काठमाडौं – चीनको हुबेई प्रान्तको युहानमा रहेका नेपाली नागरिकलाई राख्ने सुरक्षित स्थानको निक्र्यौल हुन नसक्दा उद्धारको प्रक्रियामा ढिलाई भएको छ। सरकारले नेपाली नागरिकलाई स्वदेश फर्काउने तयारी गरेपनि हालसम्म पनि उनीहरुलाई राख्ने सुरक्षित स्थानको निक्र्यौल हुन सकेको छैन।
यद्यपि सरकारले नेपाली नागरिकको यथाशिघ्र उद्धारका लागि आवश्यक गृहकार्य गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शनिवार बसेको बैठकले चीनमा रहेका नेपाली नागरिकको उद्धार तथा सुरक्षित व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। तर पनि चीनबाट उद्धार गरेर ल्याएपछि उनीहरुलाई कहाँ राख्ने ? भन्ने विषयमा छलफल चलिरहेको छ।
मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार उनीहरुलाई चीनबाट उद्धार गरेर ल्याएपछि राख्ने सुरक्षित स्थान छैन। उनले भने, ‘चीनबाट ल्याएपछि उनीहरुलाई राख्नका लागि ठाउँ छैन। अध्ययन भइरहेको छ।’ तर हालसम्म भक्तपुरको विद्युत तालिम केन्द्र, स्टाफ कलेज जावलाखेल, भक्तपुरको बोडेस्थितकृषि विकास बैंकको हल, किर्तीपुर आयुर्वेदिक अस्पताल संभावित सुरक्षित स्थानको सूचीमा छन्।
जोखिम र चुनौती दुवै रहेको भन्दै प्रवक्ता श्रेष्ठले भने, ‘हामीले पहिलो पटक सर्वसाधारणलाई निगरानीका लागि छुट्टै स्थानमा राख्न लागेका छौ। यसअघि हामीले नेपाली सेना र प्रहरीलाई मात्र राखेका थियौ। त्यसैले जोखिम र चुनौती दुवै छ।’ उनीहरुलाई स्वदेश फिर्ता गर्ने निर्णय भएपनि कहिलेसम्म उद्धार गरिने भन्ने तय पनि भइसकेको छैन। तर जतिसक्दो छिटो उद्धार गरिने मन्त्रालयको भनाई छ।
चीनस्थित नेपाली राजदुतावासले शनिवार सूचना प्रकाशित गर्दै हुबेइ प्रान्तमा रहेका नेपाली नागरिकलाई फिर्ता ल्याउने निर्णय गरेको थियो। आइतवार बिहान ९ बजेसम्म १ सय ७० जना नेपालीले स्वदेश फर्कन आवेदन दिएका छन्।
चीनबाट फर्कने नेपालीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा संक्रमित भए तोकिएका अस्पतालको आइसोलेसन वार्डमा राखी उपचार हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए। अन्य नेपालीलाई भने दुई हप्तासम्म निगरानीका साथ छुट्टै स्थानमा राखिनेछ। यसअघि चीनबाट प्रस्थान गर्ने विमानस्थलमा सबै नेपालीको स्वास्थ्य परीक्षण गरिने मन्त्रालयले जनाएको छ।
चीनबाट प्रस्थान गर्ने विमानस्थलसम्म पुर्याउन चीनस्थित नेपाली राजदुतावासले व्यवस्था गर्ने उनले जानकारी दिए। चीनमा रहेका नेपालीलाई सुरक्षित साथ स्वदेश फर्काइने उनको भनाई छ।
मुलुकमा हालसम्म ६ जना शंकास्पद बिरामी भेटिएको मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईका प्रमुख सागर दाहालले जानकारी दिए। जसमध्ये १ जनामा संक्रमण पुष्टि भइसकेको छ भने एकको रिपोर्ट आउन बाँकी छ। अन्य चार जनामा भने संक्रमण नदेखिएको उनले बताए।