपचार योग्य क्यान्सर छ भने रेडियसन पद्धतिले मात्र पनि निको पार्न सकिन्छ। तर बिरामीको अवस्था अनि क्यान्सर कुन स्टेजमा छ भन्ने कुराले पनि फरक पर्छ।’
आवश्यक मात्रामा उपकरण नहुँदा बिरामीहरु लामो समयसम्म पर्खनुपर्ने र महँगोमा उपचार गर्नुपर्ने बाध्यता रहेको डा चापागाईले बताइन्। क्यान्सर रोगको जोखिम वर्षेनी बढ्दै गएकाले उपचार पद्धतिमा पनि ध्यान दिनुपर्ने उनको भनाई छ। उनले भनिन्, ‘क्यान्सरको बिरामी वर्षेनी बढ्दै गइरहेको छ। त्यसैले सरकारले यस तर्फ पनि ध्यान दिनुपर्छ र उपकरण थप्नुपर्छ।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाले रेडियसन थेरापीका उपकरण थप गर्न पहल गरिरहेको जनाएको छ। सबै मेडिकल कलेजमा यो सेवा उपलब्ध नभए नवीकरण नगर्ने जस्ता नीति सरकारले ल्याउन आवश्यक रहेको शाखाका प्रमुख डा फणिन्द्रप्रसाद बरालले बताए। उनले भने, ‘यो अत्यन्तै आवश्यक पद्धति हो। किनभने नेपालमा क्यान्सर रोगको जोखिम वर्षेनी बढ्दो छ तर आवश्यक मात्रा यसको उपकरण छैन। त्यसैले थप गर्न हामीले पहल गरिहेका छौं।’
३० देखि ५० प्रतिशत क्यान्सर रोकथाम गर्न सकिन्छ
क्यान्सर रोग विशेषज्ञ चापागाईंका अनुसार नेपालमा वर्षेनी २६ हजार १ सय ८४ नयाँ क्यान्सर रोगी भेटिन्छन्। जसमध्ये १९ हजार ४ सय १३ जनाको मृत्यु हुन्छ। क्यान्सर हुने यकिन कारण हालसम्म पत्ता लाग्न सकेको छैन। तर वंशाणुगत, जीवनशैली, वातावरण लगायत यसको मुख्य कारक बन्ने गरेको उनले जानकारी दिइन्।
समयमै निदान गरी उपचार गर्न सके क्यान्सर रोग निको हुने डा चापागाईले बताइन्। उनले भनिन्, ‘३० देखि ५० प्रतिशत क्यान्सर रोकथाम गर्न सकिन्छ। तर व्यक्तिले आफ्नो जीवनशैली र खानपिनमा ध्यान दिनुपर्छ। रोग लाग्नुभन्दा पहिले यसको निदान गर्न आवश्यक छ।’
अन्तिम अवस्थामा मात्र अस्पताल पुग्छन्
क्यान्सरका अधिकांश बिरामी अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गरेको चिकित्सक बताउँछन्। नेपालमा वर्षेनी २ हजार ३ सय ३२ महिलालाई पाठेघर मुखको क्यान्सर हुने परिवार कल्याण महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक कृष्णबहादुर चन्दले बताए। जसमध्ये १ हजार ३ सय ६७ जनाको मृत्यु हुन्छ। ८० दशमलव ९ प्रतिशत पाठेघर मुखको क्यान्सर अन्तिम अवस्थामा मात्र निदान हुने चन्दले जानकारी दिए। डा चापागाईले भनिन्, ‘अधिकांश बिरामी अन्तिम अवस्थामा मात्र अस्पताल आउँछन् त्यसैले नेपालमा मृत्युदर बढी भएको हो।’
नेपालीलाई सबैभन्दा बढी लाग्ने क्यान्सर
फोक्सो क्यान्सर – २३ प्रतिशत
पाठेघर मुखको क्यान्सर – १७ प्रतिशत
स्तन क्यान्सर – १५ प्रतिशत
पेटको क्यान्सर – १० प्रतिशत
घाँटीको क्यान्सर – ७ प्रतिशत
अण्डाशयको क्यान्सर – ७ प्रतिशत
मूल थैलीको क्यान्सर – ७ प्रतिशत
पित्ताशयको क्यान्सर – ५ प्रतिशत
कलेजो क्यान्सर – ५ प्रतिशत
मलाशयको क्यान्सर – ४ प्रशित
नेपालमा कुल मृत्युको ६६ प्रतिशत नसर्ने रोगका कारण हुने सरकारको तथ्यांक छ। जसमध्ये २० प्रतिशत क्यान्सर जिम्मेवार छ। जीवनशैली र खानपिनमा सुधार गरे केही हदसम्म क्यान्सरबाट बच्न सकिने भएपनि हामी यसतर्फ त्यति सचेत हुन सकेका छैनौं।